
प्युठान । प्युठानमा ५० बेडको आइसोलेसन केन्द्र स्थापना गरिएको छ ।
कोरोना भाइरसका संकास्पद बिरामीको परीक्षण तथा उपचारका लागि प्युठान नगरपालिका-४ बिजुवार स्थित निर्माणाधीन जेष्ठ नागरिक भवनमा ५० शैयाको आइसोलेसन केन्द्र स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो । ‘कोरोना संक्रमणको जोखिम कम गर्न आइसोलेशन कक्ष स्थापना गरिएको हो ।’ उहाले भन्नुभयो।



एम्बुलेन्स, शव वहान र स्वास्थ्यकर्मीसहितको जनशक्तिको समेत व्यवस्थापन भएपछि आइसोलेसन केन्द्र सञ्चालमा ल्याइएको भुसालले बताउनुभयो । आवश्यकता अनुसार शैय्या थप्न सकिने उहाको भनाई छ ।आइसोलेसन केन्द्रको सुरक्षा गर्ने जिम्मा भने नेपाली सेनालाई दिइएको छ। बिरामीको खाना खर्च र उपचार खर्च प्रदेश सरकारले ब्यबस्थापन गरेको र अन्य व्यवस्थापन खर्चमा जिल्लाका ९ वटै स्थानीय तहले सघाउनुपर्ने प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतीले बताउनुभयो ।
यसअघि प्युठान नगरपालिका-४ टारीस्थित सिएमए तालिम केन्द्रमा आइसोलेसन केन्द्र सञ्चालन गर्ने योजना अगाडि बढेपनि पूरा हुन सकेको थिएन ।
यो समाचार तयार गर्दा सम्म जिल्लामा ४ सय ४५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यसमध्ये सक्रिय संक्रमित ५९ जना छन् । १ जना कोरोना संक्रमितको मृत्यु भएको र ३ सय ८८ संक्रमित निको भएर घर गएको स्वास्थ्य कार्यालय प्युठानका फोकल पर्शन पुस्कल श्रेष्ठले बताउनुभयो ।