चितवनको क्यान्सर अस्पतालमा पनि सुरु भयो पीसीआर परीक्षण

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र २२, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं। चितवनको बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालले कोरोना परीक्षणका लागि प्रयोगशाला सञ्चालनमा ल्याएको छ ।

अस्पतालले सोमबारबाट प्रयोगशाला सञ्चालनमा ल्याएको अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले जानकारी दिए ।
अस्पतालका कार्यकारी निर्देशक डा. गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले सञ्चालनको अनुमति दिएसँगै प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।

आइतबार र सोमबार संकलन गरिएका १३३ वटा नमुनाको परीक्षण थालिएको र रातिसम्म नतिजा आउने डा. गौत्तमले बताए ।

नेगेटिभ १० वटा नमूनाको भेरिफिकेशन परीक्षण गरिसकिएको छ भने, १० वटा पोजेटिभको टेष्ट गर्न बाँकी छ । भरतपुर कोभिड प्रयोगशालामा भेरिफिकेशन टेष्ट गरिने डा. गौत्तमले जानकारी दिए ।

अस्पतालले बी.पी. जयन्तीको अवसरमा भदौ २४ गते प्रयोगशालाको विधिवत उद्घाटन गर्ने जनाएको छ ।

अस्पतालले बिरामी र उनीहरुका कुरुवालाई पहिलो र स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई दोस्रो प्राथमिकतामा राखेर परीक्षण गर्ने जनाएको छ ।

बिरामी र उनीहरुका आफन्त तथा अन्य बाहिरी व्यक्तिहरुले परीक्षण गराएको शुल्क ३५०० तोकिएको छ ।

प्रयोगशालामा एक दिनमा ४०० नमुनाकोसम्म परीक्षण गर्न सकिने डा. गौत्तमले जानकारी दिए । अस्पतालका ६ जना प्राविधिक दैनिकरुपमा यसमा खट्ने छन् ।

अस्पतालमा देशभर र भारतबाटसमेत बिरामी उपचारका लागि आउने गर्दछन् । अस्पतालले पीसीआर परीक्षण गरेर मात्रै बिरामीको उपचार गर्ने नीति लिएको छ ।

अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मी संक्रमित हुन थालेपछि प्रयोगशाला सञ्चालन अनिवार्य जस्तो हुन पुगेको कार्यकारी निर्देशक डा. गौतमको भनाइ छ ।

कोरोनाबाट हालसम्म अस्पतालका ४६ जना चिकित्सक, नर्ससहितका कर्मचारी संक्रमित बनेका छन् । १५ जना संक्रमणमुक्त भइसकेका छन् ।

जिल्लामा सरकारीतर्फ भरतपुर अस्पतालको भरतपुर कोभिड १९ प्रयोगशालामा निःशुल्क जाँच हुँदै आएको छ भने निजीतर्फ चितवन मेडिकल कलेजले ४४०० सय शुल्कमा कोरोनाको स्वाब नमूना परीक्षण गर्दै आएको छ ।

पूर्वी चितवनको बहुलहर रत्ननगर अस्पतालमा पनि प्रयोगशाला सञ्चालन गर्ने भन्दै प्रदेश सरकारले रकम छुट्टाएको छ ।

प्रयोशाला थपिएसँगै लामो समयसम्म कोरोना परीक्षणको रिर्पोट कुर्नु पर्ने बाध्यताको क्रमशः अन्त्य हुँदै जाने विश्वास लिइएको छ ।
अनलाइनखबर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय