शुल्क नतिरेको भन्दै प्रिन्सिपलले अभिभावकको खुट्टा भाँचे

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र २५, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं नोबेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण गत चैतदेखि विद्यालयहरू बन्द छन् । यही बेला एक निजी विद्यालयका प्रिन्सिपलले बक्यौता शुल्क नतिरेको निहुँमा एक अभिभावकमाथि कुटपिट गरेका छन् ।

नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६, रानीनगरस्थित उज्ज्वल शिशु बोर्डिङका प्रिन्सिपल दीपक कुँवरले नवलपरासी पश्चिम सुस्ता गाउँपालिका–३ पत्थरकलाका कृष्णप्रसाद आचार्यमाथि कुटपिट गरेका हुन् ।

प्रिन्सिपल कुँवरले कुटपिट गर्नेक्रममा लडेर उच्च रक्तचाप र मधुमेहका विरामी आचार्यको खुट्टाको फ्युमर (साप्रा) फ्याक्चर भएको छ । आठ वर्ष पुरानो बक्यौता भुक्तानी नगरेको भन्दै कुँवरले कुटपिट गरेका हुन् ।

उपचार खर्च अभावमा अस्पतालमै

घरको आर्थिक अवस्था कमजोर रहेका आचार्यको खुट्टाको अप्रेशन र औषधिमा दुई लाख २० हजार रुपैयाँभन्दा बढी खर्च भएको छ । तर उक्त खर्च तिर्न नसक्दा अस्पतालले भदौ १९ गते नै डिस्चार्ज दिएपनि आचार्य बुटवलको लुम्बिनी सिटी अस्पतालमै अलपत्र छन् ।

‘सत्र दिन बसेपछि अस्पतालले पाँच दिनअघि नै डिस्चार्च दिएको हो तर उपचार खर्च तिर्न नसक्दा यहीँ छौं,’ आचार्यका छोरा भरतले भने, ‘प्रहरीले यतिका दिनसम्म त प्रिन्सिपललाई पक्राउ गर्नुपर्ने हो, पैसा तिर्न नसकेर हामी बिचल्लीमा परेका छौं, हामीलाई न्याय कसले दिने हो ?’

भरतका अनुसार प्रिन्सिपल कुँवरले आठ वर्षसम्म बिर्सिएको पुरानो बक्यौता शुल्क लकडाउनका बेला तिर्न दबाब दिइरहेका थिए । कृष्णप्रसादका दुई छोरा रामप्रसाद र लक्ष्मणले २०६९ सालमा एसएलसी दिएका थिए ।

परीक्षामा दुई दाजुभाइ अनुत्तीर्ण भएकाले विद्यालयले शुल्क नमागेको होला भनेर बसेको अवस्थामा चार महिनाअघि मात्र एक्कासी शुल्क तिर्न दबाब दिएको भरतको दाबी छ । प्रिन्सिपल कुँवरले ५५ हजार बक्यौता छ भनेका तर बुबाले ३५ हजार तिर्न बाँकी रहेको र लकडाउन खुलेपछि १० हजार दिने भनेपनि नमानेर कुटपिट गरेको उनले बताए ।

२८ साउनमा रानीनगर बजार गएका बेला पिछा गरेर प्रिन्सिपलले समातेर धकेल्दै विद्यालयका लेखापाल बाबुराम सुवेदीको घरमा लगेर हात बटारिदिएर गर्धनमा हान्दा लडेर खुट्टा भाँच्चिएको भरत बताउँछन् । तिर्नुपर्ने सबै पैसा अहिले नै दिन्छस् कि दिँदैनस् भन्दै प्रिन्सिपलले कुटपिट गरेको भरतले बताए ।

आरोपी प्रिन्सिपल फरार

दिउँसो ४ बजे कुटपिट गरेका कृष्णलाई राति ८ बजे बुटवलमा उपचारका लागि ल्याइएको थियो । घटनालगत्तै पीडित परिवारले स्थानीय तहमा उजुरी दिँदा राजनीतिक दबाबमा नलिइएको र भदौ ९ गते मात्रै जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) मा उजुरी दर्ता भएको छोरा भरतले बताए । प्रिन्सिपल कुँवर कांग्रेसका पुराना स्थानीय कार्यकर्ता हुन् ।

भदौ ९ गते जिल्ला प्रहहरी कार्यालय नवलपुरमा जाहेरी दर्ता भएपनि प्रहरीले कुँवरलाई अझैसम्म पक्राउ गर्न सकेको छैन । राजनीतिक शक्तिको आडमा प्रहरी प्रशासन पनि प्रभावित भएर प्रिन्सिपललाई पक्राउ नगरिएको पीडित परिवारको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले प्रिन्सिपल कुँवरविरुद्ध कुटपिट तथा अंगभंगसम्बन्धी कसुरमा मुद्दा दर्ता भएकाले अनुसन्धान भइरहेको तर पीडक फरार रहेको बताए । प्रिन्सिपल कुँवरसँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल स्वीच्ड अफ छ ।

उता निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नवलपुरले प्रिन्सिपल कुँवरमाथि झुट्टा मुद्दा लगाइएको र घटनालाई आपसी समझदारीमा मिलाउन सकिने अवस्था हुँदाहुँदै मिडियाबाजी गरिएको दाबी गरेको छ । प्याब्सन नवलपुरका सचिव भीमलाल कँडेलले जारी गरेको विज्ञप्तिमा विद्यालयका लेखापालको मोटरसाइकलमा चढ्ने क्रममा सडकबाट घरको आँगन जाने सिँढीमा चिप्लिएर लड्दा खुट्टा फ्याक्चर हुन भएको दाबी गरिएको छ ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोबिन्द खनालले भने अभियुक्तलाई यथाशीघ्र पक्राउ गरी कानुनी दायरामा ल्याउन र पीडितलाई न्याय दिनुपर्ने बताउँछन् । कुनैपनि बहानामा पीडकले उन्मुक्ति पाउँदा दण्डहिनता मौलाउने र पीडितको मानव अधिकार हनन् हुने भएकाले राज्य पक्ष गम्भीर बन्नुपर्ने खनालको सुझाव छ । अनलाइनखबर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय