काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार २ सय १ जनामा संक्रमण पुष्टि भएको बताए । काठमाडौंमा ३७७, भक्तपुरमा १७ र ललितपुरमा थप ३७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको छ।
पछिल्लो २४ घण्टामा पीसीआर १० हजार १ सय ७६ जनाको नमुना परीक्षण गरिएको छ । देशभर क्वारेन्टाइनमा ६ हजार ३ सय ५४ जना रहेका छन् भने आइसोलेसनमा १५ हजार २ सय ६० जना सक्रिय संक्रमित रहेका छन् । आइसियूमा १६० र भेन्टिलेटरमा २४ जनाको उपचार भइरहेको छ ।
शनिबार थप ८ सय ५२ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ३७ हजार ५ सय २४ पुगेको मन्त्रालयले जनाएको छ ।
यसैबीच, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । काठमाडौं, भक्तपुर, सुनसरी, पर्सा, स्याङ्जा, गोरखा, कास्की, रुपन्देही, तनहुँ र सुनसरीमा गरी १४ जनाको मृत्यु भएको हो । योसँगै मृत्यु हुनेको संख्या ३३६ पुगेको छ ।