मन्त्रिपरिषदको बैठक नबस्दा कुलमानको निर्णयमा ढिलाई , कार्यकाल दुई कि चार बर्ष थप्नेबारे अनिश्चित

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र २८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल आज (आइतबार) सकिँदैछ । २०७३ सालको भदौ २९ गते नियुक्त हुनुभएका घिसिङको कार्यकाल आज राति १२ बजेदेखि सकिन लागेको हो ।

आफ्नो चार वर्षे कार्यकालमा निकै प्रशंसा कमाउनुभएका कुलमान घिसिङलाई अर्को कार्यकाल पनि प्राधिकरणको नेतृत्व दिन सरकारमाथि जनदबाब बढेको छ । तर मन्त्रिपरिषद्को बैठक साेमबार (भोलि) मात्रै बस्ने भएकाले कुलमान आज बिदा हुने पक्का भएको हो ।

यद्यपि प्रधानमन्त्री ओलीले चाहेमा सरकारले कुलमानलाई फेरि पनि प्राधिकरणको नेतृत्व दिन सक्छ तर ओलीले घिसिङलाई नियुक्त गर्न नचाहेको ऊर्जा मन्त्रालय स्रोत बताउँछ । ‘नेकपाका अध्यक्ष प्रचण्ड कुलमानलाई नै लैजानुपर्छ भन्नेमा हुनुहुन्छ तर प्रधानमन्त्री ओलीले त्यसमा रुचि देखाउनुभएको पाइएन’, ऊर्जा मन्त्रालय स्रोतले उज्यालोलाई भन्यो ।

ऊर्जामन्त्री वर्षमान पुन आफै कुलमानलाई दोहोर्‍याउने मनस्थितिमा नभए पनि प्रचण्डको दबाबका कारण मन्त्री पुन घिसिङको नाम प्रस्ताव गर्न राजी हुनुभएको छ । तर प्रधानमन्त्रीले नै इच्छा नदेखाएपछि घिसिङको नाम मन्त्रिपरिषदमा पुगेको छैन ।

दैनिक १८ घण्टाकाे लोडशेडिङ घटाएको, पुराना र रुग्ण आयोजना सम्पन्न गर्दै लगेको, घाटामा रहेको प्राधिकरणलाई चार वर्षमै ११ अर्ब रुपैयाँ नाफामा लगेको लगायतका सफलताका कारण सर्वसाधारणले प्राधिकरणमा फेरि पनि घिसिङलाई नै दोहोर्‍याउन माग गरेका छन् ।

२०५१ सालमा सातौँ तहको इन्जिनियरबाट प्राधिकरणमा प्रवेश गर्नुभएका घिसिङलाई तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीले चिलिमे जलविद्युत् आयोजनाको प्रमुखबाट हटाएर विद्युत् प्राधिकरणमा कामविहीन अवस्थामा राख्नुभएको थियो । तर पछि तत्कालीन उर्जामन्त्री जनार्दन शर्माको पहलमा सरकारले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय