नेपालमा थप तीनजना कोरोना संक्रमितको मृत्यु

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र २९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारका क्रममा मोरङका दुई संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा कुनै पनि दीर्घ रोग नभएका ४० वर्षीय युवक पनि रहेको प्रतिष्ठानले जनाएको छ।

मोरङको धनपालथान–६ का ती युवकको आइतबार राति ८ः४५ मा निधन भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए। उनलाई प्रतिष्ठानको अर्थो अब्जरभेसन वार्डमा उपचारका क्रममा रहँदा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसअघि आइतबार दिउँसो विराटनगर–१२ का ७० वर्षीय पुरुषको पनि प्रतिष्ठानकै कोभिड अस्पतालमा मृत्यु भएको थियो। उनलाई विराटनगरस्थित म्याक्स अस्पतालले प्रतिष्ठानमा रिफर गरेको थियो । उनलाई भदौ १६ गते कोराना पुष्टि भएको थियो । उनलाई पहिलादेखि नै उच्च रक्तचापको समस्या भएको बताइएको छ । योसँगै प्रतिष्ठानमा मृत्यु हुने संक्रमितको संख्या २६ पुगेको छ।

यस्तै, महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–३ बस्ने एक ६० वर्षीय पुरुषको कोभिड–१९ बाट मृत्यु भएको छ । कोरोना लागेर ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि भदौ २२ गते प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको उनको आइतबार मृत्यु भएको प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयका निर्देशक डा विजय झाले बताए।

भदौ २२ गते अस्पताल भर्ना भएकै दिन उनको स्वाब सङ्कलन गरी प्रयोगशाला पठाइएकोमा भदौ २४ गते उनी कोरोना पोजेटिभ रहेको रिपोर्ट आएको थियो। उनी उच्च रक्तचापका बिरामीसमेत रहेको बताइएको छ। उनको मृत्युसँगै अब महोत्तरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको जिल्लाका कोरोना फोकल पर्सन गिरेन्द्रकुमार झाले बताए। रासस

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय