इलामः अधिकमास अर्थात् पुरुषोत्तम मास शुक्रबारदेखि सुरु हुँदैछ । असोज २ गतेदेखि कात्तिक १ गतेसम्म मलमास चल्नेछ । एक चान्द्रमासभरि कुनै पनि शुभकर्म गर्न नमिल्नेगरि सुरु भएको पुरुषोत्तम मासकै कारण यस वर्षको दशैं–तिहार पछि सरेको छ भने सोह्रश्राद्ध केही अघि सरेको छ । सौरमास र चान्द्रमासको महिनालाई समायोजन गर्नको लागि सामान्यतया २ वर्ष, ८ महिना, १६ दिन र चार घडी पुगेपछि अधिकमास मनाउने गरिन्छ । यो वर्ष सोही गणनाक्रम अनुसार असोज २ गतेदेखि अधिकमास मनाउन लागिएको हो ।
हिन्दु पञ्चाङ्ग अनुसार सौरमासको एक वर्षमा ३६५दिन, १५ घडी, ३१ पला र ३० विपला हुन्छ जब कि चन्द्रमान अनुसार ३५४ दिन, २२ घडी, १ पला र २३ विपलाको एक वर्ष हुने गर्छ । हरेक वर्ष सूर्य तथा चन्द्रमासको बीचमा हुने १० दिन ५३ घडी, ३० पला एवं ७ विपलाको अन्तरले महिना छोएपछि एक महिनालाई अशुद्ध मास मानेर गणना नगरी सौरमाससँग समायोजन गर्ने गरिन्छ । यही अशुद्ध भनिएको महिना नै मलमास हो ।
धर्मशास्त्रका जानकारहरूका अनुसार यो चाडमा निश्चित कर्मबाहेक लग्न जुराएर गर्ने सबै किसिमका पर्वहरू प्रतिबन्धित हुने गर्छ । पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष प्रा।डा। माधवप्रसाद भट्टराईका अनुसार यो महिना अशुद्ध भएको र गणनामा नै नहुने भएकोले यो एक महिना कुनै पनि मुहूर्त जुराएर गर्ने काम गर्न शास्त्रले निषेध गरेको छ । वैदिक पञ्चाङ्ग अनुसार पहिले असार र कात्तिक महिनामा मात्रै अधिकमास मनाउने चलन भए पनि अहिलेको आधुनिक पञ्चाङ्ग अनुसार अधिकमास मनाएको २ वर्ष, ८ महिना, १६ दिन र चार घडी पुगेपछि अधिकमासको योग बन्ने गर्छ ।
किन भनियो पुरुषोत्तम मास ?
मलमासलाई पुरुषोत्तम मास पनि भन्ने गरिन्छ । यसको छुट्टै किंवदन्ती रहेको छ । हरेक महिनालाई सबै भगवानले आ–आफ्नो अनुकूल मिलाएर स्वीकार्न थालेपनि अन्तिममा अशुद्ध भनेर छाडिएको यो महिनालाई कुनै पनि भगवानले स्वीकार्न चाहेनन् । यसै पनि अशुद्ध भनेर छाडिएको यो महिनाले भगवानहरूसँग विलौना गरेपछि पुरुषोत्तम अर्थात् भगवान विष्णुले सो महिनाको नाम नै आफ्नो नामबाट राखेर सो महिनालाई आफूले स्वीकार्ने बताए भन्ने मान्यता छ ।
त्यसैले यो महिनामा अरू शुभकर्म गर्न निषेध गरिएकोले भगवान विष्णुलाई खुसी बनाउने गरी स्तुति गर्न भने शुभ हुने शास्त्रीय मान्यता छ । यो महिनामा केही कामको लागि निषेध गरिएको छ भने केही काममा बाधा नहुने कुरा विभिन्न धर्मशास्त्रमा उल्लेख छ । अधिकमास लाग्नुअघि नगएका तीर्थमा यस महिनाभरि जान नहुने प्रा।डा। भट्टराईको कथन छ ।
–मलमासमा मन्दिरलगायत भौतिक संरचना निर्माणको लागि समेत निषेध गरिएको छ । शास्त्रीय मान्यता अनुसार यो एक महिनाभरि कुनै पनि नयाँ शुभकर्मलाई शुभारम्भ गर्न नै निषेध गरिएको छ । यद्यपि यो समयमा समेत पहिलेदेखि नियमित गरिँदै आएको कर्म गर्न भने बाधा नपर्ने भट्टराई बताउँछन् । यो महिनामा भगवान विष्णुलाई मनपर्ने माल्पुवा जस्ता परिकारसहित विष्णुको पूजा आराधना गर्ने गरिन्छ ।