मनोज अधिकारी,फिक्कलःइलामको दिदीबहिनी झरनामा छायांकन गरिएको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ ।
इलाम नगरपालिका ३ पुवामझुवाको महभीरमा रहेको यस झरना पर्यटकको आकर्षक गन्तब्य बन्न थालेसँगै यहाँ गितसंगितको म्युजिक भिडियो छायांकन शुरु भएको हो । गायक टंक बुढाथोकीको स्वरमा रहेको ‘तिमिले बाटो मोड्दा’ बोलको कभर भिडियो सार्बजनिक भएको छ। यहाँ छायांकन गरिएको यो पहिलो म्युजिक भिडियो भएको कथाकार तथा निर्देशक विवेक कठेतले जानकारी दिनुभएको छ । इलामको पर्यटन प्रवर्धनमा सहयोगा पुर्याउने उद्धेश्यले भिडियो छायांकन गरिएको कठेतको भनाई छ । भिडियोको सम्पुर्ण छायांकन दिदीबहिनी झर्ना र पुवामझुवा स्थित बेतेनिमा रहेको शिबलया मन्दिरमा गरिएको छ ।
त्रिकोणत्मक प्रेम कथामा आधारित यो कभर भिडियो निकै पृथक भुमिकाको देखिन्छ । विवेक कठेतको कथा र निर्देशन रहेको भिडियोमा कलाकारहरु रमेश कठेत र सबिना थापाले मुख्य भुमिका निभाएका छन् भने साथमा पदम थापाको पनि अभिनय रहेको छ। भिडियोलाई नवीन गुरुङले छायांकन र भक्त गुरुङले सम्पादन गरेका हुन । शुभबिहानी इन्टरटेनमेन्टले प्रस्तुत गरेको भिडियो गायक टंक बुढाथोकीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
गितमा, एउट्टा सच्चा प्रेमी कसैको मायामा कतिसम्म त्याग गर्न सक्छ भन्ने कुरा देखाईएको छ । प्रेमीकाले धोका दिएपछि असल प्रेमी आत्महत्याको बाटोरोज्न बाध्य हुँदोरहेछ भन्नेकुरा उक्त भिडियोमा देखाउन खोजिएको छ । प्रविधिको विकासलाई सहि ढङ्गले उपयोग गर्न र मायाको नाममा गलत कृयाकलाप नगर्न आग्रह गर्दै सच्चाप्रेम माथिको धोका अपराध हो भन्ने संदेश दिन खोजीएको छ ।
दिदीबहिनी झरनाको विशेषताः
अहिले दिदीबहिनी झरनामा आन्तरिक पर्यटकको घुँइचो लाग्न थालेको छ । करिब ५० मिटरको दुरीमा दुई वटा झरना नजिकमा रहेकाले दिदीबहिनी झरनाको नामाङ्करण गरिएको हो । ठूलठूला चट्टानका वीचबाट झरेको झरना निकै आकर्षक र सुन्दर देखिएपनि उचाई भने हालसम्म मापन गरिएको छैन । मेची मार्गबाट पुवामझुवातर्फ नजिकै रहेकाले पर्यटकलाई यात्रामा समेत सहज हुने गरेको स्थानिय विवेक कठेतले बताउनुभएको छ ।
स्थानीय बासिन्दाहरु झरनाको प्रचारप्रसार तथा संरक्षणमा जुटेसँगै झरनाको चर्चा पनि चुलिदैं गएको छ । ‘यसको प्रवर्द्धनका लागि भौतिक पूर्वाधार निर्माणको काम भइरहेको वडा अध्यक्ष तीर्थ गुरुङले बताउनुभयो । स्थानीयबासी, स्थानीय तह र प्रदेश सरकारबाट ध्यान दिएर काम भइरहेको छ । आन्तरिक र बाह्य पर्यटकहरुका लागि यो झरना जिल्लाकै उत्कृष्ठ गन्तव्य बन्न सक्ने निश्चित छ ।