इलाममा हाललाई कोरोना संक्रमितको संख्या शून्यः२३ जनाको रिपोर्ट आउन बाँकी

द्वारा प्रकाशित गरिएको हो |
२०७७ आश्विन १२, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामःइलाममा हाललाई कोरोना संक्रमितको संख्या शून्य भएको छ। पहिलो पटक गत जेठ २७ गते सूर्योदय नगरपालिकामा भारतको चेन्नईबाट आएका २६ वर्षीय युवकमा पोजेटिभ देखिएको थियो। पहिलो संक्रमित भेटिएको १०९ दिनपछि इलाममा कोरोना पोजेटिभ हुनेको संख्या शून्य भएको हो।

हालसम्म इलाममा संक्रमण भेटिएका ९३ जना उपचारपछि घर फर्किसकेका छन्। आइतबार चुलाचुली गाउँपालिकाका एक जना युवकको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि इलाममा सक्रिय संक्रमित शून्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा अहिलेसम्म ४६ सशस्त्र प्रहरी, ३ जनपद प्रहरी, २ सैनिक, १ स्वास्थ्यकर्मी, १ सरसरफाइकर्मी, १ सुरक्षा गार्डसहित वैदेशिक रोजगारीबाट फर्केका व्यक्ति र समुदायमा समेत कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विमल बरालले बताए।

कार्यालयका अनुसार २३ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ। अहिलेसम्म जिल्लामा ४ हजार ९ सय ७७ जनाको पिसिआर परीक्षण गरिएकामा ४ हजार ८ सय ६१ जनाको रिपोर्ट नेगेटिभ आएको थियो। जिल्लामा सबैभन्दा बढी इलाम नगरपालिकामा ५७, सूर्योदय नगरमा १५, सन्दकपुर गाउँपालिकामा ८, माई नगरमा ५, देउमाई नगरमा ४, चुलाचुलीमा ३ र रोङ गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको थियो।

माइजोगमाई, फाकफोकथुम र माङ्सेबुङ गाउँपालिकामा कसैमा पनि संक्रमण देखिएको छैन। अहिले जिल्लाका ५ स्थानीय तहमा रहेका क्वारेन्टाइनमा ६४ जना छन्। जिल्लामा गत जेठमा २, असारमा १४, साउनमा ६६ र भदौमा ११ जनामा कोरोना पोजिटिभ देखिएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय