मनोज अधिकारी,फिक्कलःनेवार समुदायका मानिसहरुले आज आत्म (म्ह) पूजा गरी पर्व मनाएका छन् । आत्मा नै सबैभन्दा ठूलो हो भन्ने मान्यताअनुसार म्ह पूजा गर्ने परम्परा बसेको हो । इलामको सूर्योदय नगरपालिका १० स्थित फिक्कलमा नेपाल सम्वत् ११४१ को स्वागत तथा म्ह पूजाको अवसरमा भब्य कार्यक्रम सम्पन्न भएको छ ।
कोरोना भाईरसको संक्रमण बाट जोगिन स्वास्थ्य संवेदनशिलतालाई ध्यान दिँदै कार्यक्रम आयोजना गरिएको हो । नेवाः देय्ः दबू सूर्योदय नगरसमितिको आयोजना तथा नेवास् ल्याम्ह दबूः सूर्योदय नगरसमितिको संयोजनमा कार्यक्रम सम्पन्न भएको आयोजक समितिका सचिब युवराज प्रधानले जानकारी दिनुभएको छ ।
फिक्कल माःविको प्रागणमा आयोजीत कार्यक्रममा वार्ड नं १० का अध्यक्ष पेमा उगेन लामा, स्वास्थ्य चौकी फिक्कलका मेडिकल अफिसर, सूर्योदय नःपाःका आर्किटेड ईन्चार्ज श्रृजन गदाल,स्वास्थ्य चौकी फिक्कलका अधिकृत फाजुङ शेर्पा लगायत सूर्योदय नःपा भित्रका नेवार समुदायको उपस्थिति रहेको थियो । कार्यक्रममा भीम बहादुर श्रेस्ठले म्ह पुजाको बारे प्रकाश पार्नु भएको सचिव युवराज प्रधानले जानकारी दिनुभएको छ ।
विगत वर्ष जस्तै म्ह पूजा आज र भोलि गर्न नेवार समुदाय विभाजित भएका छन् । नेपाल संवतकै दिन आत्म पूजा गर्नेले सोमबार गर्न लागेका हुन् । म्ह पूजाको प्रचलन पाँच हजार वर्षदेखि चलिआएकाले एक हजार १४१ वर्ष अघिदेखि सुरु भएको नेपाल संवतसँग जोड्न नहुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य कीर्तिमदन जोशीले बताउनुभयो । धर्मशास्त्र र ज्योतिष विषयमा नजानेकाले राजनीतिक दबाबका भरमा चाडबाडमाथि हस्तक्षेप गर्दा यस्तो समस्या आएको उहाँको भनाइ छ ।
भाईटिकाको उत्तम साइत बिहान ११ः३७ बजे
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ ।
राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभएको छ ।
यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि शुरु भएको थियो ।
शास्त्रीय विधिअनुसार भाइपूजा वा किजापूजा पनि मङ्सिर १ गते नै मनाइन्छ । मङ्सिर २ गते बिहान ७ः०४ बजेसम्म मात्र द्वितीया तिथि छ । शास्त्रीय वचनअनुसार मध्याह्नकालमा नै भाइटीका लगाइन्छ । यसैले मङ्सिर १ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ ।
मङ्सिर महिनामा भाइटीका परेकाले दाइलाई टीका लगाउनुहुन्न भनी केही मानिसले चर्चा गरे पनि त्यो शास्त्रसम्मत नरहको समितिले जनाएको छ । शास्त्रीय ग्रन्थमा भ्रातृपूजा भन्ने शब्द उल्लेख गरिएको र त्यस शब्दले दाजुभाइ दुवैलाई बुझाउने अध्यक्ष गौतमको भनाइ छ । भाइटीका भनिए पनि ज्येष्ठको क्रमानुसार नै टीकाटाला गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ ।