इलाम,नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० औपचारिक विभाजनको दिशामा गएपछि यसको असर जिल्लातहमा पनि देखिन थालेको छ । औपचारिक पार्टी विभाजनको घोषणा नहुँदै जिल्ला तहमा कित्ताकाट सुरु भएको हो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अध्यक्ष रहेको समूह र प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको समूहले फरर फरक पार्टीको अभ्यास थालेपछि दुवैतर्फको राजनीतिक कृयाकलाप पालिका स्तरमा पुगेको छ । इलाम प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनाल र केपी ओली समूहमा खुलेका नेता सुवास नेम्वाङको गृहजिल्ला हो । यी दुवै नेता आफ्नो समूहलाई बलियो पार्ने धाउन्नेमा छन् । इलाममा माधव नेपालको फरक गुट देखिदैन ।
प्रचण्ड माधव समूहमा रहेका खनाल प्रचण्ड र ओलीको आ आफ्नै समूह छ । इलाममा १० वटा पालिका छन् । ती मध्ये सात स्थानीय तहको प्रमुखमा नेकपाको नेतृत्व छ । नेपाली कांग्रेसले जीत हासिल गरेको अरू दुई पालिकाको उपाध्यक्ष समेत नेकपाले जितेको थियो । नेकपाको विभाजनसँगै कतिपय पालिकाका प्रमुख उपप्रमुख र अध्यक्ष उपाध्यक्षले कित्ताकाट गरिसकेका छन् भने केही निर्वाचन आयोग र सर्बोच्चको फैसला कुरेर बसेका छन् ।
इलाममा प्रचण्ड–माधव समुहका वरिष्ठ नेता पक्षको भनिएका जनप्रतिनिधि समेत अर्को समूहको अध्यक्ष ओलीको समर्थनमा खुलेका छन् । एक नम्बर प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री समेत रहेका नेकपा इलामका अध्यक्ष राम राना र प्रदेशसभा सदस्य काजीमान कागते नेकपा ओली समूहमा खुलेका छन् ।
मुख्यमन्त्रीको चुनाव पछि उनीहरू ओली पक्षमा उभिएका हुन् । त्यस अघि उनीहरु दुवैलाई खनाल निकट मानिन्थ्यो । अर्का सांसद धीरेन्द्र शर्मा र खिनु लङ्वा नेकपा ९प्रचण्ड÷नेपाल० समूहतिर खुलेका छन् । शर्मा प्रचण्ड र लङ्वा खनाल निकट हुन् । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र उपप्रमुख शुशिला नेम्वाङ ओली समूहमा खुलेका छन् ।उनीहरू पहिले पनि सोही समूहमा थिए ।
त्यस्तै, देउमाई नगरपालिकाका प्रमुख सूर्य पोख्रेल र उपप्रमुख पविमाया राई ओली समूहमै खुलेका छन् । जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल पनि ओली पक्षको महाधिवेशन आयोजक कमिटीको केन्द्रीय सदस्य भइसकेका छन् । प्रदेशका चार जनामध्ये दुई समूहमा दुई–दुई जना छन् । बामगठबन्धन हुँदै एकता भएका एमाले र माओबादीबाट सांसद र मन्त्री बने पनि पछिल्लो समय विभाजित भएका छन् ।
सन्दकपुर गाउँपालिकाकी उपाध्यक्ष शोभा पराजुली खनाल पक्षधर मानिन्थिन् तर पार्टी विभाजनसँगै उनी ओली समूहले बनाएको महाधिवेशन आयोजक कमिटीको केन्द्रीय सदस्य भएकी छिन् । खनालको विश्वास पात्र मानिने सन्दकपुर गाउँपालिका अध्यक्ष उदय राई उनकैै पक्षमा छन् । उनी बहुमत पाएर पनि ओली नालायक रहेको भन्दै प्रचण्ड–नेपाल समूह रहेको नेकपा नै आधिकारिक रहेको बताउँछन् ।
खनाल निकट रहेका सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले भने सामाजिक सञ्जाल फेसबुकमार्फत ‘म भूल गर्दिन’ मेरो वालिक मताधिकारलाई जहिले सूर्य चिन्हमा दिए र जीवनपरन्त दिने र जहाँ सूर्य त्यहि म हुन्छु भन्ने स्टाटस लेखेका थिए । उपप्रमुख दुर्गा भट्टराईले आफू नेकपाको कार्यकर्ता भएकाले अदालतको फैसला र निर्वाचन आयोगको निर्णय हेरेर अघि बढ्ने बताउँछिन् ।
माई नगरपालिकाका प्रमुख दीपक थेवे खनालबाट नगरपालिका प्रमुखको टिकट पाएका हुन् तर नेम्वाङसँगको पारिवारिक सम्बन्ध भएको कारण ओली समूहमा सघाउँछन् भन्ने चर्चा छ तर नेकपा विभाजन भएसँगै उनी कतै खुलेका छैनन् । उपप्रमुख विष्णुमाया रिमालले अदालतको निर्णय विना केही नबोल्ने बताउँछिन्। उनले आफू वाल्यकालदेखि नै कम्युनिस्ट रहेको र पहिले अध्यक्ष ओलीलाई नै मानेको बताइन् । पार्टी एकीकरण पछि भने ओली र प्रचण्ड दुवै नेता मान्दै आएको भन्दै हिजोको अवस्थालाई हेर्दा भोली पनि मिल्न सक्ने अवस्था आउने भएकाले अहिले चुप लागेर बस्ने बताइन् ।
माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीत बहादुर राई खनाल पक्षका भएपनि नेकपा विभाजन पछि उनले विचार सिद्धान्त र संस्था प्रमुख रहने भन्दै कतै खुलेका छैनन । यता, उपाध्यक्ष सावित्रा भट्टराई ओली पक्षको मानिन्छन तर उनले सूर्य चिन्न लाई समर्थन रहेको र सिद्धान्तलाई आधार मान्ने बताइन् । चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदीपचन्द्र राईपनि ओली पक्षकै रहेको बताईए पनि सर्वोच्च अदालतको फैसला र निर्वाचन आयोगको निर्णयभन्दा अगाडि नखुल्ने बताए भने उपाध्यक्ष निर्मला दहालले हावाहुरी चलेको बेला चुप लागेर बस्ने बताइन् । उनीहरु दुवैलाई ओली पक्षधरले आफ्नो दावी गर्दै आएका छन् ।
माङ्सेबुङ गाउँपालिकाका उपाध्यक्ष सुनिता योङहाङ नेम्वाङ निकट मानिन्छ । उनको विचार बुझ्नको लागि सम्पर्क गर्दा खोज्दा उनीसँग भने सम्पर्क भएन्। फाकफोकथुम गाउँपालिकाकी उपाध्यक्ष सरस्वती राई ९सरू० नेकपा विभाजन हुनु भन्दा पहिले सुवास नेम्वाङलाई समर्थक थिइन् । एकीकरणपछि ओलीलाई नेता मानेको बताउने राईले यो बेला चुप लागेर बसेको बताइन् ।सरलपाटिबाट