
इलाम,सशस्त्र प्रहरीले सूर्योदय नगरपालिका–१३, लक्ष्मीपुरस्थित चिया उद्योगको गोदामबाट बरामद गरेको भारतीय मललाई ‘बेवारिसे अवस्थामा भेटिएको’ भनेको पाइएको छ। स्थानीय लक्ष्मी टी इन्डस्ट्रीको गोदामबाट मल बरामद गरेपनि सुरक्षा निकायले उद्योग नजिकैको चियाबारीमा प्लास्टिकले छोपिएको अवस्थामा मल भेटिएको तर कारोबारी फेला नपरेको जवाफ दिने गरेको छ।
सोमबार अपराह्न साढे ३ बजेतिर आइतबारे बेसक्याम्पबाट खटिएको सशस्त्र प्रहरी टोलीले उद्योगको तल्लोपट्टि सँगै रहेको गोदामबाट ३० बोरा भारतीय मल बरामद गरेको थियो। तर, पशुपतिनगर भन्सार कार्यालयमा बुझाउँदा बेवारिसे अवस्थामा भेटिएको भन्दै बुझाइएको छ। सशस्त्र प्रहरी स्रोतले ‘चिया उद्योगनजिकैको पोखरीभन्दा उत्तरपट्टिको भिरालो चियाबारीमा प्लास्टिकले छोपेको अवस्थामा मल फेला परेको’ दाबी गरेको छ । र, मल कसको हो भन्ने पनि फेला नपरेको जवाफ दिएको छ।



तर, प्रत्यक्षदर्शीका अनुसार सशस्त्रले गोदामबाटै मल बरामद गरी गाडीमा हालेको हो। ‘उद्योगका कामदारकै सहयोगमा गाडीमा मल लोड गरिएको हो,’ एक प्रत्यक्षदर्शीले भने, ‘गाडीले उकालो बाटोमा तान्छ कि तान्दैन भन्ने कुरा पनि भयो तर एक पटकमै लगिएको हो।’ उनका अनुसार गोदाममा सिजनमा मल ल्याएर राखी किसानलाई विक्री गरिन्थ्यो। ‘अहिले नेपाली मलले नपुगेर किसानकै आग्रहमा विक्रीका लागि भारतीय मल ल्याइएको हो,’ स्रोतले भन्यो, ‘बरु महँगो नै परेपनि मूल्य दिन्छौं, मल ल्याइदिनू भनेर किसानले भनेका थिए।’
सिडिओ ध्रुवबहादुर खड्काले समेत बरामद मल कसको हो भन्ने पत्ता नलागेको बताए। ‘मल बरामद भएको सूचना आएको छ तर कसको हो भन्ने पत्ता लागेको छैन,’ उनले भने, ‘कसैको घरमा फेला परेको भए त घरधनी समात्न हुन्थ्यो, शंकाको भरमा त समात्न भएन नि १’ यसबारे आफूले विस्तृतमा जानकारी लिन नपाएको भन्दै सिडिओ खड्काले थप के छ भन्नेबारे खोजी गर्ने जनाए।
लक्ष्मी टि इन्डस्ट्रीका सञ्चालक डिल्ली प्रधानले चाहिँ आफूले अघिल्लो दिन फिक्कलबाट किनेर ल्याएको मल सशस्त्र प्रहरीले लगेको बताए। ‘अस्तिको दिनमात्रै फिक्कलबाट किनेर ल्याएर ५र१० बोरा मल राखेको थिएँ, यसो सागसब्जीलाई, नेपालको मल कतै पाइँदैन, त्यो इन्डियन रहेछ, त्यति वास्ता पनि गरिएन,’ उनले मंगलबार बिहान पत्रकारसंग भने, ‘फ्याक्ट्रीमै त होइन, अलि बाहिर रहेछ, १५र२० बोरा थियो होला। म फ्याक्ट्रतिर जान पनि पाएको छैन।’
तर, स्रोतका अनुसार सशस्त्र प्रहरी टोली पुगेपछि उद्योगका कामदारले प्रधानलाई फोन गरेका थिए। फोन आएपछि प्रधानसमेत उद्योगमा पुगेको प्रत्यक्षदर्शीको भनाइ छ। प्रधानले भने आफू त्यसबेला उद्योगमा नभएकै दाबी गरे। ‘म झापातिर गएको थिएँ,’ प्रधानले भने, ‘मैले त्यो मल बेच्नलाई ल्याएको होइन।’ नागरिकन्युजसँग टेलिफोनमा ४ मिनेट ५६ सेकेन्ड कुरा गरेका प्रधानले सुरुमा त्यो भारतीय मल आफ्नै भएको, फिक्कलबाट ल्याएको भन्दै स्वीकारेपनि केहीबेरपछि मल आफ्नो होरहोइन यकिन नभएकोजस्तो जवाफ दिएर कुरा फेर्ने प्रयास गरे।
त्यही गाउँका एक किसानले भने बोरामा २ सय ६६ भारतीय रुपैयाँ लेखिएको ४० किलोको भारतीय ‘यारा’ मल उद्योगले प्रतिबोरा १ हजार ४ सय ५० रुपैयाँमा विक्री गरिरहेको सुनाए। उनले नेपाली मल अपुग भएको तर भारतीय मल पनि निकै महँगोमा मात्र पाइनेगरेको जनाए। सीमा क्षेत्रका केही चिया उद्योगले भारतबाट अवैध रूपमा रासायनिक मल ल्याएर किसानलाई बेचिरहेको चर्चा चलेका बेला यसरी उद्योगबाटै मल बरामद भएको हो।
नेपाली रासायनिक मल अपुग भएको जिल्लाका किसानको चौतर्फी गुनासो छ। कृषि सामग्री कम्पनी लिमिटेडले वितरण गर्ने मल सहकारी र समूहमार्फत् किसानसम्म पुग्छ। तर, वैध रूपमा आएको यस्तो मल धेरैजसो किसानसम्म पुग्दै नपुग्ने र मल पुगेको ठाउँमा पनि निकै कम हुनेगरेको किसान बताउँछन्। सूर्योदय नगरपालिकाले भने किसानलाई नेपाली मलको दर नै तोकेर सहकारीमार्फत् किसानसम्म वितरण गर्नेगरेको जनाएको छ। प्रस्तुत समाचार इलामका पत्रकार भिम चापागाईले नागरिक दैनिकमा लेख्नुभएको छ ।