अनुदानको अक्सिजन सिलिण्डरमा वनमन्त्रीको प्रचार, औषधिका प्याकेटमा समेत उनकै तस्वीर

द्वारा प्रकाशित गरिएको हो |
२०७८ जेष्ठ ११, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

नेपाल सरकारका वन तथा वातावरणमन्त्री प्रेम आलेमगरले अनुदानमा प्राप्त अक्सिजन सिलिण्डर र औषधिका प्याकेटमा आफ्नै तस्वीर छापेर वितरण गरेका छन्‌।

हेलिकोप्टर चढेर गृहजिल्ला डोटी पुगेका मन्त्री आलेले स्वास्थ्य सामग्रीमै आफ्नो प्रचार गरेका हुन्‌। ​मन्त्री आलेले डोटीमा वितरण गरेका अक्सिजन सिलिण्डरदेखि औषधिका प्याकेटमा पनि आफ्नो तस्बिर टाँसेका छन्।

चीनबाट अनुदानमा ल्याएर स्वास्थ्य सेवा विभागले दिएका अक्सिजन सिलिण्डरमा पनि आलेले आफ्नै तस्बिर टाँसेका हुन्। जहाँ लेखिएको छ, ‘नेपाल सरकारका माननीय वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेज्यूको व्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामग्री।’

​उनले जिल्ला अस्पताल डोटी, जिल्लाका ९ वटा स्थानीय तह, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पत्रकार र शिक्षकका लागि स्वास्थ सामग्री वितरण गरेका छन्‌।

वनमन्त्री आलेले चीनबाट अनुदानमा ल्याइएको अक्सिजन सिलिण्डरमा पनि ुव्यक्तिगत लगानीमा वितरण गरिएकोु भन्दै फोटोसहितको पोस्टर टाँसेका हुन्‌।

अक्सिजन र औषधिजस्तो संवेदनशील सामग्रीमा समेत आफ्नो फोटो टाँसेर प्रचार गरेपछि मन्त्री आले विवादमा तानिएका छन्। आलेले अनुदानमा आएको सिलिन्डरमा व्यक्तिगत लगानी भन्दै वितरण गरेको र यो निकै ुतल्लो स्तरको प्रचारबाजीु मात्रै भएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ।

गृहजिल्ला पुगेका मन्त्री आलेले जिल्ला अस्पताल डोटीलाई ३० वटा अक्सिजन सिलिण्डर, १० लिटर सेनिटाइजर, १२ वटा एचडीयू बेड, ३० हजार सर्जिकल मास्क र एन्टिजेन किट प्रदान गरेको उनको निजी सचिवालयमा कार्यरत प्रशासन सहायक भक्त आलेले बताए।

त्यस्तै, जिल्लाका नौ स्थानीय तहलाई पाँच(पाँच वटा अक्सिजन सिलिण्डर, दुई(दुई वटा एचडीयू बेड, पाँच(पाँच हजार सर्जिकल मास्क र जिल्लाका विभिन्न वडालाई एक हजारका दरले ६५ हजार थान मास्क वितरण गरिएको आलेले बताए।

आले भन्छन्,व्यक्तिगत लगानी हो

​डोटीमा स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै मन्त्री आलेले भने, ‘डोटीका लागि ७५ र कैलालीका लागि ५० वटा अक्सिजन सिलिण्डर वितरण गर्दैछु। त्यसमा १५ वटा स्वास्थ्य सेवा विभागले दिएको हो। बाँकी ११० वटा मैले आफ्नै रकमले खरिद गरेको हुँ।’

उनले कोभिड भाइरसको नियन्त्रणमा सरकार प्रतिबद्ध रहेको दाबी गरे।

तर, मन्त्री आलेको निजी सचिवालयमा कार्यरत प्रशासन सहायक भक्त आलेले भने स्वास्थ्य सेवा विभागले दिएका सिलिण्डरमा अक्सिजन फिलिङ मन्त्रीको व्यक्तिगत खर्चबाट गरिएकोले तस्बिर टाँसिएको बताए।

कैलाली र डोटीका लागि मन्त्री आलेले स्वास्थ्य सामग्रीका लागि ६० लाख रुपैयाँभन्दा बढी खर्च गरेको उनले दाबी गरे।थाहाखबरबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय