फिक्कल,कोरोना संक्रमितको संख्या बढ्दै गएपछि इलामको सुर्योदय नगरपालिकाले टोलस्तरमा नगरबासीको कोरोना परिक्षणलाई अघि बढाएको छ । संक्रमण फैलन नदिन लक्षण देखिएका र दैनिक अत्यावश्यक सेवामा घरबाहिर निस्कने नगरबासीको स्वाब संकलन गरि कोरोना परिक्षण गरिँदै आएको हो । नगरले हालसम्म ३ सय ८७ जनामा एन्टिजेन परिक्षण गर्दा ४५ जनामा संक्रमण देखिएको छ ।
एन्टिजेन परिक्षणबाट पोजेटिभ देखिएका व्यक्तिको स्वास्थ्य अवस्था अनुसार उपचार गरिँदै आएको सूर्योदय नगरपालिका अर्थ समिति संयोजक देबेन्द्र आर्चायले बताए । १४ वटा वडा रहेको नगरपालिका भित्रको टोलटोलमा स्वास्थ्यकर्मीहरुको टोली पुगेर एन्टिजेन मार्फत परिक्षण गर्दै आएका छन् । भारतसँग सीमा जोडिएको नगरपालिका भित्र कोरोना रोगको उच्च जोखिम रहेकाले दैनिक रुपमा स्वाब संकलन गरि परिक्षण गरिँदै आएको हो ।
करुणा फाउन्डेसनको सहयोगमा प्राप्त भएको किट र केही आफै खरिद गरेर जोखिम क्षेत्रमा परेको नगरबासीहरुको कोरोना परिक्षण गरिदै आएको नगर प्रमुख रणबहादुर राईले बताए । करुणाले नगरलाई ३ सय थान एन्टिजेन किट र २ हजार थान ग्लोब्स उपलब्ध गराएको थियो । नेपाल भारत सिमा क्षेत्र पशुपतिनगर स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पनि आवश्यकताको आधारमा निशुल्क एन्टिजेनबाट कोरोना परिक्षण हुँदै आएको छ ।
नगरले दैनिक जसो जोखिममा रहेका व्यवसायी, यातायात मजदुर, चिया श्रमिक र कोभिड संक्रमितहरुसंग कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको परिक्षण गर्दै आएको राईले बताए । हालसम्म सूर्योदय नगरपालिका क्षेत्रमा पिसिआर परिक्षणबाट ६७ जनामा संक्रमण देखिएकोमा ६ जना संक्रमणमुक्त भइसकेका छन् । ३ जनाको संक्रमणबाट मृत्यु भएको छ ।
एन्टिजेनबाट तत्काल रिर्पोट प्राप्त हुने भएकाले टेस्टमा समेत उल्लेख्य मात्रामा स्थानीयको सहभागिता रहेको छ । सूर्योदय नगरपालिकाले संक्रिमितको लक्षणका आधारमा उपचारको सेवा प्रदान गर्दै आएको छ । कोरोना संक्रमण पुष्टि भएपनि स्वास्थ्य अवस्था सामान्य भएकाहरुलाई होम आइसुलेसनमा राखि उपचार गरिँदै आएको जनस्वास्थ्य निरिक्षक बिपुल अधिकारीले बताए । अक्सिजन मार्फत उपचार गर्नुपर्ने बिरामीहरुका लागि सूर्योदय नगरपालिकाले पशुपतिनगरको प्राथमिक स्वास्थ्य केन्द्रमा १० शैयाको अस्थायी कोभिड अस्पताल संचालनमा ल्याइएको छ ।
९७ परिक्षणमा १९ संक्रमित
नगरपालिकाले सोमबार विभिन्न क्षेत्रमा ९७ जनामा गरेको एन्टिजेन परिक्षणबाट १९ जनामा संक्रमण देखिएको छ । वडा नं ३ मा कोरोना संक्रमणबाट गएराती मृत्यु भएकी महिलाको परिवार र ट्रेसिङमा परेको १७ जनामा गरिएको परिक्षणमा परिवारका ८ सहित ९ जनामा संक्रमण देखिएको छ । नेपाल भारत सिमा नाका छब्बीसे–मेचीबजार–सल्लेरी क्षेत्रमा ३० जनामा गरिएको परिक्षणमा कसैमा पनि संक्रमण नपाइएको नगर प्रमुख रणबहादुर राईले बताए । वडा नं ५ को शान्तिबजार क्षेत्रमा ५० जनामा गरिएको परिक्षणमा १० जनामा संक्रमण देखिएको छ । यसअघि नगरपालिकाले भारतसंगै सिमा जोडिएको मानेभञ्ज्याङमा समेत परिक्षणको गरेको थियो । नगरले जेठ १२ गते पशुपतिनगर प्राथमिक स्वास्थ्य केन्द्रमा अन्तरपालिका र अन्तर जिल्ला संचालन हुने सवारीसाधनको चालकहरुको परिक्षण गर्नेछ । नगरले निर्माण सामाग्री ढुवानी, सागसब्जी ढुवानी, खाध्यान्न ढुवानी गर्ने सवारी चालकहरुको परिक्षण गरिनेछ ।
कोभिड परिक्षण नगर्ने सवारीचालकहरुलाई यातायात संचालनको पास उपलब्ध नहुने नगर प्रमुख राईले बताए । परिक्षणपछि आएको नतिजाको प्रमाणपत्र स्वास्थ्य शाखाबाट लिने व्यवस्था मिलाएको जनाइएको छ । वडा नं ३ मा लक्षण देखिएका व्यक्तिहरुले जेठ १२ गते पशुपतिनगर स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न अनुरोध गरिएको छ । वडा नं ११ का व्यक्तिहरुले नगरमा सम्पर्क गर्न अनुरोध गरिएको छ । स्थानिय सन्देश