प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्षबीच भेट

द्वारा प्रकाशित गरिएको हो |
२०७८ भाद्र २५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवा र एमसीसी उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ । आज बेलुका बालुवाटार पुगेर सुमारले प्रधानमन्त्री देउवासँग भेट गर्नुभएको हो ।

भेटमा एमसीसी कम्प्याक्ट र नेपालको आर्थिक रूपान्तरणका सम्भावनासहित नेपाल र अमेरिकाबीचको सहयोगबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि आज बिहान सुमारले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ऊर्जा मन्त्री पम्फा भुसालसँग भेट गर्नुभएको थियो । भेटमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमति जुटाएर मात्र एमसीसी सम्झौता पास गर्नुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताउनुभएको छ ।

एमसीसी उपाध्यक्ष फातिमा सुमारसँग आज बिहान आफ्नै निवासमा भएको भेटमा प्रचण्डले एमसीसी नेपालमा राष्ट्रिय बहसको विषय बनिसकेकाले राष्ट्रिय सहमति बनाएर मात्रै यसलाई पारित गर्नुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताउनुभएको हो । आफूहरूको पाँच दलीय गठबन्धनको बीचमा पनि साझा धारणा बनाएर मात्रै यसलाई अगाडि बढाउने पक्षमा रहेको उहाँको भनाइ थियो ।

भेटमा उपाध्यक्ष सुमारले नेपालका राजनीतिक दलका बीचमा साझा सहमतिका आधारमा आयोजना अगाडि बढोस् भन्ने आफूहरूको चाहना रहेको उल्लेख गर्नुभयो । उहाँले आफूहरू कुनै पनि दबाब दिने उद्देश्यले नआएकाले यो नियमित भ्रमण भएको बताउनुभएको थियो । माओवादी केन्द्रभित्र एमसीसी पारित गर्नै नहुने र संशोधन गरेर पारित गर्नुपर्ने दुई थरी विचार छ ।

यसैबीच ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल र एमसीसी उपाध्यक्ष फातिमा सुमारबीच पनि आजै सिंहदरबारमा भेट भएको छ । भेटमा एमसीसी सम्झौता कार्यान्वयनका लागि सहयोग गरिदिन उपाध्यक्ष फातिमाले मन्त्री भुसालसँग आग्रह गर्नुभएको थियो ।

जवाफमा मन्त्री भुसालले नेपाल–अमेरिकाबीच रहिआएको आपसी सम्बन्ध दरिलो रहेको उल्लेख गर्दै एमसीसीका सन्दर्भमा राजनीतिक सहमति र नागरिकको चाहनाअनुसार नै निष्कर्षमा पुगिने बताउनुभयो । उज्यालोअनलाईनबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय