
नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा चितवनमा आजबाट सुरु भएको छ। नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालबिनाको पहिलो महाधिवेशन गर्दैछ ।
अध्यक्ष केपी शर्मा ओलीसँगको आन्तरिक टकरावको कारणले माधव नेपाल र झलनाथ खनाल समूहले पार्टीबाट विद्रोह गरे। अहिले नेपालले एकीकृत समाजवादी पार्टी गठन गरेर अघि बढिरहेका छन्।



लामो समय एमालेको नेतृत्व सम्हालेको नेता नेपाल र खनालबिना महाधिवेशन गदैछ। एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गरेको भए पनि अन्य शीर्ष नेताहरूलाई बोलाउँदा माधव नेपाललाई उद्घाटन सत्रमा बोलाइएको छैन।
यस्तै, कार्यक्रममा एमाले उपाध्यक्षबाट राजीनामा गरेर बसेका वामदेव गौतम पनि एमालेमा छैनन्। ओलीसँगै अन्तरविरोधको कारणले एमालेका शिर्ष नेताहरुले पार्टी छाडेका छन्।
अहिले साविक नेकपासँगको पार्टी एकतापछि भंग भएपछि पूर्वमाओवादी केन्द्रका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट लगायतका नेताहरु एमालेमा रहेका छन्।
तर, कार्यक्रम सञ्चालन गरिरहेका एमाले सचिव प्रदिप ज्ञवालीले पार्टीबाट केही मान्छे बाहिरिएर कुनै असर नभएको जिकिर गरे।
उनले भने, ‘देश र जनताको पक्षमा काम गर्ने पार्टी एमाले नै हो भन्ने यहाँको मावलले प्रष्ट भइसकेको छ। त्यसैले पार्टीबाट केही मान्छे बाहिरिएर असर गरेको छैन। पहिलो ठूलो राजनीतिक दल नेकपा एमाले नै हो।’
एमाले महाधिवेशनमा प्रधानमन्त्रीको सम्बोधनः संवाद र सहकार्यमा जोड
प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मूल मुद्दामा सबै दलहरुबीच संवाद र सहकार्य आवश्यक पर्ने बताएका छन् ।
शुक्रबार नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले दलहरुबीचको विमतिलाई संविधानले निर्धारण गरेको विधिबाट टुंगो लगाउनुपर्ने पनि बताएका छन् ।
‘देश र जनतासँग जोडिएका मूल मुद्दामा दलहरुबीच संवाद सहकार्य आवश्यक छ’ उनले भने, ‘हामीबीच रहेका नीतिगत विमतिलाई संविधानले निर्धारण गरेको विधिमार्फत टुंगो लगाउने र त्यसलाई सबैले स्वीकार गर्नुपर्दछ ।’
प्रधानमन्त्री देउवाले मुलुकमा देखिएका सबै समस्याको संवाद, छलफल र संविधानमार्फत समाधान निकाल्ने आफ्नो चाहना भएको पनि बताए ।
सबै दल मिलेर नयाँ संविधान ल्याएको भन्दै प्रधानमन्त्री देउवाले यसलाई बलियो बनाउने जिम्मेवारी पनि सबै राजनीतिक दलको भएको बताएका छन् । संविधान कार्यान्वयन र लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न एमालेले जिम्मेदार भएर भूमिका खेल्नुपर्ने पनि उनले बताए ।
प्रधानमन्त्री देउवाले कानुनी शासन र व्यक्तिगत स्वतन्त्रता सुनिश्चित गर्दै देशलाई समृद्ध बनाउने नै सबै दलको लक्ष्य भएको पनि बताए ।