विद्यार्थीले जलाए महेन्द्र बहुमुखी क्याम्पस प्रमुखको कुर्सी

द्वारा प्रकाशित गरिएको हो |
२०७८ मंसिर २१, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

महेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सीमा आगजनी गरेका छन्। सोमबार दिउँसो सुनसरीको धरानस्थित उक्त क्याम्पसका विद्यार्थीको समूहले क्याम्पसको जग्गा संरक्षणमा बेवास्ता गरेको आरोप लगाउँदै क्याम्पस प्रमुख दामोदर भण्डारीको कक्षमा रहेको टेबलकुर्सीमा आगजनी गरेका हुन्।

संयुक्त विद्यार्थी संगठनले धरान–११ स्थित क्याम्पसले भोगचलन गर्दै आएको करिब १७ कट्ठा १८ धुर जग्गा मोही हकको बहानामा भूमाफियाले हत्याउन खोजेको भन्दै आन्दोलन गरेका हुन्।

क्याम्पस प्रमुख भण्डारीले क्याम्पसको मातहतमा रहेको जग्गा संरक्षण गर्न बेवास्ता गरेको आरोप विद्यार्थीहरुले लगाउँदै आएका छन्। लामो समयदेखि क्याम्पसले भोगचलन गर्दै आएको सो जग्गाको स्रेस्तामा मोही डम्बरबहादुर घिमिरेको नाम रहेको छ। उनको मृत्यु भइसकेको र पछिल्लो ३ वर्षदेखि घिमिरेका छोरा यज्ञबहादुर क्षेत्रीले मोही हकको नामसारी गराएका थिए।

इनरुवास्थित भूमिसुधार कार्यालयमा निवेदन दिएपछि क्याम्पसले मोही लगत कट्टाको निवेदन दिएको थियो। यसक्रममा गएको असोज २५ गते भूमिसुधारले यज्ञको नाममा जग्गा नामसारी गर्ने निर्णय गरेको थियो। कानुनअनुसार मोही हकमा यज्ञले सो जग्गाको आधा क्षेत्रफल पाउनेछन्।

करोडौँ रकम पर्ने सो जगामा मोही हक दिलाउन यतिबेला जग्गाका भूमाफियाहरुले चलखेल गरिरहेको विद्यार्थीहरुको आरोप छ। सो जग्गा संरक्षण गर्न क्यासम्प प्रमुख भण्डारीले तदारुकता नदेखाएको स्ववियुका पूर्वसभापति सागर चेम्जोङले बताए। उनका अनुसार क्याम्पस प्रशासनको फितलो कामकारबाहीले क्याम्पसको करोडौँ मूल्य पर्ने जग्गा गुम्ने अवस्था देखिएको हो।

क्याम्पस प्रशासनले जग्गाको विषयमा ११ पटक तारेख धाएको र कम्तीमा ३ पटक मुद्दाको पेशी चढ्दा पनि बहसका लागि वकिलको व्यवस्था नगरेको हुँदा शंकाको धेरै ठाउँ देखिएको चेम्जोङको भनाइ छ।

क्याम्पस प्रमुखको कुर्सी आगजनी गरेसँगै जग्गाको विषयलाई लिएर मंगलबार क्याम्पस परिसरमा सर्वपक्षीय भेला राखिएको उनले बताए। देशसञ्चारबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय