
फिक्कलःसर्वोच्च शिखर सगरमाथा आरोहणका लागी सहयोग जुटाउन सूर्योदय महिला मञ्चले पत्रकार सम्मेलन गरेको छ । इलाम सूर्योदय नगरपालिका–१० की युवन्तिका तामाङले सगरमाथा आरोहण गर्ने तिव्र तयारी भईरहेका बेला आर्थिक सहयोग संकलनमा प्रचारप्रसार बढाउन पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो । सगरमाथा आरोहण गर्दा ५० लाख खर्च हुने भएपछि सूर्योदय महिला मञ्चको पहलमा सहयोग संकलन शुरु भएको छ । इलामका १० वटै स्थानीय तहसहित विभिन्न सामाजिक संघ संस्थामा सहयोग जुटाउने काम भैरहेको छ । इलामको सूर्योदय र इलाम नगरपालिकाले दुई,दुई लाख रुपियाँ सहयोग गर्ने भएका छन् । सूर्योदय नगरपालिकाले उन्को अवस्था हेरी थप सहयोग गर्ने नगर उपप्रमुख दुर्गादेबी भट्टराईले जानकारी दिईन् । विभिन्न साहसिक खेल र बाइक राइडिङकी सौखिन २८ वर्षीया युवन्तिकाले वैशाख महिनामा सगरमाथा आरोहण गर्ने भएकि हुन् ।
इलाइट हिमालय एक्सपीट ट्रेकमार्फत आरोहण अभ्यास गरिरहेकी उन्ले केही समय अघि मात्र सगरमाथाको लोबुचे पिकसम्मको छ हजार ११९ मिटरको उचाइको आरोहण गरिसकेकी छन् । कृषि पेशामा आवद्ध प्रकाश तामाङ र मधु तामाङकी एक्ली छोरी युवन्तिका वाइक राइडिङमा छिन् ।



सूर्योदय महिला मञ्चकी सदस्य समेत रहेकी युवन्तिका भन्छिन्, ‘जिल्लाबाट पहिलो महिला आरोही बनेर सगरमाथाको शिखरमा पुगेर राष्ट्रिय झन्डा फहराउने अठोट लिएको छु । सगरमाथा आरोहण गरेर यस क्षेत्रको पर्यटन प्रवर्धनमै काम गर्नेछु’ । ५० लाखमा ३५ लाख अन्य क्षेत्रबाट उठाएर १५ लाख रुपियाँ आफैँ लगानी गर्ने योजना रहेको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
सूर्योदय १० का युवा अभियान्ता युवराज प्रधानले जिल्लाबाटै पहिलो पटक सगरमाथा आरोहणको तयारी गरिरहेकी तामाङलाई सबैले सहयोग गर्ने बताए । उनी भन्छन्, तामाङले सगरमाथाको चुचुरो टेकेका दिन इलामको इज्जत बढ्ने छ ।’ तामाङ अबको केही दिनमै सगरमाथा चढ्नका लागि तीन महिने तालिममा जाँदै छिन् ।
सूर्योदय महिला मञ्चकी अध्यक्ष अमृता राईको अध्यक्षता एवं जिल्ला समन्वय समिति उपप्रमुख चित्रकला बराईलीको प्रमुख आतिथ्यता रहेको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ इलामका सहसचिव प्रेम अधिकारी सहितका पत्रकारको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बराईलीले इलामको सान,मान र प्रतिष्ठा बढाउन पनि युवन्तिकाको साहासलाई सफल बनाउन सबै पक्ष लाग्नुपर्ने बताईन् । सफलताका लागी चुनौती थुप्रै भएपनि क्षमता र आत्मबल नगिराउन भन्दै इलामले नयाँ इतिहास रच्नेमा आफु ढुक्क रहेको बताएकी छन् । कार्यक्रमकी अध्यक्ष अमृता राईले महिलाको आँटलाई सफल बनाएर इलामको पहिचान बढाउन आफुहरु सहयोगी बनेको बताएकी छन् ।