पशुपतिनगर भन्सार कार्यालयले मनायो भन्सार दिवस , राजश्व चुहावट रोक्नु पर्नेमा जोड

द्वारा प्रकाशित गरिएको हो |
२०७८ माघ १३, ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

फिक्कलःइलामको पशुपतिनगरमा रहेको पशुपतिनगर भन्सार कार्यालयले ७० औं अन्तराष्ट्रिय भन्सार दिवस मनाएको छ । बुधबार कार्यालयले ७० औं भन्सार दिवसको अवसरमा बिभिन्न कार्यक्रम गर्दै मनाएको हो । कार्यालयले आफनो अर्धबार्षिक प्रगति सार्वजनिक गर्दै समिक्षा कार्यक्रम समेत गरेको छ ।भन्सार कार्यालय प्रमुख डिल्लु प्रसाद शर्माको अध्यक्षता तथा इलामका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा भन्सार कार्यालयको अवसथा, समस्या, सुधार गर्नु पर्ने पक्षका बिषयमा छलफल समेत भएको थियो ।
कार्यक्रममा इलामका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगानाले भन्सार असुली बृद्धि गर्नका लागि सीमाबाट हुँने राजश्व चुहावट रोक्नु पर्नेमा जोड दिनु भयो । उहाले सीमानामा खटीएका सुरक्षाकर्मीले राजश्व चुहावट रोक्न भन्सार संग समन्वय गरेर काम गर्नु पर्ने बताउनु भयो । प्रजिअ ढुंगानाले भन्नु भयो‘ भनसर असुली बढ्यो भने राज्यको आर्थिक अवस्था बलियो भएर देश बिकास हुँने हो, त्यसमा सबै लाग्नु पर्छ ।’
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले मुलुकको समृद्धिका लागि भन्सार कार्यालयका गतिविधिलाई दर्बिलो बनाउनु पर्ने बताउनु भयो । शसस्त्र प्रहरी बल इलामका शसस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले सीमानामा सुरक्षा ब्यवस्था अझ मजबुद बनाउनु पर्ने बताउनु भयो । उहाले राजश्व चुहावट रोक्न शसस्त्र प्रहरीको मुख्य भूमिका भएकाले संगठनको नियम अनुसार सीमानामा खटीने सुरक्षाकर्मीले काम गर्नु पर्ने बताउनु भयो । भारतीय कष्टमका बिकास कुमारले सीमा नाकामा दुई देश बिच समन्वय गरेर आफुहरु अगाडी बढन तयार रहेको बताउनु भयो ।

राजश्व असुलीमा कोरोनाको असर
कार्यक्रममा कार्यालय प्रमुख डिल्लु प्रसाद शर्माले कोरोना महामारीका कारण आर्थिक मन्दी हुँदा लक्ष्य अनुसारको राजश्व संकलन गर्न नसकिएको बताउनु भयो । उहाले कोरोना महामारीका कारण ब्यवसायीले खुलेर ब्यवसाय गर्न नसक्दा त्यसको असर भन्सारको राजश्व असुलीमा परेको बताउनु भयो ।
कार्यालय प्रमुख शर्माका अनुासर चालु आर्थिक बर्षमा पशुपतिनगर भन्सारको भन्सार असुली लक्ष्य २ करोड ५३ लाख ४० हजार भए पनि चालु आवको ६ महिना९पुष मसान्त० मा १५ लाख ८३ हजार रुपियाँ मात्र राजश्व असुली भएको बताउनु भयो । प्रतिशतको आधारमा उक्त राजश्व असुली १६ दशमलब ५७ प्रतिशत मात्र हो । गत आर्थिक बर्ष १ करोड ८९ लाख लक्ष्य राखेको भन्सारले १ करोड २ हजार रुपियाँ भन्सार असुल गरेको थियो । गत बर्षको तुलनामा चालु आर्थिक बर्ष भन्सार असुली अति न्यून रहेको कार्यालय प्रमुख शर्माको भनाई छ ।

निकासी पैठारीमा समस्या
नेपालमा भन्सार कार्यालय भए पनि भारत तर्फ इन्यिन कष्टम नहुँदा इलाममा उत्पादित कृषिजन्य बस्तु पशुपनिगरबाट पठाउन नसक्दा समस्या हुँदै आएको छ र भारतको शुकीयामा रहेको छोटी भन्सारले बील जारी नगर्ने भएका कारण उक्त नाकाबाट निकासी हुँनु पर्ने कृषिजन्य बस्तु झापा काकडभिट्टा नाका भएर निर्यात गरीदै आएको छ । भारत तर्फ कष्टम र अध्यागमन कार्यालय स्थापना गर्न स्थानीय ब्यवसायीले माग गर्दै आएका छन् ।भारतमा इन्डियन कष्टम र अन्यागमन कार्यालय नहुँदा सीमा पारीबाट ठूलो परिमाणमा आयात हुँने बस्तु समेत उक्त नाका भएर आयात हुँन सकेको छैन ।

स्थापना भएनन छोटी भन्सार
इलामको पशुपतिनगरमा मुख्य भन्सार सहित जिल्लाका बिभिन्न स्थानमा ८ वटा छोटी भन्सार रहेकोमा हाल ३ वटा मात्र संचालनमा रहेका छन । तत्कालिन माओवादी द्धन्दको समयमा बिस्थापित भएका छोटी भन्सार हाल सम्म स्थापना हुँन नसकेका हुँन ।

कार्यालयमा समस्या
डिजिटल प्रविधि मार्फत सेवा चुस्त भन्ने नाराका साथ भन्सार दिवस मनाई रहदा पशुपतिनगर भन्सार कार्यालय हाल सम्म डिजिटल प्रविधिमा जान सकेको छैन् । कार्यालय कर्मचारी अभावले समेत जकडिएको छ । २० जना कर्मचारीको दरबन्दी रहेको पशुपतिनगर भन्सारमा हाल ४ जना कर्मचारीले काम गरीरहेको कार्यालयले जनाएको छ ।

४ जना सम्मानीत

भन्सार दिवसको अवसरमा इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देउप्रसाद लिम्बु, शसस्त्र प्रहरी बल बीओपी पशुपतिनगरका प्रहरी निरीक्षक डिगेन्द्र ओली, भन्सार कार्यालयका लेखापाल लक्षुमन गिरी र भन्सारका सवारी चालक रणबहादुर खत्रीलाई कदर पत्र सहित सम्मान गरिएको थियो ।भन्सार असुलीमा सहयोग गर्ने र उत्कृष्ठ काम गर्ने कर्मचारीलाई सम्माम गरिएको कार्यालय जनाएको छ ।

कोभिड नियन्त्रण्मा दुबै देश जुटनेबारे छलफल
उक्त अवसरमा प्रजिअ ढुंगाना, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठ, शसस्त्र प्रहरी प्रमुख सुरेश सापकोटा लगायतको टोलीले सीमा क्षेत्रको अवलोकन गरी भारतीय सीमा सुरक्षाबलका अधिकारी संग अनौपचारीक छलफल समेत गरेको थियो ।उक्त अवसरमा कोभिड नियन्त्रणमा दुई देशले खुल्नु पर्ने भूमीका र तयारीका बारेमा समेत दुई पक्षिय छलफल भएको थियो ।

from abconline

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय