गठबन्धन जोगाउन एमसिसी शर्तः कांग्रेसमा दुई धार

द्वारा प्रकाशित गरिएको हो |
२०७८ माघ १६, ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

काठमाडौंः पाँच दलीय सत्ता गठबन्धनको बैठक चलिरहेको बेलामा नेकपा ९माओवादी केन्द्र०का केन्द्रीय सदस्य युवराज दुलाल ‘शरद’ले प्रधानमन्त्री तथा शेरबहादुर देउवाले गठबन्धन कायम राख्न अमेरिकी परियोजना एमसिसी अघि सारेको संकेत गरे।

उनले शनिबार दिउँसो फेसबुकमा लेखेका थिए, ‘यदि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्रीले एमसिसी टेबुल गरे मात्र स्थानीय तहको चुनाव समयमै गर्ने शर्त राख्‍नुभएको हो भने यो सम्पूर्ण रूपमा गलत छ। अहिलेको राष्ट्रिय सवाल स्थानीय तहको चुनाव हो एमसिसी होइन।’

उनले संसदबाट एमसिसी फेल गर्ने सहमतिबाहेक अरू अवस्थामा टेबल गर्नु आत्मघाती हुने उल्लेख गरेका थिए। तर, उनको भनाइअनुसार प्रधानमन्त्री देउवाले पाँच दलीय सत्ता गठबन्धनको बैठकका पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनको लागि एमसिसी संसदबाट अगाडि बढाउनुपर्ने शर्त तेर्स्याए।

गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा बिना संशोधन एमसिसी अगाडि लान नहुने पक्षमा छन्। तर, देउवा प्रतिनिधिसभाको यही अधिवेशनबाट एमसिसी संसदबाट पास गराउने पक्षमा छन्।

एमसिसीबारे मतभेद भइरहेको बेलामा गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले फेब्रुअरी १ सम्ममा एमसिसी पास नगरेर अमेरिकाले फिर्ता लैजाने चेतावनी दिएको जानकारी गराएका थिए।

तर, त्यसमा गठबन्धनका शीर्ष नेताले सहमति जनाएका छैनन्। प्रधानमन्त्री देउवाले एमसिसी यही अधिवेशनबाट अगाडि सार्ने मनस्थिति बनाइरहेका बेला सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक समेत १० दिन पर धकेलिदिएका छन्।

आजको लागि तय भएको बैठक कोरोनाको सम्भावित जोखिमलाई देखाउँदै सभामुखले आगामी माघ २६ गतेका लागि स्थगित गरिदिए। माघ २६ गतेसम्म पुग्दा अमेरिकाले नेपालले एमसिसी पास गर्न दिएको समय सकिनेछ।

त्यसो त गठबन्धनको तर्फबाट एमसिसी अध्ययन कार्यदलका संयोजकसमेत रहेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल फेब्रुअरी १ पछाडि पनि अमेरिकाले एमसिसी फिर्ता लान्छ जस्तो नलागेको बताउँछन्।

उनले भने, ‘फेब्रुअरी १ सम्म एमसिसी पास नगरे फिर्ता लान्छ भन्ने हल्ला आएको छ। अमेरिकाले कुनै मिति तोकेर फिर्ता लान्छ भन्ने लाग्दैन। यसअघि पनि धेरैपटक यस्तो मिति तोकेको हो।’

उनले गठबन्धनको तर्फबाट एमसिसीबारे अध्ययन गरेर प्रधानमन्त्रीलाई सुझाव दिइसकेको बताए। उनले भने, ‘हामीले अध्ययनपछि प्रधानमन्त्रीलाई सुझाव दिइसकेका छौँ। एमसिसी संशोधनबिना अगाडि बढाउन हुँदैन भन्ने हाम्रो अडान यथावत नै छ।’

उनले शनिबारको गठबन्धनमा स्थानीय तहको निर्वाचनबारे संविधान र ऐन बाझिएको विषयमा छलफल केन्द्रित भएको समेत बताए। बैठकले जेठभित्रमा निर्वाचन गर्ने, निर्वाचनलाई संविधानबमोजिम बनाउन संशोधन गर्ने र निर्वाचन आयोगसँग परामर्श गरेर सरकारले निर्वाचनको मिति तय गर्ने सहमति बनेको समेत बताए।

उनले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै राख्ने दाबी गरे। एमसिसीको विषयलाई देखाएर गठबन्धन टुक्र्याउने षड्यन्त्र भइरहे पनि सफल हुन नदिने बताए।

कांग्रेसमा दुई धार

त्यसो त गठबन्धनको विषयलाई लिएर कांग्रेसमा दुई धार देखिएको छ। प्रधानमन्त्री देउवा एमसिसी पास गरेर गठबन्धनलाई कायमै राख्‍ने पक्षमा भए पनि संस्थापनइतर समूह स्थानीय तहको निर्वाचनसम्म गठबन्धन कायम राख्‍न नहुने पक्षमा छन्।

स्रोतका अनुसार प्रधानमन्त्री देउवाले गठबन्धन कायम राख्‍नका लागि एमसिसी अघि सारेका छन्। तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अहिले एमसिसी अगाडि नल्याउने पक्षमा छन्। पार्टी विभाजनको बेलामा प्रचण्ड–माधव गठबन्धन टुटाएर निर्वाचनमा जान चाहँदैनन्।

गठबन्धन कायम राख्‍ने प्रतिबद्धताको दाबी

शनिबार मात्रै समाजवादीका अध्यक्ष नेपालले कांग्रेस सभापतिसहित शीर्ष नेताहरूले आगामी निर्वाचनसम्म गठबन्धन कायम राख्‍ने प्रतिबद्धता जनाइसकेको बताएका थिए। प्रचण्ड(माधवलाई चेपुवामा पारेर देउवाले एमसिसीको दबाब बढाउन थालेका छन्।

राष्ट्रियताको सवालमा सचेत

यता, प्रधानमन्त्री देउवाको गठबन्धन कायम राख्‍नका लागि एमसिसीमा सहयोग गर्नुपर्ने प्रस्तावलाई नयाँ ठान्दैनन् राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी।

उनी भन्छन्, ‘कांग्रेसले त गठबन्धनमा एमसिसीको नारा जहिल्यै उठाइरहेको छ। तर, गठबन्धनमा सामेल भए पनि राष्ट्रिय जनमोर्चा, माओवादी, एकीकृत समाजवादीले बिना संशोधन एमसिसी अगाडि बढाउनु हुँदैन भन्ने पक्षमा छन्।’

केपी ओलीले अहिलेसम्मको उपलब्धिलाई नै ध्वस्त पार्ने बाटोमा लागेको भएकाले गठबन्धन गरेको उल्लेख गर्दै राष्ट्रियताको सवालमा आफूहरू सचेत रहेको केसीले बताए।

‘प्रतिगमनलाई पराजित गर्नको लागि मात्रै हामी गठबन्धनमा सामेत भएका हौँ। एमसिसी अगाडि बढाउन, भारतले सीमा आफूखुसी सडक बनाउँदासमेत मौन बस्ने कुरामा हामी मौन बस्नै सक्दैनौँ नि’ उनले भने।

आगामी निर्वाचनमा गठबन्धनलाई कामय राख्‍न पाए उपयुक्त हुने उनको भनाइ छ। ‘गठबन्धनलाई हामीले कायम राख्‍न पाए प्रतिगमन पराजित हुने राष्ट्रियसभाको निर्वाचन प्रमाणित गरिसक्यो। तर, पनि राष्ट्रियताको सवालमा गठबन्धन भनेर सबै कुरामा साथ दिन सक्दैनौँ’ उनले भने।

यसअघि पनि एमसिसीमा गठबन्धनमा कुरा नमिल्ने संकेत देखिएपछि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सहयोग मागेका थिए। तर, ओलीले एमसिसी अगाडि बढाउन गठबन्धन तोड्नुपर्ने शर्त राखेका थिए।

तर, निर्वाचनको मुखमा प्रधानमन्त्री देउवा गठबन्धनले पक्षमा पनि भएकाले देउवा दोहोर चेपुवामा परेका छन्। थाहाखबरबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय