इलामः सांगितिक क्षेत्रबाट भविष्य खोज्दै गरेका इलामका प्रबिन बिसीले आफ्नो २४ औँ जन्मदिन वृद्धाश्रममा मनाएका छन् । जन्मदिनमा साथिभाई भेलाभएर रमाईलो गर्नु,केक काट्नु तथा पार्टी दिनु सामान्य जस्तै बनेको छ । तर पछिल्लो समय भड्किलो तरिकाले खर्चिलो जन्मदिन मनाउने र अस्वस्थ प्रतिष्पर्धा गर्ने प्रवृत्ति मौलाईरहेका बेला गायक बिसीले आफ्नो जन्मदिन वृद्धाश्रममा मनाए । सन्तानको ब्यस्तता,अपहेलनाजस्ता कारणले साहारा खोज्दै वृद्धाश्रममा जिवन विताईरहेका वृद्धवृद्धासंग भेटगाट गरि उनले आशिर्वाद लिईएका छन् । इलामको माई भगवति वृद्धाश्रममा रहेका १५ जना ज्येष्टनागरिकलाई चाउचाउ,बिस्कुट,साबुन,जुस जस्ता सामाग्री वितरण गर्दै खादा ओढाएर सम्मान गरेका हुन । आफ्नी आमा दुर्गामाया बिस्वकर्मा,दाजुभाउजु विशाल र विमला र भतिज रिदमलाई साथमा लिएर आश्रम पुगेका बिसीको सामाजिक भावनालाई कदर गर्दै छिमेकी दिलमाया,भुवन र अनु परियारले समेत सहयोग गरेका थिए । आफुहरुलाई सम्झिएर सहयोग गर्न आएकोमा खुशि ब्यक्त गर्दै सम्मानित वृद्धवृद्धाहरुले बिसीलाई उज्जल भविष्य र सफलताको शुभकामना दिईएका छन् ।
को हुन् प्रबिन बिसी?



सूर्योदय नगरपालिका वडा नं १३ लक्ष्मिपुर निवासी प्रविन बिसी सांगितिक क्षेत्रमा उदाउँदै गरेका नव–प्रतिभा हुन् । इलामबाट थुप्रै कलाकार,साहित्यकार, र नेता जन्मिएका छन् ।त्यसैकारण इलाम श्रष्ठा जन्माउने थलोका रुपमा पनि चिनिन्छ । यस ठाउँबाट उदाएका थुप्रै कलाकारहरुले आफुलाई स्थापित गरिसकेका छन् । यसैबिच गित संगितको माध्यमबाट भविष्य खोज्दै गरेका प्रबिन पनि ब्यवसायिक बन्ने दौडानमा छन् ।
बाल्यकालबाट नै संगितमा औधि रुची राख्ने उनी गायनमा मात्र नभई शब्द रचना गर्न र संगित भर्न समेत उत्तिकै अब्बल छन् । हालसम्म उनले आफनै शब्द संगित र आवाजमा ४ वटा सहित जम्मा आठवटा गित गाएका छन् भने २ वटा म्युजिक भिडियो समेत बजारमा ल्याएका छन् ।
उनी यतिबेला नयाँ गित बजारमा ल्याउने तयारीमा छन् । चर्चित गायिका अस्मिता अधिकारी को समेत आवाज रहेको “रसबरी के गुलियो,तिम्रो माया झनै गुलियो” बोलको गित चाँडै सार्वजनिक गर्ने तयारीमा रहेको बिसीले बताए । उक्त गितमा बिसीले नै शब्द संगित र आवाज दिईएका छन् । गति रेकर्ड सकिएपनि म्युजिक भिढियो निर्माणको तयारी भईरहेको छ ।
बाल्यकालबाट नै गायक बन्ने सपना
संगितबाट नै भबिष्य खोज्दै गरेका बिसीको ब्यवसायिक सांगितीक यात्रा भने पुर्वाञ्चल गट ट्यालेन्टबाट आरम्भ भएको थियो । टिन्सक्रियु डान्स सेन्टर धनकुटाद्धारा आयोजित पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ३ को उपाधि चुमेसैगै उनमा ब्यवसायिक संगितप्रति मोह थपियो ।
“भुल्न गारो भो” बोलको गितबाट डेब्यु गरेका उनले रियालिटी सोको बिजेता बनेसंगै एकपछि अर्को गित सार्वजनिक गर्दै आए । सम्भावना भएरै पनि अनेकन प्रतिभा ओझेलिएका बेला बिसीको चर्चा भने क्रमश चुलिदै गयो ।
संघर्षबाट नै सफलता पाईन्छ भन्ने मान्यता बोकेका उनी भन्छन्,“सामान्य गित गुनगनाउन शुरु गरेको त्यो दिनलाई संझदा आज नि रोचक लाग्छ । म लगभग ११ १२ बर्षको थिएँ होला । एउटा यस्तो ब्यक्तीसंग मेरो चिनजान भयो की उस्ले मलाई गायक बन्ने सपना देखाएर १० हजार रुपैया नगद माग्यो । मैले आफुसंग भएको १५ सय दिएर बाँकी पछि दिने बताए तर उक्त ब्यक्ति फरार बन्यो । त्यो घटनाले पनि मलाई थप संघर्षशील हुने बाटो देखायो । विद्यार्थी जिवनबाट नै जसरी हुन्छ गायक बन्ने सपना थियो । साथीभाईको अगाडि गित गाएर सुनाउँदा सबैले राम्रो प्रतिकृया दिन्थे त्यसैले पनि थप ऊर्जा मिल्दै गयो । गायन संगसंगै बाध्यबाधन बजाउने मन आयो । घरबाट पैसा माघेरै १८ हजारमा हारमोनियम खरिद गरेर बजाउँदै गाउँन थालियो । हारमोनियम बजाउन भने मेरा बुबा कृष्ण बिसीले मलाई सिकाउनुभएको थियो । मेरो परिवार नै संगितप्रेमि भएकाले मलाई यशक्षेत्रमा लाग्न धेरै सहज बनेको हो ।”
गायक जगदिश समाललाई आईडल मान्ने बिसी उनको नक्कल गर्दै गाउने प्रयास गर्थे । उनलाई समालको आओ यादहरु बोलको गित असाध्यै मनपर्छ । अमेरिका बसोबास रहेक गायक समालसंग भेटेर आशिर्वाद लिने सपना रहेको उनि बताउँछन् । साथीभाई शिक्षक अविभावक आफन्त सबैबाट ऊर्जा र स्याबासी पाएका उनलाई परिवारको पनी उत्तिकै साथ थियो । भन्छन्,“शिक्षित र बुझकी परिवार भएर होला मलाई संधै साथ रह्यो । कलकारिता क्षेत्रबाट नै भबिष्य बनाउने मेरो सपना पुरा गर्न आज पर्यान्त साथसहयोग पाउँदै आएको छु ।”
प्रतिष्पर्धाको समयमा सहजै स्थापित बन्ने सपना आफैमा चुनौति थियो । भगवानले तँ चिता म पुर्याउँछु भन्छन् भनेझैँ, उनलाई यस क्षेत्रमा उदाउन संचारकर्म सारथी बन्यो ।
झापाको आरम्भ एफएमबाट प्रसारित रेडियो कार्यक्रम नमस्ते पुर्वाञ्चलको प्रस्तोताका रुपमा संचारक्षेत्रमा प्रवेश गरेपछि उनको फ्यान फलोअर बड्न थाले । प्रचारप्रसार पनी भयो ।
करिब एक दशक संचारक्षेत्रमा बिताईसकेका बिसी यतिबेला इलामखबर डटकम का सह–सम्पादक साथै रेडियो बुद्धवाणी एफएमको सम्वाददाताका रुपमा कार्यरत रहेका छन् । यसका साथै जारी पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४ को इलाम संयोजक भई जिल्लाभित्रका नव प्रतिभालाई प्रतिष्पर्धाको माध्यमबाट गायन र नृत्यमा छनौट गर्ने काम उनले गरेका छन् । सो प्रतियोगिताको फाईनल यहि फाल्गुन १३ गते धनकुटामा हुँदैछ ।


