
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल एमसिसीको पक्षमा माहोल बनाउन सक्रिए बनेका छन्। सरकारले एमसिसी संसद्मा टेबल गरेको भोलिपल्ट देखि पौडेलले पार्टीका शीर्ष नेताहरूसँगको भेटलाई तीव्रता दिएका छन्।पौडेलले सोमबार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन्।
सिंहदरवारस्थित जनता समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा पुगेर यादवलाई भेटेका पौडेल लगत्तै प्रचण्डलाई भेट्न माओवादीकै संसदीय दलको कार्यालय पुगेका छन्।



दुई नेताबीच दिउँसो सवा तीन बजेदेखि छलफल जारी रहेको प्रचण्डको सचिवालयले जनाएको छ। फागुन १२ गते प्रतिनिधि सभामा एमसिसीका विषयमा छलफल हुने भएपछि त्यस विषयमा छलफल गर्न दुई नेताबीच भेटघाट भएको हो। एमसिसी अनुमोदनका लागि समर्थन जुटाउन पौडेलले नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायत दलका शीर्ष नेताहरूसँगको भेटघाट सुरु गरेका छन्।
यादवसँगको भेटमा पौडेलले एमसिसीको समस्या जटिल रुपमा आएको र यसै कारण देशको अन्तरराष्ट्रिय सम्बन्ध र नेपालको विकासको भविष्य के हुन्छ भन्ने विषयमा कुराकानी गरिएको उल्लेख गरे। एमसिसीको सम्बन्धमा जसपा अध्यक्ष यादवसँग सैद्धान्तिक मतभेद नदेखिएको उनको भनाइ छ।
अध्यक्ष यादवले फागुन १३ गते पार्टीको बैठक राखेर एमसिसी बारे निर्णय लिने बताएको पौडेलले जानकारी दिए। एमसिसी परियोजना नेपालको गरिबी अन्त्यका लागि अमेरिकी सरकारले गरेको सहयोग भएको पौडेलले बताउँदै आएका छन्।
सरकारले आइतबार संसद्मा एमसिसी टेबल गरेको छ। एमसिसीका विषयमा सत्ता गठबन्धनकै दल नेकपा समाजवादी, माओवादी केन्द्रलगायतका दलभित्रै विवाद देखिएको छ। कांग्रेस बाहेकका अन्य दलहरूले एमसिसीको विरोध जनाइरहेका छन्। थाहाखबरबाट