मनोज अधिकारी,फिक्कलःनेकपा एमालेले सूर्योदय नगरपालिका भित्र प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । सनिबार सूर्योदयका ९ र १४ बाहेकका १२ वटा वडामा एकैसाथ कार्यक्रम गरिएको हो ।
नगर कमिटिले वडास्तरीय अगुवा कार्यकर्ता भेला गराई समसामहिक बिषयमा छलफल,अन्तरकिृया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको नेकपा एमाले सूर्योदय नगर कमिटि अध्यक्ष दुर्गादेबी भट्टराईले जानकारी दिनुभएको छ ।



वर्तमान समयमा पार्टीका कार्यकर्ताले पार्टीको रणनीतिअनुसार खेल्नुपर्ने भूमिका र पार्टीका बिषयमा फैलाईएका भ्रमलाई कार्यकर्तामार्फत गाउँगाउँमा गएर चिर्नका लागि उक्त प्रशिक्षण कार्यक्रम गरिएको अध्यक्ष भट्टराइले बताउनुभयो ।
सूर्योदय नगरपालिका भित्र एमालेको सङ्गठन अझै सुदृढ बनाएर लैजान र आगामी स्थानीय निर्वाचनमा पार्टीको प्रभाव सशक्त बनाउनका लागि पनि प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको उहाँको भनाई छ ।
आगामि निर्माचनमा वडा र नगरभित्र कस्ता योजना लिएर अघिबड्ने र भातृसंगठन गठन तथा पुनःगठन गर्दै चलायमान बनाउने बिषयमा छलफल भएको जानकारी दिनुभएको छ ।
पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न भएपछि अब सूर्योदय क्षेत्रमा पार्टीको प्रभाव झनै बलियो र विस्तार भएर जाने बिश्वास ब्यक्त गर्दै नगरकमिटि अध्यक्ष भट्टराईले पार्टीलाई एकताबद्ध, सुदृढ र व्यापक जनाधारित बनाउने, सुदृढीकरण र शुद्धीकरण अभियान सञ्चालन गर्ने, आगामी निर्वाचनमा पार्टीलाई बहुमतप्राप्त पहिलो शक्तिका रुपमा स्थापित गर्ने कार्यभार मानेर काम गर्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
एमालेले आगामी कार्यभारलाई पनि प्रशिक्षणका विषयवस्तु बनाएको छ । पश्चगामी षड्यन्त्रलाई विफल पार्दै समृद्धिको यात्रालाई निरन्तरता दिने सर्वोपरि महत्वको कार्यभार पार्टीका सामु रहेको र यसका लागि पार्टीलाई राज्य सञ्चालनको केन्द्रभागमा पुनःस्थापित गर्नु अनिवार्य पूर्वशर्त मानेको छ ।
दक्षिणपन्थी अवसरवादी गठबन्धन र त्यसले सञ्चालन गरेको सरकारका गलत कामको विरोध गर्ने, राष्ट्रियताको सुदृढीकरण, राष्ट्रिय हितको रक्षा र राष्ट्रिय स्वाभिमानको अभिवृद्धि गर्ने, लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा र विकास एवं राजनीतिक स्थायित्वको संवद्र्धन गर्ने तथा मौलिक सांस्कृतिक मूल्यहरुको संवद्र्धन र सांस्कृतिक रुपान्तरण साथै आर्थिक विकास र समृद्धिको यात्रालाई निरन्तर अगाडि बढाउने विषयलाई एमालेले आगामी कार्यभार मानेको छ ।
कार्यक्रमलाई जिल्ला कमिटि तथा नगर कमिटिका पदाधिकारीहरु,विभागिय प्रमुख तथा सदस्यहरु लगायत नेतृत्वले वडा-वडामा पुगेर प्रशिक्षण गराएको जनाईएको छ । कार्यक्रममा नेकपा एमालेका संगठित सदस्य तथा अगुवा कार्यकर्ताहरुको उत्साहजनक सहभागिता रहेको सूर्योदय नगर कमिटि संगठन विभाग प्रमुख होमबहादुर कार्कीले जानकारी दिनुभएको छ । वडा कमिटिका पदाधिकारीको ब्यस्थताले स्थगित रहेको ९ र १४ वडामा तिनभित्र कार्यक्रम संचालन गरिने बताईएको छ ।


