
फिक्कलः महिला सृजना बहुउद्देश्यीय सहकारी संस्था लि सूर्योदय नगरपालिका वडा नं १० को २१ औँ वार्षिक उत्सव सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष गायत्रादेवी ओली घिमिरेको अध्यक्षता एवं नगरप्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख दुर्गा देवी भट्टराईको विशेष आतिथ्यता रहेको थियो ।
विभिध साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न कार्यक्रमको अवसरमा एक दर्जन बढीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा समाजसेवी सनदकुमार पराजुली, संस्थाकी पुर्वअध्यक्ष एवं नगर कार्यपालिका सदस्य नरमाया मुखिया लगायत संस्थाको ११ वटा अन्तरसमुहका ज्येष्ठ नागरिक आमाहरु रहेको अध्यक्ष घिमिरेले बताईन् । ज्येष्ठ नागरिकलाई ब्लेङ्केट र नगदले सम्मान गरिएको थियो भने समाजसेवी पराजुली र पुर्वअध्यक्ष मुखियालाई प्रमाणपत्र र खादा लगाएर सम्मान गरिएको थियो । संस्थाकी व्यवस्थापक मुक्तदेवि शर्माले संचालन गरेको कार्यक्रममा सदस्य सोमा खतिवडा भट्टराईले स्वागत मन्तव्य राखेकी थिइन् ।



कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख राईले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना दिए । नगरले महिलाको हक अधिकार सुनिश्चित गराउन अनेकन कामहरु गरेको बताउँदै निती नियम र कानुन निर्माणमा समेत सकृय सहभागिता हुनुपर्नेमा जोड दिए । महिलाका क्षेत्रमा भएका प्रयास पर्याप्त नभएको भन्दै अझ थुप्रै काम गर्न बाँकी रहेको बताएका छन् । उनले महिलाहरुलाई हरेक काममा अग्रसर हुनु आग्रह गर्दै आजका महिला चुलोचौकामा मात्र सिमित हुनु नहुने धारणा व्यक्त गरेका छन् । यस संस्थाले सामाजिक क्षेत्रमा गरेका कामको प्रशंसा गर्दै उनले उदाहरणीय संस्थाको रूपमा महिला सृजना बहुउद्देश्यीय सहकारी संस्था रहेको समेत बताएका छन्।