फिक्कलः इलामको सूर्योदय नगरपालिकामा साइकलको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न इलाम एम टीबि राइडर्स मार्फत एम टीबि एड्भेन्चर साइक्लिङ २०२२ को आयोजना हुने भएको छ । एम टीबि एड्भेन्चर साइक्लिङ २०२२ को आयोजना २०७८ चैत्र ३० गते आयोजना हुनेछ ।
सूर्योदय नगरपालिका भित्र नियमित साइकिलिङ गर्दै आएका १० युवाले आयोजना गर्ने भएका छन् । ९ वर्षदेखि सूर्योदय नगरपालिका भित्रका डाँडाहरुमा साइक्लिङ गर्दै आएका युवाहरुको समूहले पुरस्कार राशि नै राखेर साइक्लिङ प्रतिस्पर्धाको आयोजना गरेका हुन् ।
४ लाख २५ हजार रुपैयाँ खर्च हुने साइक्लिङ प्रतिस्पर्धामा इलामसँगै पाँचथर, झापा, मोरङ, सुनसरीका साइकल राइडरको सहभागिता रहने आयोजक समितिका अध्यक्ष सरण फोगोले बताए । सुर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजारबाट शुरु हुने साइकल राइडरको प्रतिस्पर्धा ११ किलोमिटर लामो रहने सूर्योदय नगरपालिका १० का अगुवा साइकल राइडर तथा टीबि एड्भेन्चर साइकिलिङ २०२२ का सल्लाहाकार युवराज बस्नेतले बताए । फिक्कल नगरपालिकाको केन्द्र फिक्कल बजारबाट शुरु भइ नयाँचौक, केराबारी, आहाले, सहिदचौक हुँदै वडा नम्बर १० को वडा कार्यालय, सनराइज बोर्डिङ हुँदै पुनः फिक्कल बजार पुगेर टुङ्गिनेछ । प्रथम पुरस्कार २० हजार रुपैयाँ तोकिएको साइक्लिङ प्रतिस्पर्धामा प्रथम पुरस्कार जित्नका लागि २ घण्टामा ११ किलोमिटर पारगरिसक्नु पर्नेछ ।
दोस्रो पुरस्कार जित्नेले १५ हजार नगद र तेस्रो पुरस्कार १० हजार रुपैयाँ रहेको छ । नगद सहित ट्रफि र मेडल पनि बिजेताले पाउनेछन् । बिजेतालाई ट्रफि सूर्योदय नगरपालिका १० निवासी मान बहादूर प्रधानले आफ्नो छोरा स्वः बिशाल प्रधानको स्मृतिमा इलाम एम टीबि राइडर्सको समितिलाई हस्तान्तरण गरेका छन् । ५० राइडर्सको सहभागिता रहने प्रतिस्पर्धामा ३० वर्ष माथि उमेर समूहको मात्रै प्रतिस्पर्धामा सहभागि हुनेछन् ।




