फिक्कलः पर्यटकीय नगरी सूर्योदय नगरपालिकामा कोरोनाका कारण थलिएको पर्यटन व्यवसाय उकास्न २०७८ को बिदाइसँगै पर्यटकीय गतविधि भईरहेका छन् । कन्याम, अन्तु, पशुपतिनगर, बौद्यपार्क लगायत चिया बगानको हरियालिसँगै चिया पर्यटनको प्रवद्र्धन गर्न सूर्योदय नगरपालीकामा २०७८ को अन्त्यसँगै पर्यटकीय गतिविधि भईरहेका हुन् ।
सूर्योदयको पर्यटन प्रवद्र्धनका लागि नयाँ वर्ष २०७९ को शुरुवातसँगै आज तेस्रो सूर्योदय सडक महोत्सव शुरु हुँदैछ। तेस्रो सूर्योदय सडक महोत्सव २०७९ बैशाख २ गते सम्पन्न हुनेछ । सूर्योदय नगरपालिका केन्द्र रहेको फिक्कल बजारमा सडक महोत्सव आयोजना गरिने भएको हो ।
स्थानीय परिकारको स्वाद चखाउने र इलाममा उत्पादित नगदेवालीको प्रवद्र्धनसँगै थलिएको पर्यटन व्यवसायलाई पुनः चलायमान बनाउने उदेश्यले तस्रो सूर्योदय सडक महोत्सवको आयोजना गरिएको छ । तेस्रो सूर्योदय सडक महोत्सव २०७९ नव वर्षको बिहानीसँगै हूनेछ । बैशाख १ र २ गते आयोजना हुने सडक महोत्सवको आयोजना सूर्योदय नगरपालिकाको केन्द्र रहेको फिक्कल बजारको सडकमै गरिने अयोजक समितिका सचिव युवराज प्रधानले बताए । सूर्योदय होटल व्यवसायी संघको आयोजना र युनाइटेड क्लब फिक्कलको व्यवस्थापनमा सडक महोत्सवको आयोजना हुनेछ ।
अल्पसंख्यक लेप्चा जाति, आदिवासी जनजातिको संस्कृतिमा आधारीत परिकार,इलाममा उत्पादन हुने परिकारहरु र अन्तराष्ट्रि बजारमा उत्पादित सामग्रीहरुको पनि स्टल रहने आयोजक समितिका सदस्य अभिषेक प्रताप पौडेलले बताए । सडक महोत्सवमा मनोरञ्जन, स्थानीय उत्पादनहरुको व्यवसायीक प्रवद्र्धन तथा पर्यटकीयस्थलहरुको प्रवद्र्धन मुख्य आकर्षण रहेको छ । सडक महोत्सवमा ३५ वटा स्टलहरु हुनेछन् ।
महोत्सवको प्रायोजन सूर्योदय नगरपालिका, सूर्योदय नगरपालिका १० नम्बर वडा कार्यालय, पर्यटन तथा संस्कृति मन्त्रालय प्रदेश नम्बर १ विराटनगर रहेको छ । महोत्सवको मुख्य प्रायोजक गोर्खा ब्रिउरी रहेको हो । सडक महोत्सवमा लोकप्रिय गायक र गायीकासँगै ब्याण्डको पनि सहभागिता हुनेछ । महोत्सवमा राष्ट्रियस्तरका कलाकारहरुको मन्त्र ब्याण्ड, गायक रोशन गुरुङ्ग, नेपाल आइडलका प्रतिस्पर्धि कलाकारहरु, स्थानीय ब्याण्ड र डिजेहरुको पनि प्रस्तुती हुने सूर्योदय होटल व्यवसायी संघका अध्यक्ष अभिषेक श्र्रेष्ठले बताए । महोत्सवमा १५ वटा खानाका स्टलहरु रहनेछन् । घरेलु उद्योगमा उत्पादन भएका सामग्रीहरु, विद्युतिय सामग्री, शैक्षिक सामग्री, यातायातका साधनहरुको व्यवसायीक बिक्रि केन्द्र, कृषि उपजहरुको खरिद बिक्रिका लागि स्टलहरु रहनेछन् ।
सूर्योदय नगरपालिकामा अल्पसंख्यक लाप्चा जातीसँगै विभिन्न जातजातीको संस्कृति र सास्कृतिक झाँकीको प्रस्तुती हुनेछ । महोत्सव सम्पन्न गर्न ३७ लाख रुपैयाँ खर्च हुने र डेढ लाख बढी आन्तरिक पर्यटकहरु भित्र्याउने योजना आयोजक समितिको छ । सडक महोत्सवमा आउने पर्यटकहरुले सूर्योदय नगरपालिको केन्द्र रहेको फिक्कल, कन्याम, श्रीअन्तु, सिमपानी, करफोक, पञ्चकन्या मन्दिर, लेप्चा गुम्बा, गोर्खे, पशुपतिनगर लगायतका पर्यटकीयस्थलहरुको भ्रमण गर्नेछन् । महोत्सवमा आउने पर्यटकहरुका लागि स्वास्थ्य जाँचको व्यवस्था समेत गरिने आयोजक समितिको व्यवस्थापक र्सिजन गदालले बताए ।