इलामःसूर्योदय नगरपालिकास्थित नेपाली कांग्रेसले नगरमा आउँदो चुनावका लागि अन्य दलसँग गठबन्धन नगर्ने निर्णय गरेको छ। केन्द्रको निर्देशनअनुसार नगरको मेयर नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी०को भागमा परेपछि कांग्रेस सूर्योदय नगर कमिटीले गठबन्धन नगर्ने निर्णय गरेको हो।
कांग्रेस नगर कमिटी सभापति जीवन नेपालले नगरमा जुन संरचनामा उम्मेदवारी दिने केन्द्रको निर्देशन छ, त्यसले कांग्रेसलाई ध्वस्त बनाउने बताए। ‘नगरका आम पार्टी सदस्य र मतदाताको धारणा नै अहिले कांग्रेसले कसैसँग गठबन्धन गर्नु आवश्यक छैन भन्ने हो,’ उनले भने, ‘हामीले मेयर अर्कालाई दिएर गठबन्धन गर्न सकिँदैन भन्ने निर्णयसहितको पत्र जिल्ला समितिमा पठाइसकेका छौं। केन्द्रको निर्णय पार्टीले मान्नुपर्ने त हो तर पार्टी नै ध्वस्त हुने निर्णय कसरी मान्नु र१’



नगरका १४ वटै वडाका नेपाली कांग्रेस वडा समितिले समेत आउँदो स्थानीय तह निर्वाचनमा अन्य दलसँग गठबन्धन नगर्ने घोषणा नै गरेका छन्। सबै वडाका सभापतिहरूको संयुक्त बैठकले निर्वाचनमा गठबन्धन गर्नुको आवश्यकता नभएको भन्दै चुनावी तालमेल नगर्ने निर्णय गरेको हो।
उनीहरूले गठबन्धन नगरका सम्पूर्ण पार्टी सदस्य र मतदाताको भावना विपरीत रहेको, सैद्धान्तिक र व्यावहारिक पक्षमा पारस्परिक समन्वय हुन नसकेको, नेपाली कांग्रेसका आम मतदाता अन्य दलको चुनाव चिह्नमा मत हाल्न तयार नरहेको र गठबन्धन गर्न केन्द्रले दिएको निर्देशनको सूर्योदय नगरपालिकामा कुनै आवश्यकता र अवस्था नरहेको जनाएका छन्।
१४ वटै वडाका सभापतिको बैठकको अध्यक्षता गरेका वडा ७ का सभापति लेखनाथ खड्काले विज्ञप्ति जारी गर्दै नगरका वडामा कांग्रेसले गठबन्धन गर्नुको औचित्य नभएको जनाएका छन्। सूर्योदय नगरपालिका नेपाल कम्युनिस्ट पार्टी ९एमाले०बाट पूर्वप्रधानमन्त्री झलनाथ खनालले २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचन जितेको क्षेत्रमा पर्ने प्रमुख स्थानीय तह हो।
यो नगर पूर्वीपहाडकै सबैभन्दा ठूलो र इलामको सबैभन्दा बढी मतदाता भएको स्थानीय तह हो। एमालेबाटै चुनाव जितेका सूर्योदय नगरका मेयर रणबहादुर राईसहित धेरैजसो जनप्रतिनिधि पार्टी विभाजनपछि एमालेबाट नेकपा ९एकीकृत समाजवादी०मा प्रवेश गरेका थिए। उपप्रमुख दुुर्गादेवी भट्टराई र वडा ३ का वडाध्यक्ष होमबहादुर कार्कीले भने एमाले छाडेनन्।
आउँदो चुनावका लागि सत्तारुढ गठबन्धनको केन्द्रीय तहको निर्देशनअनुसार यो नगरको मेयर नेकपा ९एकीकृत समाजवादी० कै भागमा परेको छ। र, पुनः मेयर उम्मेदवारको चर्चामा अहिलेकै मेयर राई छन्। मेयर अर्काको भागमा परेपछि नगरका कांग्रेसजन गठबन्धन गर्ने निर्देशनप्रति असन्तुष्ट भएका हुन्।
‘अहिले नेकपा ९एस०ले हाम्रै दलबाट नेता–कार्यकर्ता आफ्नो दल प्रवेश गराएर विजय हासिल गरेझैं गरिरहेको छ,’ सूर्योदय नगरका एक काङ्ग्रेस अगुवाले भने, ‘अनि गठबन्धनको नाममा हामीले फेरी उनीहरूलाई नै जिताइदिनुपर्नेरु यो त कांग्रेसका लागि सकिने बाटो हुन्छ। कांग्रेस अब सकिने बाटोतिर जाँदैन।’
२०७४ सालको स्थानीय तह निर्वाचनमा सूर्योदय नगरपालिकाको मेयरमा रणबहादुर राई १२ हजार ९ सय १९ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिन्दी नेपाली कांग्रेसका प्रेमलाल राईले १० हजार ३ सय २९ मत ल्याएका थिए। माओवादीका राजेन राईले १५ सय ४१, राप्रपाका भोजराज लामिछानेले ५९३ मत ल्याएका थिए। नागरिक दैनिकबाट

