अब्बल उप–प्रमुखको छबि बनाएकी दुर्गादेवीको पाँच वर्ष

द्वारा प्रकाशित गरिएको हो |
२०७९ बैशाख ९, ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

इलामः दुर्गादेवी भट्टराई अहिले सूर्योदय नगरपालिकाको उप–प्रमुख हुन् । भट्टराई काम गराइको हिसाबले जिल्ला भरका पालिका मध्ये अब्बल उप–प्रमुखका रुपमा चिनिन्छिन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा आफू विजयी हुँदै गर्दा र उप–प्रमुख भएर काम गर्दाका चुनौती र अवसरलाई भट्टराईले कसरी लिएकी छन् । इलाम आवाज अनलाईनका लागि उनीसँगै गरिएको कुराकानीको अंश इलाम खबरमा साभारः
कोकिला ढकाल,इलामः

प्रश्नः दुर्गादेवीलाई अब नागरिकले कसरी लिएका होलान्?
उत्तरः कतिपय राम्रो भन्नुहोला, कतिपयले नराम्रो पनि भन्नु होला तर, सूर्योदयका आम नागरिकले दिएको मतको सम्मान गर्र्दै सूर्योदयमा केही नयाँ काम गर्ने अवसर मिल्यो, कति काम गर्न अझै पनि बाँकी छ । जे होस यो पाँच वर्षको अवधिमा हामीले सूर्योदयलाई सकेसम्म राम्रो बाटोमा हिंडाउने प्रयत्न गरेका छौं ।
प्रश्नःपाँच वर्ष बित्नै लाग्यो, अर्को निर्वाचन नजिकिएको छ, एक–दुई गरेर आफूले भन्नु पर्दा कुन कामहरु आफ्ना एजेण्डाका सफल भए होला ?
उत्तरः पाँचवर्ष अगाडि जितेर आउँदै गर्दा साँच्चै भन्नुपर्दा जनप्रतिधिलाई कुन ठाउँमा टेक्ने र कहाँबाट काम शुरु गर्ने भन्ने बलियो आधार थिएन । हामीले ऐन, कानून र नीतिहरु निर्माण गर्नु थियो । त्यो प्रमुख होस या त उपप्रमुख यात अन्य कोही जनप्रतिनिधि एक्लैले कहिले संभव थिएन । हाम्रो टीम एकजुट भएर नीति निर्माणमा लाग्यौं । त्यसपछि महिलालाई हरेक स्थानमा ४० प्रतिशत सहभागी गराउनु पर्छ भन्ने मेरो मुख्य एजेण्डा थियो । त्यसलाई पारित गर्न निकै मुस्किल प¥यो । अन्तमा पारित गरियो । अहिले सूर्योदयका हरेक काम र योजनाहरुमा महिलाको ४० प्रतिशत अनिवार्य सहभागीता रहेको छ । पहिला म आफू सीएल पढ्दै गरेको विद्यार्थी विवाह गरेर यहाँ आउँदा खर्च अभाव र पारिवारिक अवरोधले थप शिक्षा हासिल गर्न गर्नुपरेको संघर्षले पिरोलि रहेको थियो । त्यसकारण निर्वाचित भएको पहिलो वर्ष छोरी बुहारीलाई स्नातक सम्म निःशुल्क शिक्षा बनाउँ भन्दा त्यो एजेण्डा पारित हुन सकेन । दोस्रो वर्ष त्यही एजेण्डा उठाएं । पारित भयो । अहिले करफोक विद्या मन्दिरमा करिब दुई सय छोरीबुहारीले निःशुल्क स्नातक पढिरहेका छन् । यहाँका एकल महिलालाई पनि परिवार र समाजबाट फरक दृष्टिले हेरिन्थ्यो । उहाँहरुलाई नगरपालिकाबाटै निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्न सफल भइयो । गरिब, दलित र विधवा र अविवाहित एकल महिलाई स्वास्थ्य बीमाको कार्यक्रम चलिरहेको छ । यी हरेक विषयले अहिले पनि काम गर्न संघर्ष र चुनौती पछिको अवसर हो जस्तो लाग्छ ।

प्रश्नःउप–प्रमुख एकातिर छ, अर्कातिर अनुगमन समितिको प्रमुख, न्यायिक समितिको प्रमुख भएर पनि भूमिका निर्वाह गर्नुभयो, कस्तो रह्यो त्यो काम?
उत्तरःउप–प्रमुखको अधिकार क्षेत्र भित्र रहेर गर्नुपर्ने काम, न्यायिक समिति, योजना अनुगमन, राजश्व व्यवस्थापन लगायतका धेरै काम थिए । राजश्व बलियो भएन भने स्थानीय पालिका चलाउनै मुस्किलको अवस्था थियो । हामी आउँदै गर्दा सूर्योदय नगरपालिकामा जम्मा ५९ लाख रुपियाँ मात्र राजश्व तथा आन्तरिक आय हुने गथ्र्यो । पछि राजश्व संकलन हुने ठाउँहरु पहिचान गरेर राजश्व संकलनमा वृद्धि हुने अवस्थामा पु¥याइयो । अहिले सूर्योदयमा करिब ४ करोड रुपियाँ आन्तरिक आम्दानी हुने गरेको छ । राजश्व उठ्नु भनेको नगरपालिकाको समग्र आर्थिक पाटोको विकास हुनु पनि हो । अर्को न्यायिक समितिलाई मजबुद बनाउने चुनौती थियो । मेलमिलाप कर्ताहरुको उत्पादन देखि मलमिलाप समिति गठनका कामहरु भए । अहिले यहाँका नागरिक न्यायिक समिति सँग खुशी हुनुहुन्छ । सानातिना विवादहरु गाउँ–वडा स्तरमै समाधान हुने गरेका छन् । योजना अनुगमनको काम पनि शुरुको वर्ष त्यति सजिलो भएन । निर्माण व्यवसायीहरुले फरक ढंगले काम गर्ने र जनप्रतिनिधिलाई फरक ढंगले बुझ्ने गरेका थिए । हामीले हरेक सामग्री र कामको गुणस्तरलाई हेरेरमात्र योजना सम्पन्न भएको पास गर्ने बानी बसाल्यौं । कतिपय निर्माण हुँदै गरेका योजना भत्कायौं पनि । यसले निर्माण व्यवसायीले पनि स्वीकार गरेर गुणस्तरीय काम गर्न सचेत भए । अहिले निर्माण सम्पन्न हुनेक्रमका योजनाहरुको काम निकै राम्रो भएको छ । आम नागरिकको सहयोग पनि राम्रो भएको छ । नागरिकले पनि आफ्नो ठाउँमा निर्माण हुँदै गरेको योजना मेरो पनि हो भनेर अपनत्व महशुस गर्ने बानीको विकास भएको छ । स्थानीय निकाय हुँदा जस्तो काम गरेपनि योजना पास हुने र रकम भुक्तानी हुने गरेको थियो । अहिले त्यसमा आकाश जमिनको फरक छ । गुणस्तरीय ढंगले योजना सम्पन्न नभइ रकम हामी दिदैनौं । योजना बिक्रीयो भने उपभोक्ताहरुले तुरुन्त खबर गर्न थाल्नु भएको छ ।

प्रश्नः तपाईं उपप्रमुख, न्यायिक समिति संयोजक हुँदै गर्दा यहाँका महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति लगायत न्याय पाउन नसेकेका महिला सबै तपाई सँग जोडिएर आए । उनीहरुको विषयमा नीति बनाउँदै गर्दा तपाईं आफूलाई चाँहि कस्तो चुनौती आयो?
उत्तरः महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति लगायतको क्षेत्र स्वतः उप–प्रमुख सँग जोडिने क्षेत्रनै हो । उनीहरुका सवालमा नीति, कार्यनीति बनाउँदै गर्दा चुनौती त आयोनै । पहिलो त नीति निर्माण तहमा महिला सहभागीता कम हुन पनि निकै दुःखको कुरा हो । एउटै पार्टी, एउटै समुह किन नहोस, पुरुष धेरै भएको स्थानमा महिलामाथि विभेदकै दृष्टि हुन्छ । महिला प्रतिनिधिले उठाएका सवाल र एजेण्डाहरु राम्रा भएपनि पारित गर्ने कुरामा भरसक आनाकानीनै हुन्छ र त्यस्तै पनि भएको छ । अहिले सूर्योदयमा सफल भएका विषय, योजना र क्षेत्र पनि यी र यस्तै सवालमा छन् । महिला शिक्षा, एकल महिला, अपाङ्गता भएका व्यक्तिको क्षेत्रदेखि अन्य विभिन्न सामाजिक कामहरु निकै राम्ररी सफल भएको उदारण तपाईहरु सबैले देख्ननै सक्नु हुन्छ ।

प्रश्नःतपाईंको राजनीतिक जीवन अलिकति बताइदिनुन्?
उत्तरःम बुद्धशान्ति गाउँपालिका झापाको बुद्धआदर्श माविमा पढ्दा २०४८ देखि अनेरा स्ववियुमा क्रियाशील थिएं । विवाह भएर कन्याम आएपछि २०५३ सालमा नेकपा एमाले पार्टीको संगठित सदस्य भएं । २०५४ सालको स्थानीय निर्वाचनमा कन्याम –८ बाट वडा सदस्य जितें । पार्टीमात्र पनि सदस्य, गाउँ कमिटी सचिव हुँदै , पार्टीको गाविस उपाध्यक्ष भएर काम गरें । एक कार्यकाल पार्टीको क्षेत्रीय समिति सदस्य भएर काम काम गरें । जिल्ला कमिटी सदस्य र सचिवाल सदस्य भएर काम गर्दै गर्दा सूर्योदयको उप–प्रमुखको जिम्मेवारी दिएर निर्वाचनमा पठायो । मैले यहाँका नागरिकको माया र मतले उप–प्रमुखमा जितें । यहाँका नागरिकको अपेक्षा अनुसार काम गरें जस्तो लाग्छ । अझै युवा, महिला, वनवातावरण, पर्यटन, आर्थिक, स्वरोजगारलगायतका धेरै काम गर्न बाँकी छ । बल्ल आधार तयार भएको छ । आउँदा वर्षहरुमा सूर्योदयको समग्र विकासका लागि तपाईं हामी, यहाँका आम नागरिक सबै एकजुट भयौं भने साँच्चै भनिएको समृद्धि सूर्योदयबाटै शुरु हुने अवस्था छ ।

प्रश्नःआफ्ना मतदातालाई के भन्नुहुन्छ?
उत्तरःमलाई यसले उप–प्रमुख भएर जुन काम गर्न सक्छे भनेर जुन अपेक्षाले मत दिएर आम नागरिकले विजयी गराउनु भएको थियो । सबैको अपेक्षा अनुसार हामीले काम ग¥यौं भन्ने लाग्छ । अझै मेरो आफ्नो लक्ष्य अनुसारको काम त अझै गर्न बाँकी छ । नीति निर्माणका काम देखि शुरु गर्नुपर्ने भएकाले पाँचवर्षको अवधि जनप्रतिनिधिका लागि त्यति लामो भएन । अब थालिएका कामहरु अझै अधुरा छन् । विशेष योजना बनाएरै ती अधुरा काम पुरा गर्नुपर्ने छ । जस्तै ः चियाको समर्थन मुल्यको कार्यविधि देखि अर्गानिक अभियानका विषयहरु, दिगो पर्यटन पर्वद्धन लगायतका क्षेत्रमा विशेष योजना बनाएर अगाडि बढ्नुपर्ने अवस्था छ । सूर्योदयको हरेक पाटोको विकासमा अगाडि बढाउन हामीले मार्ग तयार गरेका छौं । अझै हिंडाउन बाँकी छ । ती काम पुरा गर्नुछ । ती कामहरुलाई व्यवस्थित र संस्थागत गर्न आम नागरिकले अझै सहयोग पु¥याउनु हुन्छ भन्ने विश्वासका साथ विशेष आग्रह गर्न चाहान्छु ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय