सूर्योदयको उपमेयरमा दुई दुर्गाको चुनावी प्रतिस्पर्धाः कस्ले मार्ला बाजी?

द्वारा प्रकाशित गरिएको हो |
२०७९ बैशाख २४, ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

मनोज अधिकारी, फिक्कलः इलामको सूर्योदय नगरपालिकामा उपमेयर पदका लागी दुई दुर्गाको चुनावी लडाँइ निक्कै प्रतिस्पर्धात्मक देखिएको छ । नेकपा एमालेको तर्फबाट दुर्गादेवी भट्टराई र गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका दुर्गा कुमार बरालको प्रतिष्पर्धा रोचक बन्ने देखिन्छ। हुन त राष्ट्रिय प्रजातन्त्र पार्टी,जनता समाजवादी पार्टी नेपाल लगायतका दलले पनि आफ्(आफ्नै उम्मेदवारी दिएका छन् तर मुख्यतया दुई दुर्गाको नाम नै चर्चामा देखिएको हो।

दुर्गा देवी भट्टराई संग नगरपालिका संचालनको पाँच वर्षे अनुभव छ । आफ्नो कार्यकालमा उनले महिलाका क्षेत्रमा गरेका सुधार निक्कै लोकप्रिय छन् । सूर्योदय नगरपालिका न्यायिक समिति संयोजक भएर काम गरेकी भट्टराई भन्छिन्, “म जनप्रतिनिधिको रूपमा निर्वाचित भएपछि महिलालाई हरेक स्थानमा ४० प्रतिशत सहभागी गराउनु पर्छ भन्ने मेरो मुख्य एजेण्डा थियो । त्यसलाई पारित गर्न निकै मुस्किल प¥यो । अन्तमा पारित गरियो । अहिले सूर्योदयका हरेक काम र योजनाहरुमा महिलाको ४० प्रतिशत अनिवार्य सहभागीता रहेको छ । पहिला म आफू सीएल पढ्दै गरेको विद्यार्थी विवाह गरेर यहाँ आउँदा खर्च अभाव र पारिवारिक अवरोधले थप शिक्षा हासिल गर्न गर्नुपरेको संघर्षले पिरोलि रहेको थियो । त्यसकारण निर्वाचित भएको पहिलो वर्ष छोरी बुहारीलाई स्नातक सम्म निःशुल्क शिक्षा बनाउँ भन्दा त्यो एजेण्डा पारित हुन सकेन । दोस्रो वर्ष त्यही एजेण्डा उठाएं । पारित भयो । अहिले करफोक विद्या मन्दिरमा करिब दुई सय छोरीबुहारीले निःशुल्क स्नातक पढिरहेका छन् । यहाँका एकल महिलालाई पनि परिवार र समाजबाट फरक दृष्टिले हेरिन्थ्यो । उहाँहरुलाई नगरपालिकाबाटै निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्न सफल भइयो । गरिब, दलित र विधवा र अविवाहित एकल महिलाई स्वास्थ्य बीमाको कार्यक्रम चलिरहेको छ । यी हरेक विषयले अहिले पनि काम गर्न संघर्ष र चुनौती पछिको अवसर हो जस्तो लाग्छ ।”

महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति लगायतको क्षेत्र स्वतः उप–प्रमुख सँग जोडिने क्षेत्र भएको भट्टराई बताउँछिन् । उनीहरुका सवालमा नीति, कार्यनीति बनाउँदै गर्दा आएका चुनौती स्मरण गर्दै उन्ले भनिन् ,“पहिलो त नीति निर्माण तहमा महिला सहभागीता कम हुन पनि निकै दुःखको कुरा हो । एउटै पार्टी, एउटै समुह किन नहोस, पुरुष धेरै भएको स्थानमा महिलामाथि विभेदकै दृष्टि हुन्छ । महिला प्रतिनिधिले उठाएका सवाल र एजेण्डाहरु राम्रा भएपनि पारित गर्ने कुरामा भरसक आनाकानीनै हुन्छ र त्यस्तै पनि भएको छ ।”

महिलाको समस्या महिलाले मात्रै बुझ्न सक्ने दाबी उन्को छ । भट्टराईले  गठबन्धनको नाममा महिलालाई अवसरबाट वन्चित गराउने प्रयास गरिएको आरोप लगाईन् । तथापि नेकपा एमाले प्रति जनताको विश्वास कायम रहेको बताउँदै उन्ले भनिन्,“मलाई विश्वास छ, सूर्योदयका आम महिला आमा,दिदी बहिनी सचेत हुनुहुन्छ । उहाँहरुले यसअघि भएका काम मुल्याङ्कन गर्नुहुनेछ र मलाई पुनः एकपटक अवसर दिनुहुनेछ । मेरो जित निश्चित छ ।”

स्वभाविक रूपमा गठबन्धनले महिलालाई स्थान नदिएको बेला महिलाको भोट तान्न दुर्गा देवीलाई केही सहज देखिन्छ तर पाँच दलले यदि साँच्चै गठबन्धनको केन्द्रीय निर्देशन बमोजिम भोट दिएमा उन्लाई जित हाँसिल गर्न त्यति सहज भने छैन । त्यसैपनि नेपाली कांग्रेसका दुर्गा कुमार बराल राजनीतिक र सामाजिक क्षेत्रमा नाम चलेका नेता हुन् । यसअघि प्रदेश सांसद लडेका बराल यो पटक नगरपालिकाको उपमेयरका प्रत्यासी बनेका छन् । फिक्कल क्षेत्रमा खानेपानीको व्यवस्थापन तथा सुधारमा योगदान दिएको भन्दै उनलाई सामाजिक व्यक्तिको दर्जामा राखिन्छ । विभिन्न सामाजिक संघ सस्थामा रहेर काम गरेका बरालले फिक्कलका खानेपानीको क्षेत्रमा उल्लेखनीय कार्य गरे । २०५२ सालमा डाक्टर खोला खानेपानीको अध्यक्ष भएर प्रबेश गरेका बराल २०५९ सालमा फिक्कल साना शहरी खानेपानीको अध्यक्ष भए । उनी अहिले पनि खानेपालीको अध्यक्ष छन् । विद्यार्थी जिवनबाट राजनीति यात्रा शुरु गरेका बरालले जुनसुकै आन्दोलनका अगुवा हुन् र अहिले पनि कायम छ ।२०५१ सालबाट नेपाली कांग्रेसको राजनीतिमा सक्रिय सहभागिता देखिन्छन् ।

उन्को राजनीतिक इतिहास निक्कै पुरानो छ । तथापि पार्टी भित्र पनि उनिसँग असन्तुष्ट नेताकार्यकर्ता भने उत्तिकै भेटिन्छन् । गठबन्धन सफल भएमा उन्ले जित्न सक्ने आधार छ । तर तल्लोस्तरका नेता कार्यकर्ता गठबन्धनको विपक्षमा छन् । जन्मजात कांग्रेस भएकाले कम्युनिष्टलाई भोट नहाल्ने अडान बोकेका काँग्रेस सूर्योदयका थुप्रै ठाउँमा भेटिन्छन् भने कम्युनिष्टको भोट पनि काँग्रेसले पाउला नै भन्ने ग्यारेन्टी छैन । थुप्रै तिक्तता र असन्तुष्टिका बिच नेता तथा कार्यकर्ता गठबन्धन जिताउन प्रतिबद्ध देखिए पनी आम सर्वसाधारण मतदाता यो पटक व्यक्ति पहिचान गरेर भोट दिने बताउँछन् । त्यो अर्थमा नेकपा एमालेले आफ्नो विरासत कायम राख्न सक्ने सम्भावना छ । हुन त नेकपा एमाले पार्टी नै चिरा परेर दुई भागमा विभाजीत छ । नेकपा एमालेका नेता भने पार्टी विभाजनको असर सामान्य मात्र परेको बताउँछन् ।

दुबै पक्षले जित निश्चित भएको तर घोषणा गर्न मात्र बाँकी भन्दै प्रतिक्रिया दिईरहेका बेला चुनावी मैदान तातेको छ । विकास निर्माणका आफ्आफ्नै प्रतिबद्धता, अठोट र संकल्प लिएर आएका दुई दुर्गा मध्ये यो पटक सूर्योदय नगरपालिकामा कस्को पल्ला भारी छ भन्ने आँकलन गर्न मुस्किल भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय