खनाल भर्सेस नेम्वाङः सूर्योदय नगरपालिकामा ‘सूर्य’ र ‘कलम’को प्रतिष्पर्धा

द्वारा प्रकाशित गरिएको हो |
२०७९ बैशाख २५, ,प्रकाशित
अनुमानित पढ्ने समय : 5 मिनेट

इलामको सूर्योदय नगरपालिकाको केन्द्र फिक्कलको एउटै घरमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीको चुनाव प्रचार प्रसार कार्यालयको फ्लेक्स बोर्ड राखिएको छ । लामो समय एउटै राजनीतिक दलमा संगठित भएर अलग्गिएका उनीहरुको कार्यालय एउटै घरमा भए पनि उनीहरु एक अर्कालाई कसरी पराजित गर्ने भन्ने रणनीति बुनिरहेका छन् ।

०७४ सालको स्थानीय तह निर्वाचनमा प्रमुख, उपप्रमुखसहित १० वटा वडामा विजयी बनेको नेकपा एमाले यस पटक सोही वर्चश्व रक्षाका लागि लडिरहेको छ । तर ०७४ सालको निर्वाचनमा सग्लो रहेको एमाले अहिले विभाजित भइसकेको छ । यतिमात्र होइन, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्र पनि भएकाले यो पालिकामा एमाले छाडेर नेकपा एकीकृत समाजवादी रोज्नेको संख्या पनि उल्लेख्य छ ।

एमालेबाट जितेका नगर प्रमुख रणबहादुर राई ९आरबी राई०सहित ९ वडाध्यक्ष, ४ जना कार्यपालिका सदस्यसहित ८० प्रतिशत जनप्रतिनिधि एमाले विभाजन बनेपछि बनेको नेकपा एकीकृत समाजवादीमा लागेका छन् । उनै आरबी राईलाई अहिले गठबन्धन दलको तर्फबाट प्रमुख पदमा उम्मेदवार बनाइएको छ भने एमालेले सोही क्षेत्रबाट प्रदेश सांसदमा निर्वाचित बनेका काजीमान कागतेलाई नगर प्रमुखको उम्मेदवार बनाएको छ ।

कागते स्थानीयस्तरमा लोकप्रिय छन् । यद्यपि उनको शैक्षिक योग्यताको कारण धेरै बुद्धिजीवीले उनलाई सहज ठानिरहेका छैनन् । यता, गठबन्धनबाट उम्मेदवार बनेका आरबी राई बुद्धिजीवी सर्कलमा राम्रो पहिचान बनाएका भए पनि शासन शैली हुकुमी खालको भएको भन्दै केही सर्वसाधारण रुष्ट छन् ।

वडामा गठबन्धन भएन, एमालेलाई राहत

सूर्योदय नगरपालिकाको निर्वाचनलाई लिएर धेरैले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबीचको प्रतिस्पर्धाको रुपमा पनि लिएका छन् ।

सोही क्षेत्रबाट संघीय संसदमा निर्वाचित खनालकै कारण सूर्योदय नगरपालिका र माइ जोगमाईका धेरै जनप्रतिनिधिहरु नेकपा एकीकृत समाजवादीमा गएका थिए । अहिले नेकपा एकीकृत समाजवादीलाई पराजित गर्नुपर्ने र आफ्नो वर्चश्व स्थापित गराउनु पर्ने दबाबमा एमाले छ । यही दबाबका बीचमा एमालेलाई गठबन्धनमा भएको खटपटले केही राहत भने मिलेको छ ।

गठबन्धनबाट प्रमुखमा नेकपा एकीकृत समाजवादी र उपप्रमुखमा नेपाली काँग्रेसले उम्मेदवारी दिएको छ । १४ वटा वडा रहेको सूर्योदयमा गठबन्धनबीच वडा तहसम्म भने भागबण्डा मिलेको छैन । ‘वडामा भागबण्डा मिलेन, त्यहाँ माओवादीले एउटा वटा लिएको छ र नेकपा एकीकृत समाजवादीसँग गठबन्धन गरेको छ । कतिपय वडामा जसपासँग पनि सहकार्य भएको छ,’ माओवादीका नेता धिरेन्द्र शर्मा रमणले भने, ‘मेयर, उपमेयर र दुई वडाध्यक्षमा जसपाले पनि उम्मेदवारी दिएको छ, काँग्रेसले सबै वडामा स्वस्थ्य प्रतिस्पर्धा गर्ने भनेर सोही अनुसार उम्मेदवारी दिएको छ ।’

प्रदेश सांसदबाट राजीनामा दिएर नगर प्रमुखमा एमालेबाट उम्मेद्वार बनेका कागते गठबन्धनमा देखिएको असहजताककै बीचबाट आफू जित निकाल्ने दाबी गर्छन् । ‘गठबन्धन त भएको छ तर, को ठिक को बेठिक हो भन्ने विषयमा सूर्योदयका जनता सचेत छन् । एउटा प्रधानमन्त्री पदका लागि सबै हाप्दैनन्,’ धेरै काँग्रेस कार्यकर्ताले आफूलाई भोट हाल्ने संकेत गर्दै उनी भन्छन्, ‘आफ्नो सर्वस्व गुमाएर गठबन्धन भनेर सबै मत त्यतै जाने म देख्दिनँ । यहाँका जनताले विवेक पु(याउँछन् भन्ने लागेको छ ।’

यता नेपाली काँग्रेस सूर्योदय नगरपालिकाका सभापति जीवनकुमार नेपालले भने गठबन्धनको मत एमालेतिर नजाने बताउँछन् । ‘काँग्रेसको सबै मत आरबी राईलाई जान्छ, नजाने हुँदैन । वडावडामा आफूआफू भिडे पनि गठबन्धन दलका उम्मेदवारलाई गालीगलौज हुँदैन,’ नेपाल भन्छन्, ‘सूर्योदयमा गठबन्धन शतप्रतिशत सफल हुन्छ ।’

माओवादी केन्द्रका सूर्योदय अध्यक्ष सन्दीप तामाङ पनि जसपाबाहेक तीनवटा दलको प्रमुख र उपप्रमुखमा एकै ठाउँमा मत जाने बताउँछन् । ‘परिणाममा गठबन्धन अगाडि देखिन्छ । २०७२ सालको संविधान मास्ने शक्ति पछाडि देखिन्छ,’ तामाङ भन्छन्, ‘एमाले भारी अन्तरले पराजित हुने अवस्थामा छ । गठबन्धन भारी मतले अगाडि आउँछ ।’

यसअघिको निर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार बनेका आरबी राईले प्रमुखमा १२ हजार ९१९ मत ल्याउँदा काँग्रेसका प्रेम चाम्लिङले १० हजार ३२९ मत पाएका थिए । उपप्रमुखमा एमालेकी दुर्गा भट्टराईले १२ हजार ८९० मत ल्याउँदा काँग्रेसकी चन्दा खगेश्वरी अधिकाकरीले ९ हजार ९२७ मत ल्याएकी थिइन् ।

यो अंकगणितलाई आधार मान्ने हो भने एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीको बलियो पकड रहेको यो पालिकामा यस पटक सत्तारुढ गठबन्धन बलियो देखिन्छ । सिङ्गो एमाले रहँदा नै नेपाली काँग्रेसले कडा टक्कर दिएको यो पालिकामा एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रसमेतको साथले गठबन्धन स्वाभाविक रुपमा बलियो देखिएको छ ।

एमालेका स्थानीय कार्यकर्ता कमल कठेत भने जनतामा पार्टी विभाजनको ठूलो असर नभएको दाबी गर्छन् । ‘एमालेमा जितेका जनप्रतिनिधि ३ नम्बरका वडाध्यक्ष हेम कार्की तथा सदस्यहरु १४ जना मात्रै एमालेमा छन्,’ उनले भने, ‘मेयर सावले सबै लिएर जानु भएको छ । तर, जनतामा चाहिँ कम प्रभाव छ । जनता त्यसरी लान सक्नु भएको छैन, एमालेले निर्वाचनमा जित्ने अवस्था छ ।’

एमालेलाई धेरै प्रभाव पारेको पालिका भनेकै सूर्योदय नगरपालिका र माइ जोगमाइ हो । एमालेले पनि आफ्नो पार्टी त्यहाँ संकटमा परेको विश्लेषण गरेको जानकारहरु बताउँछन् । ‘प्रदेशसभाबाट राजीनामा दिएर चुनावमा आएका काजीमान कागते पनि निकै लोकप्रिय छन्,’ पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराई भन्छन्, ‘तुलनात्मक हिसावले भने सूर्योदयमा गठबन्धन नै बलियो देखिन्छ ।’

चुनावी सेरोफेरोमा केन्द्रित भएर नेकपा एमालेबाट सूर्योदय नगरपालिकामा मेयरका उम्मेदवार बनेका काजीमान कागतेसँग संक्षिप्त कुराकानी गरिएको छ । प्रस्तुत छ, उनीसँगको कुराकानीको सम्पादित अंश–

सूर्योदय र माइ जोगमाईमा त एमालेलाई धेरै संकट छ भन्छन्, के छ अवस्था?

झलनाथ खनालले फटाहाहरु सबै सोरपटार पारेर लगेपछि हामीलाई संकट होइन, ढुक्क छ ।

तपाई चुनाव जित्नुहुन्छ र?

अवश्य जित्छु । एमालेले नजिते यो देशमा कसले जित्छ र?

झलनाथ खनालको क्षेत्रमा त एमालेलाई धेरै क्षति भयो भन्ने छ नि रु ६० प्रतिशत एमालेका कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा छन् रे रु

६० प्रतिशत नै चाहिँ होइन । अहिलेको विभिन्न अवस्थालाई हेर्ने हो भने साथीहरुलाई पनि कमजोर सम्झिनु हुँदैन । २० प्रतिशत गएका हुन् । २० प्रतिशतमा पनि हिसाव गर्ने हो भने अहिले धेरै साथी फर्किंदैछन् । आरबी राई र झलनाथ खनालको पछि लागेर ठूलो गल्ती गरेछौँ भनेर हामीलाई भनिरहेका छन् ।

भोटरचाहिँ कति विभाजित भएका होलान् र?

८० प्रतिशत भन्दा बढी मतदाता हामीसँगै छन् ।

अहिले गठबन्धन पनि छ । यसअघि नै तपाईहरूसँग काँग्रेस प्रतिस्पर्धी थियो । झनै गठबन्धन गरेपछि त तपाईलाई निक्कै भारी परेको होला, होइन रु

गठबन्धन त हो । तर, को ठिक को बेठीक हो भन्ने विषयमा सूर्योदयका जनता सचेत छन् । एउटा प्रधानमन्त्री पदका लागि सबै हाप्दैनन् । उनीहरुको पनि आफ्नो इज्जत र राजनीतिक देन छ । उनीहरुको पनि राजनीतिक भविष्य छ । त्यसले गर्दा आफ्नो सर्वस्व गुमाएर गठबन्धन भनेर सबै मत त्यतै जाने म देख्दिनँ । यहाँका जनताले विवेक पु(याउँछन् भन्ने लागेको छ ।

तपाई त झलनाथ खनालको दाहिने हात हुनुहुन्थ्यो । अहिले चाहिँ अलग–अलग पार्टीमा हुँदा उहाँलाई गाली पनि गर्नुपर्छ होला । कस्तो लागिरहेको छ ?

मलाई अति खुसी लागिरहेको छ । झलनाथ मेरो गुरु पनि हो । मेरो नेता पनि हो । राष्ट्रिय नेता पनि हो र ३० वर्ष अन्धभक्त भएर झलनाथलाई काँधमा बोकेर पनि हिँडेको हो । त्यसमा मेरो कुनै गुनासो र चित्त दुखाइ छैन । जतिबेला मैले काम गरेँ, इमानदार र बफादार भएर काम गरेँ । तर, हामी सामन्तहरूको विरोध गर्थ्यौं‚ चालै नपाइकन नेकपा एमालेभित्र पनि सामन्त हामीले जन्माएका रहेछौँ । त्यो सामन्तवादको अन्त्य भएको छ । सामन्तीहरु हाम्रो पार्टीबाट निस्किएर गएका छन् । त्यो विषयमा मलाई गुनासो छैन ।

झलनाथ कमरेडले दुई पटक गल्ती गर्नुभयो । पाँचौं महाधिवेशनमा पनि उहाँले गल्ती गर्नुभएको हो । पछि उहाँ सुध्रनुभयो भन्ने लागेको थियो । इलाममा आएर कार्यकर्तालाई अब गल्ती गर्दिनँ भनेपछि हामीले स्वीकार ग¥यौं । तर, उहाँभित्र त्यस्तै अर्को तुस बाँकी रहेछ, अहिले दोस्रो गल्तीको रुपमा प्रकट भयो ।

इलाममा एमालेको समग्र अवस्था चाहिँ कस्तो छ ?

आकलनचाहिँ अहिले गर्न सकिँदैन । राजनीतिक दलले कहिले पनि हार्छु भन्दैन । पञ्चायतको जगजगीको समयमा पनि राजनीतिक परिवर्तनको आँट गरेर आएको पार्टी हो एमाले । हामी अहिले लोकतन्त्र र संघीय राज्य व्यवस्थामा हामीले धेरै काम गरेर पनि देखाएका छौं । ७ वटा पालिकाबाट उँधो झर्छ भन्ने त मेरो कल्पनै छैन । इलामका १० वटा पालिकामध्ये १० वटामै जित्नु पर्ने हो । तर, जनताले कुरा बुझिरहेको हो कि भन्ने लागेको छ ।

तपाई प्रदेश सांसद पद छोडेर स्थानीय तहमा उम्मेदवार हुनुभएको छ, पराजित हुनुभयो भने त ठूलै धक्का लाग्छ त ?

चुनावी दौरानमा मेरो आयु निकै लामो छ । आरबी राई वा झलनाथ खनाललाई मैले चुनौती दिनुपर्छ जस्तो लाग्दैन । पार्टी फुटाएर जानेलाई के चुनौती दिनु १ म यहाँ आएको भनेको यहाँको नागरिकको आस्था, विश्वास, उहाँहरुले मलाई गरेको समर्थन, पार्टीको एउटा कार्यकर्ता भएको कारणले पार्टीले यहाँ पठाएको हो । यहाँका हाम्रो पार्टीमात्रै होइन, आम नागरिकदेखि अन्य राजनीतिक दलहरुले पनि यहाँ आएर काम गरौं, तपाईको खाँचो छ, हामी मिलेर काम गरौँ भनेर म आएको हो । मैले कसैलाई च्यालेन्ज गरिरहनु पर्छ जस्तो नै लाग्दैन । फटाहाहरु आफैं निस्किएर गइहाल्छन् नि १ मैले के च्यालेन्ज गर्नु ? fromratopati

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय