
फिक्कलः नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाली कांग्रेसले धोका दिएको बताएका छन् । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एससंग गठबन्धन गरेको कांग्रेसले एमालेलाई भोट दिएर गठबन्धन माथि धोका दिएको बताए । ग्लोबल टिभी एचडी नामक एक टेलिभिजन च्यानलमा अन्तर्वार्ता दिँदै खनालले भने,‘कांग्रेसको नेतृत्वले गरेको निर्णय कार्यकर्ताले पालना नगर्दा रहेछन् । कांग्रेस संगको तालमेल अति कठिन रहेछ ।’ कार्यकर्तालाई लागु गराउन नसकिने निर्णय नेतृत्वले कहिले गर्न नहुने भन्दै कांग्रेस प्रति आक्रोश पोखेका छन् । उनि भन्छन्,‘त्यो धोका हुन्छ।’ आफ्नो निर्वाचन क्षेत्रमा कांग्रेस र एमाले मिलेर आफ्नु विरूद्ध मत हालेको दोहोर्याउँदै खनालले भने,‘सूर्योदयमा सबका सब एक ठाउँमा भए हामी एक्लैले चुनाव जित्यौँ ।’
कांग्रेस पार्टीलाई खिचडीको संज्ञा दिँदै उनले एक ठाउँमा एउटा कल्चर र अर्को ठाउँमा अर्कै कल्चर देखाउने प्रवृत्ति कांग्रेसमा रहेको बताए । खनालले कांग्रेस सभापति शेर बहादुर देउवाको भने बचाउ गरेका छन् । कांग्रेसको एउटा सेक्सन भने पुरापुर धोकेबाज रहेको उनको दाबी छ।



खनालको निर्वाचन क्षेत्र अन्तर्गत सूर्योदय नगरपालिकाको प्रमुखमा उनको पार्टी बाट उम्मेदवार बनेका रणबहादुर राई निर्वाचित भएका छन् भने उपप्रमुखमा नेपाली कांग्रेसका दुर्गा कुमार बराल निर्वाचित भएका छन् । माईजोगमाई गाउँपालिकामा नेकपा एस का उम्मेदवार जित बहादुर राईलाई एमालेका उम्मेदवार कुश बहादुर थेबेले हराएका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसका प्रबिना राई विजय बनिन् । सन्दकपुर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका तुलाराम गुरुङ विजयी बने । उपाध्यक्षमा नेकपा ९एस०का हरि लुंगेलीले जितेका छन् । उपाध्यक्षमा नेकपा एसले जितेको छ । रोङ गाउँपालिकामा कांग्रेसका मनीकुमार स्याङ्बो विजयी भए। उपाध्यक्षमा एमालेकी विष्णुुमाया भुजेलले विजय हाँसिल गरेकी छन् । खनालको निर्वाचन क्षेत्रमा नेकपा एसले एक प्रमुख र एक उपाध्यक्ष पदमा जित प्राप्त गरेको हो ।