मनोज अधिकारी,फिक्कलः इलामको सूर्योदय नगरपालिका वडा नं १ का नागरिकले वडाको सेवा दुई ठाउँबाट पाउन थालेका छन्। भूगोल ठूलो भएकाले वडा कार्यालयसम्म पुग्न नागरिकलाई सास्ती भएपछि दूई ठाउँबाट वडाको सेवा दिन थालिएको वडाध्यक्ष राजकुमार शेरेङ्ले बताए ।
साविक गोर्खे गा वि स अन्तर्गतको वडा नं ४,५,६,७,८ र ९ नम्बर वडाका नागरिकलाई लक्षित गरि सेवा केन्द्र विस्तार गरिएको शेरेङ् बताउँछन् । चित्रे,छघरे,मानेभञ्ज्याङ् तथा लामिधुरा क्षेत्रका बासिन्दालाई वडा कार्यलयसम्म आउन ३ घण्टासम्म लाग्ने गरेको छ। त्यसैले सो क्षेत्रका नागरिकको समस्यालाई मद्देनजर गर्दै हप्ताको आईतबार र सोमबार मंगलबारे खोप केन्द्रको भवनबाट स्वास्थ्य सेवा साथै दुग्ध संस्थाको भवनबाट प्रशासनिक सेवा दिन शुरु गरिएको वडाले जनाएको छ । बाँकी ४ दिन भने वडाकार्यलय गोर्खेबाट नै सेवा प्रवाह गरिनेछ । आईतबार र सोमबार वडाबाट पनी सेवा संचालन हुने छ । तर कर्मचारी भने बाँडिने छन् ।
वडाध्यक्ष शेरेङ्ले भने,‘सूर्योदय नगरपालिकाकै सबैभन्दा ठुलो वडा हाम्रो हो । वडासम्म आएर सेवा लिन नागरिकलाई असहज भएको महशुष गरि सेवा विस्तार गरेका हौँ । ‘देशमा संघीयता आएको छ, अब गाउँगाउँमा सिंहदरबार भनिएको छ, तर वडा कार्यालयको सेवा लिन ३ घण्टा बाटो हिँड्नुपर्थ्यो । त्यसैले नागरिकलाई संघीयताको प्रत्याभूति दिलाउन हामीले हप्ताको दुई दिन मंगलबारेबाट स्वास्थ्य र प्रशासनिक सेवा दिन थालेका छौँ। चुनावताका हामिले गरेका प्रतिबद्धता पनि यहि थियो । अझ थप सेवा साखाका रुपमा र सिविरका रुपमा संचालन गर्दै सहजता ल्याउने काम गन छौँ ।’
नगरकै सबैभन्दा ठुलो भुगोल भएको यस वडालाई विभाजन गर्ने कुरा अगिल्लो पाँच बर्षमा प्रकृयामा गएर पनि समय अभावका कारण हुन नसकेको हो । अहिले विभाजनको कुरा के हुँदैछ भन्ने प्रश्नमा अध्यक्ष शेरेङ् भन्छन् ,‘अहिले नै त्यो कुरा भएको छैन । विभाजन गर्नुको उद्धेश्य पनि ठुलो भुगोल नै हो । सेवा प्रवाहमा कठिनाई र समानुपातिक वितरणमा असहज हुने भएकाले प्रकृया शुरु भएको थियो । अहिले सेवा विस्तार गरेका छौँ अब नागरिकले के चाहानुहुन्छ उहाँहरुको प्रतिकृयाका आधारमा काम गछौँ ।’
पुरानै वडाध्यक्ष र पुरानै नगर प्रमुखको पुनः निरन्तरताले वडा १ विभाजन हुनेमा वडाबासी भने आशाबादी छन् । पुर्वाधार विकास र सेवा सुविधा लिन वडा विभाजनको विकल्प नभएको अधिकांश नागरिकको भनाई छ । उनिहरु भन्छन्, ‘यहाँको समस्या अभाब र आवश्यकतासंग अध्यक्ष र मेयरज्यु जानकार रहेकाले वडा विभाजन हुने कुरामा हामी ढुक्क छौँ ।
घरनजिकै वडा कार्यालयबाट पाउने सम्पूर्ण सेवा पाउन थालेपछि त्यस क्षेत्रका नागरिक हर्षित बनेका छन् ।