इलामको कोल्ड स्टोर प्रयोग नहुँदा कृषक मर्कामा

द्वारा प्रकाशित गरिएको हो |
२०७९ भाद्र १३, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

इलामः इलाममा १० वर्षअघि निर्माण भएको कोल्डस्टोर प्रयोगबिहीन हुँदा कृषक मर्कामा परेका छन् । इलाम कृषि उत्पादनको लागि उर्वर भूमि मानिन्छ । जिल्लामा उत्पादित भएका तरकारी र फलफूल भण्डारण गर्ने हो भने बाहिरबाट ल्याउनु पर्दैन । तर, इलाममा निर्माण भएको कोल्डस्टोर प्रयोगबिहीन हुँदा समस्या बढ्दै गएको छ ।

इलाम नगरपालिका र भारतीय दूतावासको सहयोगमा इलाम नगरपालिका(९ स्थित सेरामा १० वर्षअघि निर्माण भएको एउटै कोल्डस्टोर सञ्चालन नहुँदा यहाँ उत्पादित नगदेबाली विराटनगर लगेर भण्डारण गर्नुपर्ने समस्या रहेको छ । २ हजार टन क्षमताको कोल्डस्टोर निर्माण गरिए पनि प्रयोगबिहीन बन्दा अर्थ न बर्थझैँ भएको छ ।

कोल्डस्टोर निर्माणको लागि भारत सरकारबाट ४ करोड ३९ लाख ३ हजार, नेपाल सरकारबाट ६७ लाख ५८ हजार रुपैयाँ र इलाम नगरपालिकाले ४३ लाख ५ हजार रुपैयाँ लगानी गरेको थियो । तर, कोल्डस्टोर निर्माण भएर सञ्चालनमा नआउँदा कृषकले उत्पादन गरेको अधिकांश तरकारी तथा फलफूल बारीमै कुहिएर जाने गरेको छ ।

यतिबेला इलामेलीहरु भारत र तराईका बजारबाट आयातित फलफूल तथा तरकारी उपभोग गर्न बाध्य भएका छन् । इलाममा किवीसहित विभिन्न किसिमका फलफूल र तरकारी उत्पादन हुने गरेको छ । तर, निर्माण सम्पन्न कोल्ड भण्डार अहिलेसम्म प्रयोगबिहीन अवस्थामै छ । शीत भण्डारको रेखदेखका लागि नगरपालिकाले एकजना चौकीदार राखेको छ ।

नगरपालिकाले शीत भण्डार सञ्चालनका लागि पटक पटक ठेक्का आवाह्न गरेको थियो । तर, अझै संचालनमा आउन सकेको छैन । अहिले यो सञ्चालनमा नआउँदा त्यहाँ जडान गरिएका उपकरणमा समेत खिया लागेर बिग्रने अवस्थामा पुगेको छ । इलाम नगरपालिकाका सूचना अधिकारी रामकुमार साह कोल्ड स्टोर एक पटकमा एकै प्रकारका उत्पादन मात्र भण्डारण गर्न मिल्ने ‘सिंगल च्याम्बर’ को भएकाले संचालन गर्न समस्या भएको बताउँछन् ।

यसरी राज्यको करोडौं रुपैयाँ लगानी गरेर निर्माण भएका यस्ता संरचना सञ्चालनमा नल्याउनु दुर्भाग्य हो । राजनीति स्वार्थका लागि संरचना बनाउन उद्घाटन, शिलन्यास गर्न तछाड मछाड गर्ने तर फेरि यस्ता संरचनाको बारेमा चासो नराख्दा कैयौं संरचना अलपत्र पर्ने गरेका छन् । त्यसैले यस्ता संरचनाको अवलोकन र निरीक्षण गरी त्यसलाई सञ्चालनमा ल्याउनु जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय