पूर्वाधार विकास र प्रचारप्रसारको कमिले रेडपान्डा पाईने थुम्के ओझेलमा

द्वारा प्रकाशित गरिएको हो |
२०७९ भाद्र १९, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मनोज अधिकारी,फिक्कलः पूर्वाधार विकास र प्रचारप्रसारको कमिले इलामको थुम्के क्षेत्र पछि पर्दै गएको छ । दुर्लभ वन्यजन्तु हाब्रे ९रेडपान्डा० पाईने सो क्षेत्र प्राकृतिक रुपले सुन्दर मात्र नभई बनजङ्गल,कृषि र लेकाली जडिबुटी पाईने उर्भर भुमि पनि हो । श्रीअन्तुमा जस्तै सूर्योदय नियाल्न सकिने ठाउँ हो । तर सडक अभाव र पर्याप्त पुर्वाधार विकास नहुँदा ओझेलिएको छ । सोही क्षेत्रमा फेला परेका करिब ७ वटा हाब्रे अहिले संरक्षित छन् । आलु जोनका रुपमा रहेको थुम्केको चारैतिर घना जङ्गल छ । कालो चिण्डे,सेतो सतुवा,फलात ,लोठ्सल्ला चिराइतो,बुढोओखती,चिङफिङ्ग, भलायो जस्ता धेरै जडिबुटि र रुख बिरुवा यहीँ पाइन्छन् । विश्व सम्पदा सुचिमा सुचिकृत नजिकैको चित्रे क्षेत्र संरक्षणको अभावमा अस्तब्यस्त नै छ । असहज भौगोलिक अवस्थाका कारण पर्यटक चाहेर पनि उक्त क्षेत्रमा पुग्न सकेका छैनन् । प्रचारप्रसारको कमिले अनेकौँ विशेषता बोकेको थुम्के पछाडि परिरहेको हो । सरकारले पर्यटन महोत्सव नै लगाएर प्रवर्धनको प्रयाश गरेपनि ठोस उपलब्धि हाँसिल नभएको स्थानीय बताउँछन् । सडक अभावका कारण मानिसहरुले सो क्षेत्रको अवलोकन गर्न पाएका छैनन् ।

सूर्योदय नगरपालिका वडा नं १ मा पर्ने यस ठाउँलाई पर्यटन प्रवर्धन गरि विकास गर्न स्थानीय जुटेका छन् । सरकारले गर्ला भन्दै पर्खेर बसेको यतिका बर्ष भएपनि उपलब्धिमुलक प्रयाश नभएपछि समिति गठन गरेर उनीहरुले प्रचारप्रसार शुरु गरेका हुन । थुम्के पर्यटन प्रवर्धन विकास समिति बनाएर सरकारलाई घचघच्याउन थालिएको अध्यक्ष तारा थापाले बताए । उनले भने, ‘हामिले सम्पूर्ण पर्यटकिय स्थलहरुको डिपिआर गरिदिन माग गर्दै सूर्योदय नगरपालिकालाई पत्र बुझाएका छौँ ’। धार्मिक पर्यटन,बन तथा कृषि पर्यटन जस्ता प्रचुर सम्भावना बोकेर पनि विकासको अभावमा पछि पर्दै गएकाले आफुहरु पहलकदमीमा लागेको थापाले बताएका छन् । स्थानिय सरकारले थुम्केलाई प्रवर्धन गर्न ध्यान नपुर्याएको भन्दै उनले भने, ‘सबैको सहयोग हुन सके आन्तरिक मात्र होइन बाह्य पर्यटक समेत भित्र्याउन सकिने छ ।’

प्राकृतिक श्रोत र साधनले भरिएको थुम्के क्षेत्रमा दुर्लभ रेडपान्डा पाईने भएकाले यसको विकास गर्न आवश्यक रहेको समितिका कोषाध्यक्ष खड्ग खतिवडाले बताए । उनका अनुसार, सडक अभाव र प्रचारप्रसारको कमिले थुम्के पछि परेको हो । कृषि,बन,बन्यजन्तु लेकाली जडिबुटी जस्ता विशेषता बोकेको क्षेत्रलाई सरकारले ध्यान नपुर्याएकोमा उनले गुनासो गरेका छन् ।

लामो समय शिक्षण पेशामा लागेर निवृत्त जिवन विताईरहेका धन कुमार प्रधान पनि थुम्केको पर्यटन प्रवर्धनमा लागिपरेका छन् । आफु समितिको सदस्य बसेर उनले स्थानीयलाई लागी पर्न आग्रह गर्दै जनप्रतिनिधिलाई घचघच्याउने काम गरिरहेका हुन् । उनले भने,‘सूर्योदय नगरपालिकाले थुम्के पर्यटन महोत्सव लगाएर केहि पहल गरे पनि पर्याप्त हुन सकेको छैन ।’ सडक नहुँदा पर्यटक पुग्न नसक्ने र प्रवर्धनमा सरोकारवालाको चासो कम हुँदा थुम्केको विकास हुन नसकेको उनको भनाई छ ।

नगर उपप्रमुख बरालले थुम्केलाई पर्यटकीय हब बनाउने कुरामा सूर्योदयका सम्पूर्ण जनप्रतिनिधि सकारात्मक रहेको बताएका छन् । आफुले ५६ सालबाट त्यस क्षेत्रलाई नजिकबाट नियाल्दै आएको सुनाउँदै उनले अब विकास विस्तार र प्रवर्धनमा सकेको सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

थुम्केमात्र होइन जिल्लामै पहिलोपटक गाडी गुडेको ऐतिहासिक बजार भनिने गोर्खे सडकका कारण आज पनि पछाडि नै छ । स्थानिय सरकारले बजार क्षेत्र कालोपत्रे गरेपनि भारतिय सिमा जोडिने मानेभञ्ज्याङ सम्मको अवस्था विग्रदो नै छ । उप प्रमुख बरालले जनाए अनुसार चाँडै ठेक्का आह्वान गरि काम शुरु हुने गरि तयारी भने भई रहेको छ । हङ्गरायो नामको दुर्लब चरा पाईने सिमधाप जस्ता थुप्रै क्षेत्र पुर्वाधार विकास र प्रचारप्रसारको अभावमा ओझेल परेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय