
फिक्कलः इलामको सूर्योदय नगरपालिका वडा नं १० स्थित फिक्कल बजारमा सरसफाई गरिएको छ। सूर्योदयको केन्द्र मानिने फिक्कल बजारको सुन्दरतामा नै अव्यवस्थित फोहोरमैलाका कारण दाग लागेपछि वडा नं १० कार्यालय र महिला बालबालिका ज्येष्ठ नागरिक एवं अपाङ्गता शाखा सूर्योदयको पहलमा सरसफाई कार्यक्रम गरिएको हो ।
सोमवार विहान चोक बजारमा भेला भएका करिब एकसय जनाको उपस्थितले सफाई गरेका छन् । उक्त कार्यक्रममा नगर उपप्रमुख दुर्गा कुमार बराल,वडा नं १० का अध्यक्ष पेमा उर्गेन लामा ९भाईचुङ०, महिला बालबालिका ज्येष्ठ नागरिक एवं अपाङ्गता शाखाकी प्रमुख तारा शेर्पा समेतको सहभागीता रहेको थियो । वडाका कर्मचारी, पालिकाका कर्मचारी,एक्सल डेभलपमेन्ट बैंक सहित विभिन्न संघसंस्थाका कर्मचारी, सुरक्षा कर्मी, व्यवसायी, स्थानीयवासी लगायतले सकृयतापुर्वक सहभागिता जनाएका थिए ।



देश विदेशमा नाम चलेको कन्याम,अन्तु, सन्दकपुर, इलाम लगायतका पर्यटकीय क्षेत्र जान सेन्टर बजारका रूपमा रहेको फिक्कल प्राकृतिक रूपमा सुन्दर भएपनि फोहोरमैला व्यवस्थापन नहुँदा दुर्घन्धित हुने गरेको छ। नगरपालिकाले फोहोर संकलन गर्ने गाडी पठाएपनि कतिपय व्यापारि,पर्यटक, यात्रु आदिले जताततै फोहोर फालिदिँदा सफा हुन सकेको छैन भने यसखालका सरसफाई कार्यक्रम नियमित हुन नसक्दा बजार सफा हुन नसकेको हो । प्रदेश नम्बर एकको पर्यटकीय नगरी घोषित सूर्योदयका अधिकांश पर्यटकीय क्षेत्रको समस्या फोहोरमैला नै बन्ने गरेको छ । एक स्थानीय भन्छन्, “सफाईका लागी न हामी स्थानीयबासी,ब्यापारी जागरुक हुन्छोँ न सरकारले नै नियमितता देखाउँछ । भिआईपि आउँदा मात्र जाँगर देखाउने प्रवृतिले संधै बजार सफा हुँदैन ।” प्रत्येकले आफ्आफ्नो घर पसल अगाडी नाली सहित फोहोर ब्यवस्थापन गर्नसके बजार संधै सफा नै हुन्छ । तर सरकालाई दोष देखाएर आफु संधै जोग्गिने प्र्रवृत्ति जन समुदायमा पनि फैलिएको छ । यस प्र्रकारका सरसफाई कार्यक्रम नियमित रुपमा अनिवार्य गरिनुपर्ने अधिकांश बताउँछन् ।
सूर्योदय नगरपालिकालाई यही मंगलबार बालदिवसको अवसरमा बालमैत्री नगरपालिका घोषणा गरिदैछ । सो कार्यक्रमको पुर्व तयारीका रूपमा सरसफाई गरिएको शाखा प्रमुख तारा शेर्पाले जानकारी दिएकी छन् । सूर्योदय जिल्लामै पहिलो, प्रदेशमा तेस्रो र देशभरमा दशौँ बालमैत्री नगर बन्न लागेको हो। कार्यक्रमको प्रमुख अतिथिका रूपमा पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र विशेष अतिथिका रुपमा प्रदेश १ कि पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वाको उपस्थिति रहने नगरपालिकाले जनाएको छ।