मनोज अधिकारी
फिक्कल,२६ कात्तिक, (रासस) ः दिनदिनै आकासमा बादल बढ्दैछ, दिनपनि धुमिलो हुन थालेको छ । चुनावी सरगर्मी बढ्दै गर्दा उम्मेद्वार नेता कार्यकर्तालाई भ्याइनभ्याई छ । मंसीर ४ को लागि तोकिएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिदै जाँदा धेरैलाई चुनावले तानेको छ, तर किसानलाई चुनावी सरगर्मीले खासै छोएको छैन । बरु उनीहरु पानीले पाकेको धान थन्क्याउन नदिएला कि भनेर पिरोलिएका छन् । पाकेको धान भकारीमा थन्क्याउने चटारोमा छन् ।
जिल्लाका अधिकांश किसान यतिबेला धान थन्क्याउने चटारोमा छन् । उनिहरुलाई निर्वाचनमा कसले जित्ला र सरकार बनाउला भन्ने भन्दा पनि यो पटक कति धान भित्र्याइएला भन्ने चिन्ता बढी छ । इलाम सूर्योदयका जगन्नाथ सापकोटा भन्नुहुन्छ, “बर्षभरिको कमाई यहि धान हो भकारीमा थन्क्याउन मौषमले नदेला की भन्ने मात्र पिर छ ।” पोहोर साल बिटा लगाउन ठिक्क पारेको धान झरि परेर बर्बाद पारिदिएको सम्झिदै उहाँले भन्नुभयो, “यो साल त बेलैमा धान भित्र्याउन पाए हुन्थ्यो ।”
सापकोटालाई निर्वाचन नेताको लागी मात्र हो जस्तै लाग्छ । “चुनाव त नेताका लागी त रहेछ एकदिन भोट हाल्न जाउँला जस्ले जितुन–जितुन, काम कसैले गर्ने होइन क्यारे ।” २०४८ सालबाट निरन्तर मतदान गर्दै आउनुभएका सापकोटा भोट सुन्दै दिक्क हुनथालेको बताउनुहुन्छ । “मैले ४८ सालदेखि प्रत्येक चुनावमा भोट हाल्दै आएको छु । म जस्ता हजारौँ किसानको दुख जस्ताको त्यस्तै छ । उनिहरु भोट जितेर जान्छन् झगडा गर्छन् काम केही छैन हाम्रो दुख हामी संगै ।”
माईजोगमाईका रोशन दियालीको खेतमा समयमानै मल नपाएर धान सधैजस्तो फलेको छैन । बेलामा मल लगाउन नपाएपछि धानको बाला कम लागेको गुनासो गर्दै दियाली भन्नुहुन्छ, “उ त्याँ हेर्नुन, धानको गुबो नै आउन सकेन । कमसेकम किसानलाई मल विउ विजन मात्रै बेलैमा पाए काम गरेर खान त सकिन्छ ।”
पटक पटक चुनाव जिताएर पठाएका जनप्रतिनिधिले केहि राहात पु¥याउन नसकेको भन्दै किसानहरु निराश देखिन्छन् । फाकफोकथुम वडा नं ३ की प्रमिला राईको १६ मुरी धान फल्ने खेत छ । तर मल र खेताला लगाउन नसक्दा यो पटक आधा खेत बाँझै राख्नुपर्यो । राईले भन्नुभयो,“अर्पपर्म जान सकिदैन, मसिना बच्चा छन् । जसोतसो ६ गरा धान लगाएको थिए । अब थन्क्याउने बेला मुस्किल छ ।” खेताला अभावका कारण एक्लै धान काट्ने तयारी सुनाउँदै उहाँ भन्नुहुन्छ ,“एक हप्ता लगाएर एक्लै काट्छु भोटहाल्न जानुभन्दा त एक गरा धान पो काटिन्छ ।”
बिहान उठेदेखि साँझ सम्म खेतबारीमा नङ्ग्रा खियाएर गुजारा टार्दै आएका किसानलाई निर्वाचनको कुनै उत्साहा छैन । “मंगलबार एकैदिन दुई हुल मानिसहरु आएर आफ्आफ्नै पार्टीको भोट मागेर गए । दिनभरिको काम गफ गरेरै बित्यो ।” इलाम साँघुबेसीका हर्क मगरले भन्नुभयो, “यो गर्छौ, त्यो गर्छौ भोट चाहियो भन्नुभयो । आफुलाई पाकेको अन्न घर भित्र्याउन चिन्ता छ । केको घोषणापत्र? कस्तो योजना? वास्ता पो गरिएन ।”
बर्षभरिको मिहेनत भकारिमा जम्मा गर्न भ्याईनभ्याई किसानका लागि चुनावले खासै अर्थ राखेको पाईँदैन । इलामका अधिकांश किसान धान खेतिमा निर्भर छन् । धान र चिया नै इलामका कृषकको मुख्य खेति मानिन्छ । तर किसानका समस्या भने धेरै छन् । न समयमा मल पाईन्छ न त राज्यले विउ विजनमा अनुदान नै दिन्छ । आधुनिक कृषि प्रविधिको अभाव छ । उनिहरु सामान्यताः खेतबारीमा काम गर्दा प्रयोग हुने गम्बुट,डोका,नाम्ला र विउ विजन सरकारले उपलब्ध गराए हुन्थ्यो भन्छन् । सुन्दा सामान्य लागेपनि किसानका लागि यो ठुलो अभाव हो । कृषिका समस्या समाधान नगर्ने तर निर्वाचनका बेला भोट माग्दै घरघर आएर बिन्ति बिसाउने उम्मेद्वारहरुको नियत देखेर किसान आजित भएका छन् ।