इलामको दुबै क्षेत्रबाट एमालेले विजय उत्सव मनाउँछः नेम्वाङ

द्वारा प्रकाशित गरिएको हो |
२०७९ मंसिर १, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मनोज अधिकारी
फिक्कल,१ मङ्सिर ः नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुबासचन्द्र नेम्वाङले इलामका दुबै निर्वाचन क्षेत्रमा एमालेले विजय उत्सव मनाउने बताउनुभएको छ । चुनावी प्रचार–प्रसारको अन्तिम दिन बिहिबार इलाम बजारका मतदाता संगको भेटमा उहाँले आगामी मसिर ४ को प्रतिनिधिसभा तथा प्रदेससभा सदस्य निर्वाचनमा इलामका दुबै क्षेत्रमा एमालेका उम्मेद्वार विजयी बन्ने दाबी गर्नुभयो । नेम्वाङले भन्नुभयो, “तपाईहरुले दिएको भोट खेर जाँदैन । हामी इलामका दुबै क्षेत्र बाट विजयी बन्दैछौ ।”

क्षेत्र नं २ मा कांगेस जिल्ला सभापति डम्बर खड्का संगको चुनावी प्रतिस्पर्धालाई नेम्वाङले सहज रुपमा लिनुभएको छ । उहाँले भन्नुभयो, “ठेक्का लिएर सडक खनेजस्तो सजिलो छैन देश बनाउने काम । हामी नीति बनाउँछौँ,कानुन बनाउँछौँ । पैशाको धाकमा चुनाव जितिन्न जनताले सहि ब्यक्ति पहिचान गर्न सक्छन् ।”

आफ्नो क्षेत्र मात्र नभई पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई हराएर एमाले जिल्ला अध्यक्ष महेश बस्नेतले समेत विजयको नारा घन्काउने नेम्वाङको विश्वास छ । खनालले आफ्नो दलको सरकार ढालेर कांग्रेस सभापतिको नेतृत्वमा सत्ता सुम्पिएपछि आफैँ एमालेबाट बिलिन भएको नेम्वाङले आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “झलनाथ जी ले चुनाव जित्ने आधार छैन । गठबन्धनमा आबद्ध दल कांगेसका सच्चा कार्यकर्ताले उहाँलाई भोट दिनुहुँदैन । चुनावपछि गाली खान तयार कांग्रेसका साथिहरुले मात्र भोट दिनुहोला ।”

मुलुकलाई संविधान दिएर विकासको आधार तयार बनाउन आफुले नेतृत्व गरको भन्दै उहाँ भन्नुहुन्छ, “यहाँहरुको विश्वास मैले तोडेको छैन ।” मतदातासामु संधै जसो उस्तै कुरा गर्ने नेम्वाङले आजपनि दईवटा बाचा गर्नुभएको छ । उहाँले चुनावी सभा गर्दै भन्नुभयो, “म धेरै आश्वासन बाढ्दिन मात्र दुईटा कुरा भन्छु,पहिलो म तपाईहरुको शिर निहुरिने काम कहिले गर्ने छैन र अर्को यस क्षेत्रका जनताको दुख,अभाव र समस्यामा मलम लगाउन सँधै हाजिर हुनेछु”

आफ्नो नेतृत्वमा संविधान जारी गरेर इलामे जनताको शिर उचो बनाएको दाबी गर्दै नेम्वाङ भन्नुहुन्छ, “सदासर्वदा जुनसुकै काम गर्दा यहाँहरुलाई सम्झिएर काम गर्नेछु । यहाँका प्रत्येक समस्या समाधान गर्ने कुरामा मेरो समर्थन रहनेछ ।”

नेम्वाङ पाँचौ पटक आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । उहाँले वि.सं २०५६ सालयता लगातार चुनाव जित्दै आउनुभएको छ । गत निर्वाचनमा कांग्रेस उम्मेद्वार केशव थापा करिब साढे नौ हजार मतान्तरले नेम्वाङसंग पराजित हुनुभएको थियो । अघाडिका चार निर्वाचनमा सहज जित हासिल गर्नुभएका नेम्वाङ दुई पटक संविधान सभाको अध्यक्ष समेत बनिसक्नुभएको छ ।

गत स्थानीय तहको निर्वाचनमा इलाम क्षेत्र नं २ मा वडाध्यक्षको मत एमाले र कांगेसको करिब बराबर जस्तै छ । उक्त चुनावमा वडाध्यक्षमा एमालेले पाएको मत ३२ हजार पाँच सय २७ हो भने कांग्रेसको पक्षमा ३२ हजार नौ सय ७८ मत प्राप्त थियो । यसैगरी नेकपा माओवादी केन्द्रको दुई हजार सात सय १७, जसपाको पाँच सय ५४,एकीकृत समाजवादीको दुई सय ७७ र राप्रपाको एक सय ३० मत छ।
इलाम जिल्लाका लागी कुल मतदाता २ लाख २४ हजार ४ सय ७७ रहेका छन् । स्थानीय तहको निर्वाचन यता जिल्लामा १२९ मतदाता थपिएका छन् । इलाम क्षेत्र नं २ मा मात्र १ लाख चार हजार नौ सय ४२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यलय इलामले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय