मनोज अधिकारी
फिक्कल,४ मङ्सिर ः आईतबार सम्पन्न प्रतिनिधिसभा सदस्य एवं प्रदेशसभा सदस्य निर्वाचनमा इलामबाट एक लाख २९ हजार १ सय ७५ मत खस्यो । यो कुल मतदाता संख्याको ५७.७७ प्रतिशत हो । जस्मध्ये पुरुषतर्फ ६८ हजार ४ सय ५८ र महिलातर्फ ६० हजार ७ सय १७ ले मतदान गरेको प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गानाले जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “इलाममा शान्तिपुर्वक निर्वाचन सम्पन्न भएको छ । मतदान गर्न धेरै जानुभएन उहाँहरुको आफ्नै समस्या हुनसक्छ । मतदान चै निर्धारित समयमा नै सकियो ।”
२ प्रतिनिधिसभा र ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको इलाममा सोमबार बिहान ७ बजेबाट मतगणना शुरु गरिने प्रमुख जिल्ला अधिकारी ढुङ्गानाले जानकारी दिनुभएको छ । उहाँका अनुसार क्षेत्र नं १ को गणना सूर्योदय नगरपालिका फिक्कलमा र २ नं क्षेत्रको गणना सदरमुकामस्थित सिटी हलमा गरिने छ । २ लाख २४ हजार ८ सय ७७ मतदाता संख्या रहेको इलाममा १ सय ५० मतदानस्थल र १ सय ३६ मतदान मतदान केन्द्र रहेका छन् ।



इलामका मतदातामा निर्वाचनप्रति खासै उत्साहा देखिएन । अधिकांश कृषक धान काट्न र आलु रोप्न ब्यस्त देखिए । फाकफोकथुम वडा नं ३ की प्रमिला राईले आईतबार दिनभर धान काट्नुभयो । गाउँका धेरैजसो मानिस मतदानकेन्द्र तर्फ जाँदा उहाँ ५ जना खेताला सहित धान काटिरहनुभएको थियो । उहाँले भन्नुभयो, “अरुबेला खेताला पाईन्न आजै रछ फुर्सद सबैको ।”
धुमिएको आकाश हेर्दै पोहोर सालको झरि सम्झिएर प्रमिला भन्नुहुन्छ, “बिहानसम्म त भोट हाल्न जाम्ला भन्या थियो आकाश कराएको सुने हाम्लाई मत भन्दा भात नै प्यारो भयो ।” उहाँलाई आफ्नो क्षेत्रमा को उम्मेद्वार छ मात्र होईन भोट नै कसरी हाल्ने हो थाहा थिएन । “भोट पनि कस्लाई हाल्ने? कसरी हाल्ने? सिकाउन पनि कोही आएन । हामिले जानेको यै धान काट्न रैछ यतै पो लाग्यो ।”
सूर्योदयका सन्देश खड्का आफ्नो उम्मेद्वार नभएकाले भोट हाल्न जानुभएन । उहाँ भन्नुहुन्छ, “गठबन्धनले गर्दा हाम्रा उम्मेद्वार परेनछन् हालिएन भोट । संधै एउटैलाई जिताउनु पर्ने, सबै मिलिजुली खाने रहेछन् । जनता हेरेको हेरै ।”
माईजोगमाई ३ का बिनु थापा, आईतबार दिनभरिमा ६ मन आलुलाई पुग्ने ६० भारि मल बोकेको बताउनुहुन्छ । थापालाई आलुरोप्न ठिक्क पारेको बारीमा पानी परेर हिलो बनाउँछ की भन्ने खुब चिन्ता छ । “एकझर पानि पर्यो भने सबै बरबाद हुन्छ । आज मल बोक्यो, भोलि रोपन्छि ढुक्क । हाम्रो चार पाँच मतले न कोही हार्ने, न कसैले जित्ने ।”
स्थानीय तहको निर्वाचनमा जस्तो मतदाता शिक्षा भन्दै घरघर गएर सिकाउने कोही नभएकाले धेरैलाई अन्योल भयो । कतिलाई उम्मेद्वार चित्त बुझेन भने कोही राजनीतिक दल र पुराना अनुहारप्रति दिक्क थिए । भोट हाल्न गएका मध्ये पनि धेरै चै सामाजिक र राजनीतिक बाध्यताले गएको सनाउँथे । इलामका किरण मगरले भन्नुभयो, “मताधिकारको प्रयोग त गरियो, तर कुनै जाँगर थिएन । सबैले हाल्दा जाम्न त भनेर गएको मात्र ।” पूर्व प्रधानमन्त्री झलनाथ खनाल र संविधानसभा अध्यक्ष सुबास नेम्वाङको गृह जिल्ला इलामका मतदातामा चुनाबप्रति खासै उत्साहा नदेखिएको हो ।”

