किन रोकियो इलामका दुबै निर्वाचन क्षेत्रमा मतगणना?

द्वारा प्रकाशित गरिएको हो |
२०७९ मंसिर ७, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मनोज अधिकारी
फिक्कल,७ मङ्सिरः इलामका दुबै निर्वाचन क्षेत्रमा स्थगित मतगणना कार्य शुचारु हुन सकेको छैन । पूर्व प्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र १ मा गएरातिबाट स्थगित मतगणना सुचारु ह्ुन सकेको छैन भने संविधानसभा अध्यक्ष सुबासचन्द्र नेम्वाङको निर्वाचन क्षेत्र २ मा बुधबार दिउँसोबाट मतगणना रोकिएको छ ।
क्षेत्र नं १ मा मतपेटिका रुजु नगराई खोलिएको भन्दै उम्मेद्वारले गणना अस्विकार गरेपछि राति १२ बजेबाट विवाद शुरु भएको थियो । गठबन्धन दलले आपत्ति जनाउँदै मत गणनास्थल छोडेपछि स्थगित गणना कार्य हालसम्म सुचारु ह्ुन नसकेको निर्वाचन अधिकृत राजकुमार दाहालले जानकारी दिनुभएको छ ।
“तर हामिले उम्मेद्वारका प्रतिनिधिलाई रुजु नगराई मतपेटिका खोलेका होईनौँ ।” उहाँले भन्नुभयो,“मतपेटिका खोलिसकेपछि एकजना उम्मेदवार आएर आपत्ति जनाउँदै विवाद निकाल्नुभयो ।” सर्वदलीय बैठक बसेपनि सहमति हुन नसकेको उहाँको भनाई छ । बैठकमा सहभागी गठबन्धनका प्रतिनिधिहरुले पुनः निर्वाचन वा पुनः मतगणनाको माग गरेपछि सहमति जुट्न नसकेको एमाले जिल्ला सचिव उमेश गुरुङले बताउनुभएको छ ।
त्यसैगरि क्षेत्र नं २ मा गणना सकिएको मतपत्र बोरामा खुल्ला राखिएको भन्दै गठबन्धनका प्रतिनिधिहरुले विरोध जनाएपछि मतगणना स्थगित गरिएको हो । दिउँसो ३ बजेबाट रोकिएको गणना शुचारु गर्न सर्वदलीय बैठकको प्रयाश भैरहेको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।
इलाम क्षेत्र १ मा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनाल एमाले जिल्ला अध्यक्ष महेश बस्नेतसंग १ हजार ५ सय ७ मतान्तरले पछाडी हुनुहुन्छ भने क्षेत्र नं २ मा एमाले उपाध्यक्ष नेम्वाङ नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्कासंग ९ सय ६ मतान्तरले अगाडी हुनुहुन्छ ।
क्षेत्र १ मा मंगलबार राति ८ बजे सम्ममा एक तिहाई भन्दा बढी मतगणना सम्पन्न भएको थियो । ५९ हजार १ सय ६ मध्ये २३ हजार ८ सय ६५ मत गणना हुँदा नेकपा एमालेका बस्नेतले १० हजार २ सय ८७ मत प्राप्त गर्दा नेकपा एसका झलनाथ खनालले ८ हजार ७ सय ८० मत प्राप्त गर्नुभएको छ । खनाल गठबन्धनको साझा उम्मेद्वार हुनुहुन्छ ।
यता क्षेत्र नं २ मा एमाले उम्मेद्वार नेम्वाङले १० हजार ४ सय ४० मत प्राप्त गर्दा कांग्रेसका खड्काको ९ हजार ५ सय ३४ मत प्राप्त रहेको छ । उक्त क्षेत्रमा २२ हजार मत गणना सम्पन्न भएको हो ।
आईतबार सम्पन्न प्रतिनिधिसभा सदस्य एवं प्रदेशसभा सदस्य निर्वाचनमा इलामबाट एक लाख २९ हजार १ सय ७५ मत खसेको थियो । यो कुल मतदाता संख्याको ५७.७७ प्रतिशत हो ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय