इलाम–१ का बिजयी उम्मेदवारले पाए निर्वाचित प्रमाणपत्र

द्वारा प्रकाशित गरिएको हो |
२०७९ मंसिर १२, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः इलाम क्षेत्र नं १ का प्रतिनिधिसभा र प्रदेशसभाका बिजयी उम्मेदवारहरुलाई प्रमाण वितरण गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयमा आयोजित कार्यक्रमको अध्यक्षता निर्वाचन अधिकृत राजकुमार दाहालले गरेका थिए । इलाम क्षेत्र नं १ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका महेश बस्नेत बिजयी भएका थिए ।

प्रदेशसभा तर्फ इलाम–१ को ९क० मा नेकपा एकिकृत समाजवादीकी खिनु लङ्वा लिम्बु र ख मा नेपाली कांग्रेसका शम्शेर राई निर्वाचित भएका छन् । बिजयी उम्मेदवारहरुलाई निर्वाचन अधिकृत राजकुमार दाहालले प्रमाणपत्र प्रदान गरेका थिए । निर्वाचन कार्यलाई सफल बनाउन योगदान गर्ने कर्मचारी, सुरक्षाकर्मीहरुलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै विजयी उम्मेदवारहरुले जनमतको कदर गर्ने प्रतिवद्धता जाहेर गरे । उनीहरुले जनताको अपेक्षालाई सम्मान गर्दै आगामी दिनमा इलामको विकास र समृद्धिको लागि ३ वटै तहको सरकारसंग समन्वय गरेर कार्य गर्ने बताए । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत दिपक कुमार दाहाल, सूर्योदय नगर प्रमुख रणबहादुर राई, प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङ्गानाले शुभकामना मन्तव्य राखेका थिए ।

गत मंसिर ४ गतेको निर्वाचनको अन्तिम परिणाममा प्रतिनिधिसभा तर्फ एमालेका बस्नेतले पुर्व प्रधानमन्त्री एवम नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई २ हजार ९ सय ५७ मतान्तरले पराजित गर्न सफल भएका थिए । बस्नेतले २५ हजार ६९९ मत पाउँदा खनालले २३ हजार ४५ मत मात्र पाए ।

प्रदेशसभामा इलाम–१ को क तर्फ लङ्वाले नेकपा एमालेकी शोभा पराजुलीलाई २ हजार ३ सय ७६ मतान्तरले पराजित गरिन् । उनले १३ हजार ३ सय ७० मत पाउँदा पराजुलीले ११ हजार ३ सय ९४ मत प्राप्त गरिन् । इलाम क्षेत्र नं १ को ख मा नेपाली कांग्रेसका राईले नेकपा एमाले दिपक कुमार थेवेलाई ६४१ मतान्तरले हराउँदै बिजयी भएका थिए । राईले १२ हजार ७७४ मत पाउँदा थेवेले १२ हजार १३३ मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय