
फिक्कलः इलामको सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिका जोड्ने फिक्कल गुप्ति नयाँबजार सडकखन्डमा कालोपत्रे गर्ने काम शुरु भएको छ । ट्रयाक खोलिएको करिब ७ दशक पछि बुधबारबाट उक्त सडक कालोपत्रे गर्ने काम सुरु भएको हो। प्रदेश सरकारले ५३ करोडको लगानीमा काम गर्दैछ । २ बर्ष अघि नै कालोपत्रे कार्य गर्नुपर्ने भएपनि कोभिडका कारण सडक स्तरोन्नतीको काम लम्बिदै आएको थियो । पहिलो चरणमा बरबोटेबाट साढे ५ किलोमिटर सडक कालोपत्रे हुने बताईएको छ ।
बुधबार निर्माण कम्पनी एपेक्स खनाल जोशी जेभिका प्रतिनिधि, स्थानीयबासिन्दा, जनप्रतिनिधि लगायतको उपस्थितीमा सडकको कालोपत्रे कार्य सुरु गरिएको हो । सडक कालोपत्रको कामको थालनी भएपछि इलामको उत्तरपूर्वी क्षेत्रका बासिन्दामा खुशियाली छाएको छ ।



फिक्कल देखी नयाँबजारसम्मको १९ किलोमिटर सडक पार गर्न ३१ घण्टा
पर्यटकको आवजावत हुने र देशकै सबैभन्दा ठूलो आलु विकास केन्द्र जौवारी हुँदै भारत जोड्ने सडक कालोपत्रे भएपछि स्थानीय उत्पादन सहज रुपमा बजार पुग्नेछ । २०७६ मंसिरमा एपेक्स खनाल जोशी जेभी निर्माणको सम्झौता भएको थियो । झापामा रहेको प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय मार्फत कार्यान्वय हुँदै आएको छ ।
सूर्योदय नगरपालिका, माईजोगमाई र सन्दकपुर गाउँपालिकाबासीलाई सेवा पुग्ने सडकको २० किलोमिटर २ सय मिटर कालोपत्रे हुनेछ । सडक निर्माणका लागि ५३ करोड ८९ लाख ३८ हजार एक सय ४९ रुपैयाँ खर्च हुने पूर्वाधार विकास कार्यालय झापाका प्रमुख रमेश कुमार श्रेष्ठले बताए । यो सडक तीन बर्ष अघि मात्रै उन्नती परियोजना अन्र्तगत १४ करोड ४६ लाख ३४ हजार रुपियाँ खर्च स्तरोन्नती गरिएको थियो ।सडक कालोपत्रे भएपछि भारतसँग सीमा जोडिने भएकाले सीमा क्षेत्रका नेपाली नागरिकको पनि नेपाली बजारसम्म पहुँच पुग्नेछ ।
सडक स्तरोन्नती र कालोपत्रेका लागि पूर्व प्रधानमन्त्री झलनाथ खनाल साथै प्रदेश सरकार संस्कृति तथा पर्यटनमन्त्री खिनु लङ्वाले पहल गर्दै आएका थिए । यस बाटोका लागी सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिकाको समेत सकृयता देखिएको छ । कालोपत्रे शुरु हुँदा स्थानीयबासी उत्साहित मात्र छैनन् गुणस्तरीय बाटो हुनुपर्ने भन्दै चनाखो समेत छन् । देशका कतिपय ठाउँमा गुणस्तरहिन काम हुनेगरेको समाचार पढे सुनेका उनिहरु निर्माणाधिन सडकमा नियमित संगै जस्तो रहेका छन् । उच्चस्तरीय प्राविधिक टोलिले अनुगमन गर्दै उपलब्धिलाई दिर्घकालिन बनाउन सहयोग हुनुपर्ने उनिहरुको भनाई छ । हालसम्म काम गुणस्तरीय रुपमा भैरहेको स्थानीयको प्रतिकृया छ ।