
फिक्कलः नेकपा एकिकृत समाजवादी सूर्योदय नगर कमिटीले नवनिर्वाचित प्रदेश सांसद खिनु लङ्वा र जनवादी कलाकारलाई सम्मान गरेको छ । नेकपा एसले फिक्कल स्थित कान्दुक फुटसल एरिनामा एक कार्यक्रम आयोजना गरि गत मंसिर ४ गतेको निर्वाचनमा इलाम–१ को १ बाट निर्वाचित पार्टीकी केन्द्रिय सदस्य लङ्वा सहित जनवादी कलाकार र पत्रकारलाई सम्मान गरेको हो ।
पार्टीका नगर अध्यक्ष कमल गदालको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य सूर्यबाला राईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि राई, सम्मानित व्यक्तित्व लङ्वा, सूर्योदय नगर प्रमुख एवम नेकपा एसका जिल्ला सचिवालय सदस्य रणबहादुर राई, जिल्ला समन्वय समिति उपाध्यक्ष एवम पार्टी जिल्ला उपाध्यक्ष चित्रकला बराइली, सूर्योदय नगरपालिका–१० का वडाध्यक्ष पेमा उगेन लामा र वडा नं ९ का वडाध्यक्ष देवेन्द्र शर्माले मन्तव्य राखेका थिए ।



कार्यक्रममा वक्ताहरुले प्राविधिक कारणले झलनाथ खनाल पराजित भएपनि नेकपा एकिकृत समाजवादी पार्टीले इलाममा प्रदेशसभामा आफ्नो गौरवमय इतिहास राखेको बताए । उनीहरुले विकास र आर्थिक समृद्धिका लागि पार्टी सदैव क्रियाशिल रहेकाले आगामी दिनमा नेकपा एसले आफुलाई बलियो शक्तिको रुपमा उभ्याउन सफल रहने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै प्रदेश नम्बर एकको संस्कृति तथा पर्यटनमन्त्री समेत रहेकी लङ्वाले विगतका दिन जस्तै सरकारमा प्रतिनिधित्व गरेर विकास र समृद्धिको लागि आफु तयार रहेको बताइन् । उनले आफ्नो कार्यकालमा भएका विकास छलंग देखिने बताइन् । उनले मतदातालाई धन्यवाद ज्ञापन गर्दै निर्वाचन ताका गरेको प्रतिवद्धता पुरा गर्न तयार रहेको बताइन् । कार्यक्रमको संचालन लाकेल लामाले गरेका थिए ।
सोही कार्यक्रममा पत्रकारद्धय राजकुमार दाहाल र जयकुमार राई समेत सम्मानित भएका थिए ।