मनोज अधिकारी
फिक्कलः इलामको सूर्योदय नगरपालिका वडा नं १ मकर्जुङ्गमा अवस्थित श्री सिंह बाहिनी देवी मन्दिरमा हरेक बर्ष पूजा लाग्दै आएको छ । धार्मिक आस्थाको धरोहर मानिएको उक्त मन्दिरमा गाउँलेले श्रद्धाभक्ति पुर्वक देवी पूजा लगाउँदै आएको बर्षौँ बित्यो ।
मनोकामना पुरा हुने विश्वासका कारण विभिन्न क्षेत्रबाट भक्तजन यहाँ आउने गरेका छन् । मन्दिर स्थापनाको यकिन मिति पत्ता लगाउन मुस्किल भएपनि परापुर्व कालदेखि गाउँलेले आदरभाव ब्यक्त गर्दै दैविक शक्तिको विश्वास राख्दै आएका हुन् ।
अघिल्लो पुस्ताले सामान्य घेराबारा गरेर मन्दिरको स्वरुप तयार गरेपनि नयाँपुस्ताको सकृयतामा हाल मन्दिर परिसर ब्यवस्थित बन्दै गएको छ । मुलुकमा संघियता आएपछि सरकारको नजर यस मन्दिरमा पर्यो ।
आर्थिक बर्ष २०७२÷७३ मा २ लाख बजेट पाएर उपभोक्ता समिति मार्फत कामको शुरुवात भएको थियो । हालसम्म करिब १० लाख लागतमा नौ कोणको मन्दिर परिसर निर्माण र एक तले पक्कि भवन तयार भएको निर्माण समितका अध्यक्ष जिवन पोख्रेलले जानकारी दिनुभएको छ ।
पोख्रेलका अनुसार, यस आर्थिक बर्षमा संस्कृति तथा पर्यटन मन्त्रालयको करिब ११ लाख बजेट आउने पक्का भएको छ । सो कामका लागि प्राविधिक स्टमिट तयार हुँदै छ । काम उपभोक्ता समिति मार्फत हुनुपर्ने गाउँलेले माग गरेका छन् ।
स्थानिय सुबास सापकोटा भन्नुहुन्छ, “मन्दिर प्रति युवापुस्ताको समेत लगाभ पाईएको छ । सरकारले सहयोग गरेको बेला सबैको सहभागितामा भौतिक संरचना ब्यवस्थित गर्न सके अन्य धार्मिक तथा सामाजिक कामका लागि समेत भवन उपयोगि बन्नेछ ।”
सदाको बर्ष जस्तै यसपटक पनि पूजा
प्रत्येक बर्ष पुजा आयोजक समिति नै तयार गरि शान्तिको कामनामा देवीको पूजा लगाईँदै आएको हो । यसपटक श्यामबहादुर निरौलाको अध्यक्षतामा गठित ११ सदसिय समितिले पुजा सम्पन्न गरेको छ ।
मकर्जुङ्ग सहित धाप,धजे,गोर्खे,पान्दाम,प्रमेजुङ,लब्सिबोटे,फिक्कल लगायतका क्षेत्रबाट करिब पाँच सय बराबर भक्तजनको उपस्थितिमा सम्पन्न पूजाका लागि ४३ हजार बराबर आर्थिक सहयोग संकलन भएको आयोजक समितिका सचिव छविलाल सापकोटाले जानकारी दिनुभएको छ । मन्दिरको कोषमा १७ हजार रकम बचत गरिएको सापकोटाले जनाउनु भयो ।
पन्डित अनन्त शरण पौड्याल,पुरोहित ढाकानाथ तिम्सिना संगै सिद्धेश्वर गुरुकुल सूर्योदय ३ रुङसुङका विद्यार्थीहरुको सहभागितामा विधिवत पूजापाठ सम्पन्न भएको थियो ।