प्रेम आचार्यका परिवारले ५० लाखको बीमा दाबी पाउने

द्वारा प्रकाशित गरिएको हो |
२०७९ माघ १४, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

झापाः सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रेम आचार्यको परिवारलाई ५० लाख रुपैयाँ हाराहारीको दाबी भुक्तानी प्रदान गर्ने भएको छ । नयाँ वानेश्वरको संसद भवन अगाडि गत मंगलबार आत्मदाह गरेका आचार्यले २०७७ सालमा सन नेपालमा ५० लाख रुपैयाँ बीमाङ्कको धनन्जय जीवन बीमा पोलिसी खरिद गरेका थिए ।

आचार्यले आफ्नो सुसाइड नोटमा ‘बिर्तामोड झापा शाखाका मानिसहरुले बीमा गर्दिन भन्दा भन्दै जबरजस्ती एक करोडको बीमा गराएर ४(५ लाख असुले’ भन्ने लेखेपछि सोसम्बन्धी सर्वत्र चासो जागेको थियो ।

सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालका अनुसार आचार्यले बिर्तामोड शाखाबाट ५० लाख रुपैयाँ बीमाङ्क बराबरको पोलिसी खरिद गरेका थिए । ‘सामाजिक सञ्जालमा एक करोड भनिए पछि पोलिसी फाइल हेर्दा ५० लाख रुपैयाँको बीमा गरिएको पाइएको’ प्रमुख कार्यकारी अधिकृत अर्यालको भनाई छ ।

आचार्यले पोलिसी खरिद गरे पछि लगातार दुई किस्ता बापतको बीमा शुल्क भुक्तानी गरेका थिए । तर पछिल्लो किस्ता बापतको बीमाङ्क रकम भुक्तानी गरेका थिएनन् । समयमा तेस्रो किस्ता भुक्तानी नगरेकाले उनको यो पोलिसी व्यतित बीमालेखमा गणना भइकेको प्रमुख कार्यकारी अधिकृत अर्यालले बताए ।

नियम अनुसार बीमा पोलिसी खरिद गरेको दुई वर्षसम्म बीमितले आत्महत्या गरेमा दाबी भुक्तानी पाइँदैन । तर पोलिसी खरिद गरेको तीन वर्ष पुगेकोले आचार्य दाबी पाउन योग्य भएको अर्यालले जानकारी दिए ।

आचार्यले धनफिर्ता ‘मनिव्याक’ पोलिसी खरिद गरेको हुँदा उनले वार्षिक रुपमा बीमाङ्कको ५ प्रतिशतका दरले दाबी पाउने व्यवस्था छ । सोही अनुसार उनले यस अगाडि २ पटक ५ प्रतिशतका दरले रकम फिर्ता पाइसकेका छन् । यस हिसाबले उनले ५ लाख रुपैयाँ फिर्ता पाइसकेका छन् । तेस्रो किस्ता वापतको बीमा शुल्क चाहिँ उनले नतिरेको कारण सोही तेस्रो वर्षको बीमा शुल्क रकम भने घट्नेछ र बाँकी रकम उनको परिवारलाई कम्पनीले भुक्तानी गर्ने प्रमुख कार्यकारी अधिकृत अर्यालले प्रष्ट पारेका छन् ।

कम्पनीले आचार्यको पोलिसी फाइल केन्द्रीय कार्यालयमा मगाएको बिर्तामोड शाखाका विकास श्रेष्ठले जनाएका छन् । उक्त पोलिसी फाइल काठमाडौं पठाइएको छ भने बीमा दावीका लागि आवश्यक पर्ने कागजातहरु पनि परिवारजनलाई शीघ्र उपलब्ध गराउन भनिसकिएको श्रेष्ठको भनाई छ ।

आचार्य परिवारले बीमा वापत ठ्याक्कै कति रुपैयाँ पाउने भन्ने विषयमा यकिन नभए पनि ५० लाख हाराहारी नै पाउन सक्ने अनुमान रहेका शाखाका प्रकाश पौडेलले जानकारी दिएका छन् । ‘कम्पनीले दाबी भुक्तानी गर्दा नियमअनुसार आचार्यले भुक्तानी नगरेको तेस्रो वर्षको बीमा शुल्क घटाउनेछ । त्यस पछि बीमित आचार्यले तिरेको बीमाङ्क रकमको बोनससहित जोडिनेछ । यस आधारमा आचार्यको परिवारले ५० लाख हाराहारीकै दाबी पाउने देखिन्छ’ पौडेलको भनाई छ ।

बीमा पोलिसीमा बीमित आचार्यले हकवालाको नाम श्रीमती नानुका अधिकारी राखेकाले आवश्यक कागजातहरु संकलन गरी दाबी भुक्तानीको प्रकृया पूरा गरिने र आचार्यको दशगात्र कर्मभित्रै उक्त रकम हस्तान्तरण गरिसक्ने योजना रहेको बिर्तामोड शाखाका रुद्र निरौलाले बताएका छन् ।

इलाम स्थायी घर भएका आचार्य उद्यमी, व्यवसायी थिए । व्यवसायका क्रममा आइपरेका अनेकौ समस्यालाई सार्वजनिक गरेका आचार्यप्रति सबैले सहानुभुति राख्दै आएका छन् । बीमा कम्पनीका कर्मचारीलाई जस्तो आरोप लगाए पनि आचार्यकी श्रीमती नानुका अधिकारीले लगभग ५० लाख रुपैयाँ दाबी भुक्तानी पाउने कम्पनीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय