सूर्योदय नगरपालिकाका सामुदायिक विद्यालयहरुमा विद्यार्थीको आकर्षण

द्वारा प्रकाशित गरिएको हो |
२०७९ माघ १५, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मनोज अधिकारी
फिक्कल,१४ माघ,(रासस) ः इलामको सूर्योदय नगरपालिकाका सामुदायिक विद्यालयहरुमा विद्यार्थीको आकर्षण बड्दै गएको छ । यस पालिका भित्र बाल कक्षा देखि कक्षा १२ सम्म सामुदायिक विद्यालयहरुमा ६१.७४ प्रतिशत र संस्थागत विद्यालयहरुमा ३८.३६ प्रतिशत विद्यार्थी अध्ययनरत रहेको नगरपालिकाका प्रवक्ता ख्यामबहादुर भूजेलले जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “२०७७ र २०७८ सालको विद्यार्थी विवरण तुलना गर्दा सामुदायिक विद्यालयमा ११.२५ प्रतिशत विद्यार्थी वृद्धि भएको देखिन्छ ।”

यस पालिका भित्र सामुदायिक विद्यालय,गुरुकुल र गुम्बा समेत गरी ६६ वटा,संस्थागत विद्यालय ३१ वटा र गुठी बाट सञ्चालित संस्थागत विद्यालय १ वटा समेत गरी जम्मा ९८ वटा रहेका छन् । त्यसैगरी सामुदायिक सिकाई केन्द्र ३ वटा र स्नातक तह सञ्चालित क्याम्पस १ वटा रहेका छन् । उक्त क्याम्पसमा हाल लगभग तीन सय विद्यार्थी अध्ययनरत रहेको प्रवक्ता भुजेलले बताउनुभयो । उहाँका अनुसार, यस नगरपालिका क्षेत्र भित्रका सामुदायिक विद्यालयहरुमा शिक्षक दरबन्दी ३९८, माध्यमिक तथा आधारभुत तहका अनुदान कोटाको शिक्षक संख्या १४, बाल शिक्षक ६२ तथा विद्यालय सहयोगी र सहायक कर्मचारी ७८ गरी जम्मा ५५२ दरबन्दी रहेका छन् ।

नगरपालिका क्षेत्र भित्रका विद्यालय र यहाँको समग्र शैक्षिक स्थिति सुधारका लागि पालिकाले आधारभूत तथा माध्यमिक शिक्षा ऐन, २०७६ तथा नियमावली २०७६ लागू गरी समयसापेक्ष रुपमा संसोधन गर्दै आएको नगरप्रमुख रण बहादुर राईले बताउनुभएको छ । “सबै सामुदायिक विद्यालयहरुको दरबन्दी मिलान केन्द्र सम्पन्न गरेर विषयगत शिक्षक ब्यवस्थापन गरेका छौँ ।” प्रमुख राईले भन्नुभयो, “सबै आधारभूत तहमा अङ्ग्रेजी र नेपाली दुबै माध्यममा शिक्षण सिकाई भईरहेको छ । इन्टरनेटको पहुँच सबै तिर पुगेको छ ।” नगरपालिकाले सामुदायिक विद्यालयको आर्थिक ब्यवस्थापन गर्न कार्यविधि २०७७ पारित गरि कार्यान्वयन गरिरहेको छ । विद्यालय कार्यसम्पादन निर्देशिका, २०७८ बमोजिम करार सम्झौता हुने गरेको र समयसमयमा स्वमुल्याङ्कन हुने गरेको राईले बताउनुभयो ।

विद्यार्थीहरु सामान्यतया गणित विषयमा कमजोर भएको पाईएपछि नगरपालिकाले ‘गणित संग खेलौँ, गणितीय धारणा बसाऔँ’ भन्ने नाराका साथ विद्यार्थीलाई गणित अभ्यास पुस्तिका वितरण गर्ने गरेको छ भने आधारभूत विद्यालयहरुमा विज्ञान तथा गणित प्रयोगशाला स्थापना र सञ्चालन भईरहेको छ । ‘बाह्र महिना बाह्र कार्यक्रम’ अन्तर्गत हरेक महिना अतिरिक्त कृयाकलाप हुने गरेको छ । पालिकाले सञ्चालन गर्दै आएको ‘छोरी बुहारी शिक्षा’ कार्यक्रम प्रभावकारी भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख योगनिधि भट्टराईले बताउनुभयो । “यस कार्यक्रम अन्तर्गत नगरपालिकाले श्री करफोक विद्या मन्दिर बहुमुखी क्याम्पसमा अध्ययनरत १५४ जना छोरी बुहारीका लागि बार्षिक २५ लाख छात्रवृत्ति उपलब्ध गराईरहेको छ ।” उहाँले भन्नुभयो,“यस बर्ष वितरण गरिएको २५ लाख बाट छोरी बुहारीलाई स्नातक तह उत्तिर्ण गराई उच्च शिक्षा प्र्राप्त गर्ने महिलाको दर बढाउने कार्य भईरहेको छ ।”

यहाँका २४ वटा सामुदायिक विद्यालयमा ई हाजिरी जडान भएका छन् । अविभावक परिचयपत्र वितरण, बाल बचतका लागि बैँक खाता, सुचना प्रविधि प्रयोगशालाको स्थापना, मेयर शिक्षा सुधार कोष सञ्चालन कार्यविधिबाट प्राविधिक विषय अध्ययनका लागि छात्रवृत्ति लगायतका कार्यक्रम सञ्चालन गरि सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन नगरपालिकाले प्रयास गरिरहेको प्रमुख प्रशासकिय अधिकृत मिलन भट्टराईले बताउनुभएको छ । सूर्योदय प्रदेश नं १ को पर्यटकीय नगरी र तेश्रो बालमैत्री नगरपालिका समेत हो । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय