मनोज अधिकारी
फिक्कल,०६,फागुन, रासस ः भारतीय सीमा क्षेत्र पशुपतिनगरका बासिन्दा लाई आफ्नै जिल्लाको अर्को गाउँ पुग्न पनि भारतीय भू–भाग भएर जानुपर्ने बाध्यता थियो । इलामको सूर्योदय नगरपालिकामा पर्ने पशुपतिनगरका बासिन्दा मानेभञ्ज्याङ जान र त्यहाँका बासिन्दा पशुपतिनगरतिर आउन बर्खामा निकै कठिन थियो। हिउँदमा पनि डेढ किलोमिटर पर्तिरको गाउँ पुग्न भारतीय भू–भाग घुमेर गाडीमा जाँदा करिब २ घन्टा लाग्थ्यो। तर अब उक्त समस्याको अन्त्य हुने भएको छ। पशुपतिनगर–मानेभञ्ज्याङ सडक निर्माण थालिएपछि स्थानीयलाई सहज हुने भएको हो। पशुपतिनगरबाट सोझै मानेभञ्ज्याङसम्म सडक बनेपछि स्थानीयले सुविधा पाउने भएका छन्।
१ हजार २ सय मिटरको यो सडक ढलान हुँदै गरेको डिभिजन सडक कार्यालयका कार्यालयका इन्जिनियर सञ्जय गौतमले बताउनुभएको छ । उहाँका अनुसारकालोपत्रेसम्मको काम ३ करोड ७१ लाख रुपैयाँमा ठेक्का लागेको छ। “नेपाल–भारत सीमा क्षेत्रमै पर्ने यो सडक महत्वपूर्ण छ ।” उहाँले भन्नुभयो, “निर्माणको काम तोकिएको मितिमा सकिनेमा हामी ढुक्क छौँ । भगवती बौद्ध सोहिना जेभीले निर्माण ठेक्का लिएको छ । आउँदो असार २० मा काम सक्नेगरी गएको चैत २० मा ठेक्का सम्झौता भएको थियो।” हालसम्म ४० प्रतिशत काम सम्पन्न भएको इन्जिनियर गौतमले जानकारी दिनुभएको छ।



सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले भौगोलिक रुपमा कठिन क्षेत्र भएकाले यहाँ सडक निर्माण गर्न थुप्रै चुनौतीको सामना गर्नु परेको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ बर्षौँ देखि सडकको अभाव थियो तत्काल समाधान गर्न थुप्रै प्रयास गरियो । अत्यन्तै कठिन भौगोलिक बनावटका बावजुत हामी सफल भएका छौँ ।” यहाँ सडक बनेपछि सर्वसाधारणले सामान्य काममा पनि भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य हुने प्रमुख राईको विश्वास छ । नेपालीले नेपालभित्रै पुग्न आफ्नै भूमि प्रयोग गर्न पाउनु स्वाभिमानको कुरा पनि हो। उहाँ भन्नुहुन्छ, “नागरिकलाई मात्र होईन सुरक्षाकर्मिलाई समेत सुरक्षा ब्यवस्थामा असहज परिस्थिति थियो । सबैका लागि यो सडक अत्यावश्यक र महत्वपुर्ण हो ।”
आफूले उत्पादन गरेको तरकारी भारतीय बजारमा लगेर बिक्री गर्ने विषयमा केही समयअघि भारतीय सीमा सुरक्षा बल ९एसएसबी० र स्थानीयबीच तनावसमेत भएको थियो। त्यसपछि भारतपट्टि तरकारी, दूधलगायत बेच्न बन्द थियो भने स्थानीय उत्पादन नेपालतिरकै बजारमा ल्याएर बिक्री गर्न सडक सुविधा थिएन। नगरप्रमुख राईले पशुपतिनगरका सुरक्षाकर्मी ड्युटीमा आफ्नै देशको मानेभञ्ज्याङ जानुपरे बर्दी लाएर, हतियार बोकेर जाने अवस्था नभएको स्थितिमा सडकले त्यो बाध्यतासमेत अन्त्य गर्ने बताउनुभयो।
सूर्योदय नगरकै आग्रहमा संघीय सरकारले बजेट व्यवस्था गरिदिएपछि यहाँ सडक निर्माण सम्भव भएको नगरले बताएको छ। अब आन्तरिक पर्यटकलाई आफ्नै भू–भागबाट प्रसिद्ध चित्रेगुम्बालगायत उच्च पहाडी क्षेत्रका दर्जनौं पर्यटकीयस्थल पुग्नसमेत सहज हुने भएको नगरपालिकाका प्रवक्ता ख्याम बहादुर भूजेलले बताउनुभएको छ ।
तस्विरःनगरप्रमुख रणबहादुर राईको फेसबुकवालबाट साभार÷रासस

