तराईका जीवजन्तु पहाड उक्लिनु खतराको संकेत

द्वारा प्रकाशित गरिएको हो |
२०७९ फाल्गुन ९, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौंः जलवायु परिवर्तनका कारण पशुपन्छी तथा कीराफट्याङ्ग्रा एउटा तापक्रम भएको स्थानबाट अर्को तापक्रम भएको स्थानमा बसाइँ सर्ने गरेको पाइएको छ।
मंगलबारको गोरखापत्र दैनिकमा समाचार छ, कतिपय कीराफट्याङ्ग्रा यात्रु ओहोरदोहोर गर्दा सुटकेसबाट अर्को ठाउँ जाने गरेका छन् तर मानिसका कारण वा आफैँ पनि पशुपन्छी स्थानान्तरण हुने गरेका छन्। सुरक्षाका लागि वा जलवायु परिवर्तनका कारण पशुपन्छी बसाइँ सर्ने गरेका छन्।

अमेरिकाका बडेमानका साङ्ला यात्रुका सुटकेसबाट नेपाल भित्रिएका हुन्। जीवशास्त्री डा। मुकेश चालिसेले नेपालमा पाइएका ठूला साङ्ला यात्रुका ‘लगेज’का माध्यमबाट अमेरिकाबाट नेपाल भित्रिएको दाबी गरे। ‘एकसिङ्गे दुर्लभ गैँडाजस्तै मध्यपहाडमा पाइने पहँरे बाँदर तराईमा देखिन थालेको छ’, उनले भने, ‘यसबारे सम्बन्धित निकायले थप अध्ययन अनुसन्धान गर्नु आवश्यक छ।’

वनस्पतिविज्ञ डा।तीर्थबहादुर श्रेष्ठले मध्यपहाडी क्षेत्रमा पाइने जनावर तराईमा र तराईमा पाइने जनावर हिमाली क्षेत्रमा उक्लिनुमा जंगली ‘करिडोर’को विकास प्रमुख कारण रहेको बताए। ‘ठूला जीवजन्तु बाह्रै महिना एक ठाउँबाट अर्कोमा स्थानान्तरण हुने भए पनि साना जीवजन्तुचाहिँ मौसम अनुकूल स्थायी बसाइँ सर्ने गरेका छन्’, उनले भने, ‘उपत्यकाका थानकोट, साँगा भन्ज्याङ, फर्पिङ र नागार्जुन उष्ण क्षेत्र हुन्। शीतोष्ण तराईमा पाउने सिमल उपत्यका आसपास पाउन थालिनु मौसममा आएको परिवर्तन नै प्रमुख कारक हो।’

जीवशास्त्री डा। चालिसे उपत्यकाका मुख्य शहरी चोकमा चितुवा देखिनुले जंगलमा खाना अभाव रहेको पुष्टि गर्ने गरेको बताउँछन्। अवैज्ञानिक रूपमा डाँडा हरियो बनाउन रोपिएका सल्लाले निरन्तर जङ्गल र जनावरलाई मानवसँग द्वन्द्व बढाएको उहाँको गुनासो छ । उहाँले सल्लाको जङ्गलमा मृग, खरायो र चितुवा बस्न नसक्ने भएकाले वन्यजन्तु मानव बस्तीमा छिर्न थालेको उनको भनाइ छ।

डिभिजन वन कार्यालय काठमाडौँका डिभिजनल वन अधिकृत बद्री कार्कीले तराईमा पाउने जनावर पहाड र हिमालसम्म चढ्न थाल्नु भनेको जलवायु परिवर्तन तथा उनीहरू बासस्थानको खोजीमा लागेका कारणले हुनसक्ने बताए। ‘अब स्थानीय सरकार तथा समुदायले समेत यसबारे सोच्न आवश्यक भइसकेको छ’, उनले भने। तराईमा पाइने विभिन्न किसिमका जनावर हिमालमा समेत देखिन थालेपछि त्यसको व्यवस्थापनबारे सोच्न आवश्यक भइसकेको उनको भनाइ छ।

मध्यपहाडी जिल्लाको महाभारत क्षेत्रको जंगलमा तराईका जिल्लामा पाइने जंगली जनावर बढ्दो रूपमा देखा पर्न थालेको छ । केही वर्ष पहिलेसम्म तराईका जङ्गलमा मात्र पाइने बँदेल, दुम्सी, घोरल र हरिणजस्ता जनावर बसाइँ सर्दै आएको विज्ञको भनाइ छ। ‘१० वर्ष पहिलेसम्म लेकमा बँदेल जाँदैनथ्यो, तराईमा मात्र पाइन्थ्यो’, महाभारत लेकको बेथानचोकका स्थानीय पद्म तिमल्सिनाले बताए।

काठमाडौँका डिभिजनल वन अधिकृत कार्कीले जलवायु परिवर्तनसँगै महाभारत जंगलमा समेत गर्मी बढ्दै गएको र त्योसँगै जनावर पनि तराईबाट क्रमशः सर्दै आएको बताए। जनावर मात्र नभई तराईमा पाइने रुख बिरुवासमेत सर्दै आएको उनको तर्क छ । ‘पहाडी भेगमा पाइने जनावर भनेको चितुवा र भालु हो’, उनले भने, ‘बाघ त पहाडी भेगमा सरेको छैन। घाँस खाने जनावर सर्दै आएका छन्।’

महाभारत गाउँपालिका काभ्रेका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार तीनचार वर्षयता बँदेलले बालीनाली नष्ट गरेर निकै दुःख दिने गरेको छ। ‘बँदेलकै दुःखले लेक छेउका किसान ठाउँ नै छाडेर हिँडिसके’, उनले भने, ‘मान्छेले बँदेल लेखेट्ने होइन, उल्टै बँदेलले मान्छे लखेटेको अवस्था छ।’

सामुदायिक वन उपभोक्ता महासङ्घ बागमती प्रदेशका अध्यक्ष विनोद सापकोटाले सामुदायिक वनमा पाइने वनस्पतीमा समेत परिवर्तन हुन थालेको बताए। ‘यसलाई जलवायु परिवर्तनको असरका रूपमा लिएका छौँ’, उनले भने, ‘यसले हाम्रो सामुदायिक वनमा समेत नौला प्राणी देखिन थालेकाले यस्ता जनावरको फाइदा र बेफाइदाबारे अनुसन्धानको बाटो बनाउन हामीले सरकारको ध्यानाकर्षण गरेका छौँ।’

तराईमा पाइने जनावर पहाडमा देखिन थाल्नु खतराको घण्टी भएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय