इलामको सूर्योदय आर्थिक विकासमा देशकै उत्कृष्ट नगरपालिका

द्वारा प्रकाशित गरिएको हो |
२०७९ फाल्गुन ३०, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः नेपाल नगरपालिका संघले इलामको सूर्योदय नगरपालिकालाई देशकै उत्कृष्ट घोषणा गरेको छ । संघले सोमबार काठ्माण्डौमा आयोजना गरेको कार्यक्रममा स्थानीय आर्थिक विकास क्षेत्रमा सूर्योदयलाई देशकै उत्कृष्ट नगरपालिका घोषणा गर्दै पुरस्कृत गरेको हो । नयाँ अवधारणा र कार्यक्रम सञ्चालनमा चर्चा कमाइरहेको इलामको सूर्योदय नगरपालिका स्थानीय आर्थिक विकासमा देशकै सर्वोत्कृष्ट भएको हो।

चालु आर्थिक वर्ष देशभरका २ सय ९३ नगरपालिकामध्ये सूर्योदयले सर्वोत्कृष्ट भइ ‘म्युनिसिपल एक्सिलेन्स अवार्ड’ पाएको हो। २ सय ९३ पालिकामध्ये स्थानीय आर्थिक विकास क्षेत्रमा सूर्योदय नगरपालिकाले उत्कृष्ट नगरपालिका पुरस्कार प्राप्त गरेको नगर प्रमुख रणबहादुर राईले जानकारी दिनुभएको छ ।

प्रशासक काशीनाथ दाहालको संयोजकत्वमा अर्थ, संघीय मामिला, शिक्षा , स्वास्थ्य कृषि मन्त्रालय सहित वित्तिय आयोगका १५ जना बिज्ञको टोलीले अध्ययन गरी बिभिन्न मापदण्डको आधारमा उत्कृष्ट नगरपालिका घोषणा गरेको छ । स्थानीय आर्थिक बिकासमा सूर्योदय संगै सामाजिकमा ललितपुर महानगरपालिका र सहरी योजना तथा पूर्वाधार बिकास तथा बिपद ब्यवस्थापनमा भरतपुर महानगरपालिका पहिलो भएको छ ।

एक कार्यक्रमका बिच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट नगर प्रमुख राईले उत्कृष्ट नगरपालिकाको प्रमाणपत्र ग्रहण गर्नुभयो । उहाँले सूर्योदय नगरपालिकाले आफ्ना सबै क्षेत्रलाई पुरिष्कृत गर्दै चौतर्फी विकासको मार्गमा अघि बढेको बताउनुभयो । नगर प्रमुख राईले भन्नुभयो ‘आर्थिक रचना र प्रणालीले विधि पद्धति र मानव सम्वन्धमा परिवर्तन ल्याउन सक्छ ।’

उहाँले सूर्योदय नगरपालिकाले आर्थिक रचना र प्रर्णालीलाई आफ्नो कार्य प्रविणता ठानेको बताउनुभएको छ । राईले परिवर्तनको अनुभूति गर्न समयको प्रतिक्षा गर्नु पर्ने भए पनि सूर्योदयको मार्ग स्पष्ट भइसकेको जानकारी दिनुभयो । सूर्योदयको बिकासले स्पष्ट चित्रहरू देखिन थालेको बताउँदै उहाँले उत्कृष्ट नगरपालिका बनाउन सहयोग गर्ने कर्मचारी सहित सबैलाइ धन्यवाद दिनुभएको छ। रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय