
पशुपतिनगरः इलामको सूर्योदय नगवरपालिका वडा नं २ मा महिलाका लागी पाँच दिवसीय उद्घोषण तालिम शुरु भएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा प्रेस चौतारी नेपाल, इलामले आयोजना गरेको तालिम आईतबार उत्घाटन गरिएको हो । तालिम सार्वजनिक आधारभुत विद्यालयको भवनमा बैशाख १४ गतेसम्म सञ्चालन हुने आयोजक संस्थाका कोषाध्यक्ष भगिरथ भण्डारीले जानकारी दिनुभएको छ ।
उत्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष एवं नगर सामाजिक विकास समिति संयोजक डिक बहादुर बम्जनले महिलाहरुको क्षमता विकास गराउने उद्धेश्यले कार्यक्रम आयोजनाका लागी चौतारीलाई सहयोग गरिएको बताउनुभयो । “महिलाहरु नेतृत्वदायी भुमिकामा पुग्नुपर्छ । उनिहरुले आफ्ना कुरा सरोकारवाला निकाय सम्म ब्यक्त गर्न सक्नुपर्छ । त्यसका लागी वडाले यसका अतिरिक्त अन्य खालका क्षमता विकासका तालिम समेत सञ्चालन गर्दै जान्छ ।” उहाँले भन्नुभयो, “वडाले लक्षित वर्गका लागी यस्ता कार्यक्रम गर्दै आएको छ । वडाबासीको सल्लाह,माग र आवश्यकताका आधारमा कार्यक्रम गर्दै जानेछौँ ।”



कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय सदस्य एव जिल्ला इन्चार्ज ख्याम बहादूर भुजेलले चौतारीले जिल्ला भरिनै विभिन्न पालिका र वडा संग समन्वय गर्दै यस्ता कार्यक्रम आयोजना गरेकोमा धन्यबाद दिनुभएको छ । उहाँले महिला चुलोचौकामा मात्र सिमित हुनु नहुने भन्दै नेतृत्व क्षमताको विकास गरि समाजका विभिन्न पद र ओहदामा रहेर जिम्मेवारी सम्हाल्न सक्ने हुनुपर्ने धारणा ब्यक्त गर्नुभएको छ । “यो तालिमले तपाईहरुलाई त्यो स्तरमा पुर्याउँछ । म विश्वस्त छु । ” उहाँले भन्नुभयो, “तालिम अवधिभर सकृय सहभागिता जनाउनु होला । आयोजकले तालिम सफल र उपलब्धिमुलक बनाउन कुनै कसुर बाँकी नराखोस् ।”
सूर्योदय नगरपालिका कार्यपालिका सदस्य एवं न्यायीक समिति सदस्य सावित्रा शिवाले लैङ्गकि असमान्ताका विरुद्ध आफु लामो समयदेखि आवाज उठाउँदै आएको भन्दै महिलालाई हरेक क्षेत्रबाट अब्बल र योग्य बनाईनुपर्ने बताउनुभएको छ । “क्षमता हुँदा पनि अवसर नपाएर महिला घर लिपपोत गर्न मात्र सिमित छन् । वाक कलाको विकास नै उत्पिडित वर्गले आफ्ना समस्या,गुनासा र प्रश्न राख्न सक्ने आधार बन्ने भएकाले उद्घोषण तालिमको प्रस्ताव ल्याएकोमा आयोजकलाई धन्यवाद दिन्छु ।” शिवाले भन्नुभयो, “अव यस तालिमबाट बोल्न मात्र होईन आफ्ना अधिकार र अवसर खेर जान नदिन तपाईहरु तयार भएर उत्पादन हुनुपर्छ ।”
प्रेस चौतारी इलामका अध्यक्ष भिम चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष भगिरथ भन्डारीले स्वागत मन्तब्य राख्नुभएको थियो भने वडा सचिव सुवर्ण ढकालले शुभकामना मन्तब्य राख्नुभएको थियो । तालिममा करिब ४० जना सहभागि रहेका छन् ।