
मनोज अधिकारी
फिक्कलः कृषि तथा पशुपन्छी विकास मन्त्री डा बेदुराम भुसालले नेपालको अर्थतन्त्र कृषिमा निर्भर रहेको बताउनुभएको छ । २७ औँ राष्ट्रिय चिया दिवसका अवसरमा इलामको सूर्योदय नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कृषिमा लगानी बढाएर देशको अर्थतन्त्र सुधार गर्नुपर्ने बताउनुभयो ।
मन्त्री भुषालले चिया बाट विदेशी मुद्रा आर्जन गर्न सकिने भएकाले चियाका समस्या समाधान गर्दै गुणस्तरीय उत्पादनमा लाग्नुपर्ने बताउनुभएको छ । उहाँले उत्पादन गुणस्तर बनाउनुपर्नेमा जोड दिनुभयो । “नेपालीलाई गरिब देखेकै भरमा विदेशीले कम गुणस्तरको सामान किन्दैन ।” उहाँले भन्नुभयो “यो दिवसले चियाको विकास विस्तार र वजारीकरणमा महत्वपूर्ण भुमिका खेलोस् ।” चिया क्षेत्रमा देखिएका उत्पादन,औद्योगिकरण र बजारीकरणका समस्या तिन तहका सरकार मिलेर समाधान गरिने उहाँले प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले, “गुणस्तर निर्यात र आर्थिक उपार्जन बढाउँ,चिया क्षेत्रलाई राष्ट्रको समृद्धिसँग जोडौँ ।” भन्ने नाराका साथ दिवस आयोजना गरेको थियो ।
वि सं १९२० मा इलाम चिया बगानबाट रोपण शुरु भएको चिया अहिले देशका २८ जिल्लामा खेति गर्न थालिएको छ । दिवसको अवसरमा वोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७९÷८० मा चियाको खेति कुल २० हजार २ सय १९ हेक्टर क्षेत्रफलमा फैलिएको छ । २६ हजार मेट्रिक टन चिया उत्पादन भएको छ भने १५ हजार किसान र ६० हजार भन्दा धेरै श्रमिक रहेको वोर्डले जनाएको छ ।


